युवाले खोले साढे ३ करोडमा पोल्ट्री फार्म

सुनसरी — अन्डा उत्पादन गर्ने उद्देश्यले बराहक्षेत्र नगरपालिका–९ जुंगेचोकमा छजना युवाहरू मिलेर व्यावसायिक पोल्ट्री फर्म सुरु गरेका छन् । तीन महिनामा दैनिक ९ हजार अन्डा उत्पादन गर्ने गरी फार्म खोलिएको हो ।

युवाले खोले साढे ३ करोडमा पोल्ट्री फार्म

यसमा ३ करोड ५० लाख लगानी रहेको प्रकाशपुर कोसी कृषि तथा पोल्ट्री फर्मका सञ्चालक सदस्यमध्येका एक धनशेर लिम्बूले बताए । उनले भने, ‘अरू पेसा नअपनाइएको होइन । तर स्थीर रूपमा व्यवसाय गर्न सकिएन । तर अन्डा उत्पादनमा भविष्य देखेर यसमा लगानी गरेको हो ।’ अधिकांश अन्डा उत्पादकहरूले सहरको नजिकै फार्म सञ्चालन गर्ने गरेका छन् ।

उत्पादित अन्डा धरान, विराटनगर, दमक बिर्तामोडदेखि इलाम, पाँचथरसम्म पुर्‍याउने योजना रहेको लिम्बूले बताए । उनका अनुसार चैतदेखि लेमेन जातको कुखुराबाट व्यावसायिक अन्डा उत्पादन गर्न आधुनिक खोर निर्माण गरी १० हजार कुखुरा असारमा हालिएको छ ।

बजारमा अन्डाको माग अत्यधिक रहेको उल्लेख गर्दै अर्का सञ्चालक सदस्य बलराम लिम्बूले भने, ‘प्रकाशपुरको जुंगेचौकमा १ करोड २२ लाखमा १ बिघा १० कठ्ठा जग्गा किनेर कुखुरा फार्म सुरु गरेका हौं ।

फार्ममा धनशेर लिम्बू, बलराम लिम्बूसँगै इटहरी ५ का दिव्य कोइराला, नारायण खतिवडा, इन्द्र बुढाथोकी र माधवप्रसाद डोटेलको पनि लगानी छ । उनीहरूले चाँडै ५० हजार लेमेन जातका कुखुरा फर्ममा लगाएर दैनिक ४५ हजार अन्डा उत्पादन गर्ने लक्ष्य राखेका छन् । अन्डा पार्ने लेमेन जातका कुखुरा प्रतिगोटा १ सय ७२ रुपैयाँ पर्छ ।

उनीहरूले कुखुराको चारोका लागि ह्याचरी उत्पादन पनि गर्ने योजना बनाएका छन् । धनसेरले भने, ‘आफू गाउँमै जन्मेको र गाउँमै हुर्केकाले अब सहरको सुविधा खोज्दै सहर पस्नेभन्दा गाउँमै व्यवसाय गरेर रोजगारविहीन गाउँलेहरूलाई आर्थिक उपार्जनका लागि काम दिन सकिन्छ कि भनेर पनि कुखुरा फर्म सुरु गरेको हो ।’

प्रकाशित : भाद्र १, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?