फेरियो पाथीभरा

आनन्द गौतम

ताप्लेजुङ — धेरैको आकर्षण केन्द्र बनेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्र अचेल फेरिएको छ । देवी उत्पत्ति हुँदाको मानिने ढुंगाको मूर्तिबाहेक सबै संरचना परिवर्तन गरिएको छ ।

पर्यटकीय आकर्षणको केन्द्र पाथिभरा मन्दिर । तस्बिर : आनन्द । कान्तिपुर

उत्पत्तिताकाको विश्वास गरिएको मूर्ति पनि पुराना र नियाल्न सक्नेले मात्रै पहिचान गर्छन् । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको यहाँ अधिकांश भक्तजनले पछि राखिएको बेग्लै मूर्तिमा पूजा गर्छन् । उत्पत्ति हुँदाको मूर्तिलाई भने पुजारीहरूले विशेष निगरानीमा राख्छन् ।

कतिपय भक्तजन किंवदन्तीमा भनिएअनुसार अहिले पूजा गर्ने स्थलभन्दा केही तल रहेको ओढारमा गएर आराधना गर्छन् । भेडी गोठालाको एक बथान भेडा यही ओडारमा पसेको र देवीले सपनामा आफ्नो आराधना गर्न भनेपछि सोहीअनुसार गरेका गोठालाको भेडा ओडारबाट निस्किएको किंवदन्ती छ ।

Yamaha

यो स्थान निकै विकट र पहराको टाकुरामा भएकाले मन्दिरलाई योभन्दा उच्च स्थानमा सारिएको हो । जाने बाटो नभएको र विकट भएकाले अहिले पनि जोकसैलाई त्यहाँ नजान सल्लाह दिइन्छ ।

यस क्षेत्रका जानकार फुङलिङ नगरपालिका १० फुरुम्वूका ७८ वर्षीय वीरबहादुर भट्टराईका अनुसार पाथीभरा जान पहिला सदरमुकाम फुङलिङबाट सिद्धिडाँडा–गडीडाँडा–मयमको लामाथान हुँदै भालुगौंडे–तेर्छे भएर माथिल्लो फेदी पुग्नुपथ्र्यो ।

पाथीभरा क्षेत्रमा बच्चैदेखि गोठ बसेका उनी बबरसम्सेर राणा र उनका धाईआमालाई यही बाटो भएर डोलीमा बोकेर पाथीभरा पुर्‍याउनेमध्येका एक हुन् । जीवनमै पहिलोपटक उनले त्यसै बेला नेपालका सेना देखेका थिए ।

मन्दिर जाने बाटो । तस्बिर : आनन्द

ठ्याक्कै मिति हेक्का नभएका भट्टराई ठूलो मान्छे आउने भनेर हप्तौं दिनसम्म पाथीभरा जाने गोरेटो बाटो खनेर फराकिलो बनाएको सम्झन्छन् । अचेल सदरमुकामबाट सुकेटार हुँदै त्यहाँसम्म मोटरबाटो पुर्‍याइएको छ ।

पाथीभरा मन्दिर क्षेत्रका संरचना निर्माणमा सिमेन्ट प्रयोग भएको छ । मन्दिरको मुख्य कम्पाउन्डको भित्र पनि सिमेन्टले बनाइएका बस्तु ओछ्याइएको छ । वरिपरिको पर्खाल टायल लगाएर बनाएको छ । परिसरमा निर्माणको काम गराएका निवर्तमान उपाध्यक्ष रणबहादुर कार्की भीड व्यवस्थापनका लागि गुरुयोजनाअनुसार मन्दिर परिसर व्यवस्थापन गरिएको बताउँछन् ।

पाथीभराको गुरुयोजना संरक्षण समितिको अनुरोधमा सहरी डिभिजन कार्यालय इलामले बनाएको हो । संरक्षण तथा संवद्र्धन समितिका सचिव लक्ष्मी काफ्लेका अनुसार मन्दिर परिसरमा पहिला पूजा गर्ने र बलि चढाउने एकै ठाउँमा थियो।

‘भक्तजनको ठेलमठेल हुन्थ्यो, बलि चढाउनेले बोकापाठा काट्दा पूजा गरिरहेका अरू भक्तजनलाई लाग्छ कि भन्ने त्रास थियो,’ उनले थपे, ‘कोही खुन देख्नै नहुने, कोही कपडामा खुन लाग्यो भनेर रिसाउने, द्वन्द्व नियन्त्रणका लागि पनि हामीले यसलाई व्यवस्थित गरेर फरक ठाउँमा सार्‍यौं ।’ अहिले पूजा गर्ने पूर्वतर्फ र बलि चढाउने पश्चिमतर्फ छ ।

डाँडामा रहेका धर्मशाला भत्काएर मन्दिर परिसर बाहिर सारिएको छ । तर किरात धर्मावलम्बीले भने मन्दिरभन्दा अझ माथिल्लो क्षेत्रमा मन्दिर बनाएका छन् । हवन गर्ने, पुजारी बस्ने कुटी पनि उनीहरूले यहीं निर्माणको तयारी गरेका छन् । पाथीभराको प्रवेशद्वारमा रहेको मूलद्वारै सिमेन्टको बनाइएको छ । केही वर्षअघि पाँचथरबाट आएको टोलीले पुराण लगाएको तर राति गाईगोरु पसेर पुराणस्थल नै भत्काएपछि मन्दिर परिसरको सुरक्षाका लागि वरिपरि पर्खाल लगाएको काफ्ले बताउँछन् ।

पाथीभरा क्षेत्रका ओढारहरू प्रयोगविहीन छन् । भट्टराईका अनुसार पहिला तीर्थयात्री राडी, दोसल्ला, धुसा र कतिपय त सिरक नै बोकेर जान्थे । अधिकांश ओडारमा बास बस्थे । ढुंगाको चम्को लगाएर चुलो बनाउने र त्यहीँ भात पकाएर खाने चलन थियो । ओढारमा नअटाएकाहरू भने खुला चौरमा कटेरो बनाएर बस्थे ।

लेकाली क्षेत्रमा जुनसुकै समयमा पानी पर्न सक्ने भएकाले तीर्थयात्रीले सालका पातले बनाएको ठूल्ठूला घुम ओडेका हुन्थे । छाताको चलन थिएन । बास बस्ने ठाउँमा मालिङगा, पर्‍याङ काट्थे र त्यही घुमले छापेर कटेरो बनाउँथे ।

छोटो समयमै चारैतिर बारेर बनाइने त्यस्ता कटेरा रमाइला हुने भट्टराई बताउँछन् । त्योभन्दा माथि गए राति जंगली जनावरको डर हुने भएकाले नयाँवन, तेर्छे, भालुगौंडे, फूलपाते डाँडा र फेदीमा मात्रै बास बस्थे । त्यहाँबाट उकालो भने ठूलो हुल भएर जान्थे । पछिल्ला वर्षौंदेखि जंगली जनावर यात्रुले देख्न पाएकासम्म पनि छैनन् ।

भट्टराईका अनुसार पहिलाको कुरा देख्न अहिले धेरै मुस्किल भयो । मन्दिर क्षेत्र पनि फेरियो । ३१ सय मिटर माथिको क्षेत्रमा मालिङगो, निगालो, देउनिगालो मात्रै थियो । अहिले एउटा पनि छैन । २००७/८ सालदेखि मासिन थालेको हो ।

भालु, वन कुकुर, थार, घोरल, कस्तुरी मृग थिए । अहिले देख्नै पाइँदैन । तेर्छेदेखि फेदीसम्म गोठ थिए । गोठमा आउनेले दूध, दही प्रशस्त खान पाउँथे । नि:शुल्क दिइन्थ्यो । अहिले एउटा पनि गोठ छैन ।

पहिलोपटक पाथीभराको भेटी संकलनमा चासो देखाएका तत्कालीन फुङलिङ गाविसका अध्यक्ष प्रजापती काफ्ले नागबेली जस्तो सडक सीधा भएको बताउँछन् । ‘पहिला उकालो चढ्दै ओरालो झर्दै गर्नुपथ्र्यो,’ उनले भने, ‘पानी कुदेको ठाउँलाई बाटो मानेर हिँड्नुपथ्र्यो ।’

माथिल्लो फेदीदेखि मन्दिरसम्म ढुंगाको सोलिङ गरिएको छ । ४० सालमा तिवारी थरका योगी आएर मन्दिरमा बस्ने र त्यहाँ छरिएको भेटी संकलन गर्ने प्रस्ताव गरेपछि सहजीकरण गरेका काफ्ले संकलित भेटीले नै मन्दिर क्षेत्रको परिवर्तन गरेको बताउँछन् ।

प्रकाशित : भाद्र २, २०७५ ०८:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोले बस्ती जोखिममा

आनन्द गौतम

ताप्लेजुङ — मंगलबार रातिको वर्षापछि झरेको पहिरोका कारण फक्तालुङ गाउँपालिका ४ इखावुका विभिन्न स्थानमा चिरा परेको छ । साविकका १ र ३ नम्बर वडाका २२ परिवार विस्थापित भएका छन् ।

ताप्लेजुङको फक्तालुङ गाउँपालिका ४ इखावुमा मंगलबार रातिको पहिरोले पुर्‍याएको क्षति । तस्बिर : आनन्द । कान्तिपुर

उनीहरूको तत्काल आफ्नो घरमा बस्ने वातावरण नभएको रानी आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाले बताए ।

उनका अनुसार खानीका १५ र साप्चुङका ७ परिवार जोखिममा छन् । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भने १४ परिवार विस्थापित भएको बताए । तापेथोक प्रहरी चौकीबाट प्रहरी टोली पठाइएको र उनीहरूले तथ्यांक संकलन गरेको भण्डारी बताए ।

खतिवडाका अनुसार एकदेखि अर्को बस्ती जोड्ने र बालबालिका स्कुल जाने गाउँका ११ वटा पैदलमार्ग अवरुद्ध भएको छ । बाटो नभएका कारण बुधबार र बिहीबार विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून भएको थियो । बुधबार दिउँसो १ बजे नै विद्यालय बन्द गरेर विद्यार्थीलाई शिक्षकले टोलटोलमा पुर्‍याएको खतिवडाले बताए ।

बुधबार राति गाउँलेहरू डाँडाका घरमा सरेर एकै ठाउँ बसेका थिए । तर कम वर्षा भएकाले थप क्षति हुन नपाएको स्थानीय बताउँछन् । वर्षा भए जुनसुकै बेला पनि भाग्नुपर्ने अवस्था रहेको उनीहरूको कथन छ ।


मंगलबारकै जस्तो वर्षा भए गाउँ नै सखाप हुने अवस्था रहेको खतिवडाको भनाइ छ । उनका अनुसार रातभर दर्केर वर्षा भएको थियो । तर सदरमुकाम फुङलिङमा भने त्यो रात सामान्य वर्षा भएको तथ्यांक छ । पूर्वाञ्चल हावापानी फिल्ड कार्यालयका अनुसार १५ मिलिमिटर मात्रै वर्षा भएको थियो ।

यसअघि यो वर्ष ९० मिलिमिटरसम्म वर्षा भएको छ । इखावु सदरमुकामबाट करिब ४० किलोमिटर दूरीमा छ । खानी र साप्चुङवाको पहिरो सिरेगु डाँडाको टुटेबाट सुरु भएको छ । टुटे यी बस्तीको शीर हो । पहिरोले जमानसिंह तामाङको पूरै घर पुरेको छ । एक हल गोरु घाइते भएको तामाङले बताए । प्रत्येक टोलमा पानीको मूल फुटेको र त्यही पानीले ठाडाखोला बढाएर पहिरोको रूप लिएको जमानसिंह बताउँछन् ।

जिल्ला विपत् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी रेडक्रसको टोलीले सहयोग गर्ने बताउँछन् । सिंवामा रहेको टोलीले विस्थापितका लागि पाल, कम्बल लगायत व्यवस्था गर्ने जनाए । प्रहरीटोली बुधबारै पुगेर अवस्था अवलोकन गरेकाले त्यसैका आधारमा सहयोग गर्ने उनले बताए । यता, सिरिजंगा गाउँपालिका ७ याम्फुदिनका अविरमान राई र उनका छिमेकी गरी दुई परिवार विस्थापित भएको वडाध्यक्ष टसी लामाले बताए ।

पुगेनन् जनप्रतिनिधि
फक्तालुङ गाउँपालिकाका जनप्रतिनिधि पीडितको अवस्था बुझ्न पुगेका छैनन् । मंगलबार रातिको वर्षाले गाउँबासी विस्थापित भए र बुधबार राति सुरक्षित ठाउँ खोजेर बाहिरै बसे । गाउँपालिकाको केन्द्रमै रहेको प्रहरी चौकीको टोली विवरण संकलनका लागि बुधबारै पहिरो प्रभावित क्षेत्र पुगे ।

त्यहीं भएका गाउँपालिका अध्यक्ष सरोज एभेङ भने बिहीबार दिउँसोसम्म पनि प्रभावित क्षेत्रमा देखा परेनन् । गाउँपालिका केन्द्र र पहिरो गएको क्षेत्रको दुई घण्टा पैदल दूरीमा छ । पहिरोले गाउँबासीको बिचल्ली भएका बेला बुधबार उनी पहिरोको पारिपट्टि छिरुवाबाट ओहोरदोहोर गरिरहेका थिए । अध्यक्ष एभेङले शुक्रबार मात्रै अवलोकनमा जाने बताए ।

‘साथीहरूलाई सुरक्षित ठाउँमा बस्नुहोस् भनेको छु,’ टेलिफोनमा एभेङले भने, ‘भोलि गाउँ कार्यपालिकाको बैठक भएकाले शुक्रबार मात्रै जान लागेका हौं ।’ उनले तत्काल ठूलै क्षति गरिहाल्ने अवस्था नभएकाले वडाध्यक्षसँग त्यस्तो सल्लाह गरेको बताए । विपत् व्यवस्थापन समितिको बैठकले निर्णय गरेर राहत सामग्री प्रदान गर्ने उनले बताए ।

गर्भवती जोगाउन रातभर प्रयास
चिकित्सकले असोजमा मात्रै प्रसूति हुने समय दिइएकी फक्तालुङ गाउँपालिका ४ खानीकी फूलमाया तामाङलाई बुधबार पहिरोले त्रसित बनाएपछि व्यथाले चाप्यो । गाउँलेले स्ट्रेचरमा बोकेर सिंवा स्वास्थ्य चौकीतर्फ दौडाए । उनले एउटा बच्चालाई बाटैमा जन्मदिइन् । तैपनि व्यथाले छाडेन । सिंवा स्वास्थ्य चौकीमा पुर्‍याउँदा स्वास्थ्यकर्मीले पेटमा अर्को पनि बच्चा भएको बताए ।

जिल्ला अस्पतालसँग समन्वय गरेर स्वास्थ्यकर्मीले डेढ घण्टासम्म प्रयास गरे तर सम्भव भएन । स्वास्थ्य चौकी इञ्चार्ज प्रेमकुमारी लिम्बूका अनुसार बच्चाको हात पहिला निस्किएपछि अवस्था जटिल बन्यो र जिल्ला अस्पतालमा रेफर गरे । सदरमुकाम जोड्ने सडक हाङदेवा खोलाले बिगारेपछि यातायात अवरुद्ध भएको थियो ।

प्रमुख जिल्ला अधिकारी भण्डारीले सानिमा हाइड्रोपावरका कर्मचारीसँग समन्वय गरे र मिक्वाखोलाको थुम्वामा रहेको गाडी सिस्ने खोलासम्म पठाए । सदरमुकाम फुङलिङबाट पठाएको एम्बुलेन्सले हाङदेवा खोलाबाट जिल्ला अस्पताल ल्यायो र महिलाको ज्यान बच्यो । अस्पतालका अनुसार दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रकाशित : भाद्र १, २०७५ ०८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT