दूध उत्पादन क्षमता बढाउँदै किसान

एक वर्षअघिसम्म गाउँका संकलन केन्द्रदेखि चिस्यान केन्द्रसम्म दूध ढुवानीका लागि ५५ जना मानिस र घोडाको प्रयोग हुँदै आएको थियो

तेह्रथुम — छथर दुग्ध चिस्यान सहकारी संस्थामा पछिल्लो एकै वर्षमा दैनिक १ हजार लिटर दूध उत्पादन बढेको छ । पछिल्लो एकै वर्षको अवधिमा किसानले यति धेरै दूध उत्पादन वढाएका हुन् ।

दूध उत्पादन क्षमता बढाउँदै किसान

दूध उत्पादनको मुख्य सिजनमा पनि दैनिक १ हजार ५ सय लिटर मात्रै दूध किसानले सहकारीमा बिक्रीका लागि ल्याउने गर्दथे । तर एक वर्षयता तिनै किसानले सहकारीमा दैनिक २ हजार ५ सय लिटर दूध बिक्रीका लागि ल्याइरहेका छन् । दूध उत्पादन क्षमता बढाउने कार्यमा किसानलाई डेनमार्क सरकारको सहयोगमा उन्नती समाबेशी वृद्धि कार्याक्रमले गरेको हो ।

४२ जना अगुवा दूध उत्पादक किसान मिलेर स्थापना गरेको संस्थामा अहिले छथर गाउँपालिकाका झन्डै २ हजार किसानले दूध बिक्रीका लागि ल्याउने गरेका छन् । उन्नती समावेशी वृद्धि कार्यक्रमले सहकारी संस्थामार्फत दूध उत्पादन क्षमता बढाउने र दूधको गुणस्तर सुधार गर्ने कार्यमा भौतिक पूर्वाधार सहितको सहयोग गरेपछि पछिल्लो समय छथर गाउँपालिकामा दूध उत्पादक किसानको संख्या बढेको दुग्ध उत्पादक जिल्ला सहकारी संघका जिल्ला अध्यक्ष बुद्धिमान खुलालले बताए ।

दूध उत्पादन, बजारीकरण, गुणस्तर सुधार लगायतका काममा करोडौं लागतका संरचना निर्माण भएपछि पशुपालक किसानमा दुधालु गाईभैंसीमा लगानी गर्दा फाइदा हुने आत्मविश्वास बढेको छथर गाउँपालिका २ हमजरजुङका किसान धनबहादुर कटुवाले बताए । उनले अहिले दूध उत्पादन क्षमता बढाएर दैनिक ३० लिटर पुर्‍याएका छन् ।

एक वर्ष अघिसम्म उनले सहकारीलाई दैनिक २० लिटर मात्रै दूध बिक्री गर्दै आएका थिए । कटुवाल जस्ता सयौं किसानले अहिले दूध उत्पादन क्षमता वृद्धि गरेर दैनिक आमदानी बढाएका छन् । उन्नतीकै सहयोगमा किसानलाई उन्नत जातका दुधालु घाँसका बिरुवा वितरण गरिएको व्यवस्थापक बुढाथोकीले बताए ।

अहिले दूध उत्पादक किसानका बारीका कान्लामा दूध उत्पादन बढाउने सिओफोर नामक जातको घाँस रोपीएको छ । यो जातको घाँस पशु वस्तुलाई खुवाउँदा दाना कम लाग्ने गरेको र दूध उत्पादन समेत बढ्ने पशु सेवा कार्यालयका प्रमुख डाक्टर शिवजी प्रसाद दासले बताए । यो जातको घाँस दुधालु गाईभैंसीलाई खुवाउन थालेपछि दाना कम लाग्ने गरेको र किसानले दानामा गर्दै आएको लागत समेत घटेको अध्यक्ष खुलालले बताए ।

एक वर्षअघिसम्म गाउँका संकलन केन्द्रदेखि चिस्यान केन्द्रसम्म दूध ढुवानीका लागि ५५ जना मानिस र घोडाको प्रयोग हुँदै आएको थियो । अहिलो प्रत्येक संकलन केन्द्रसम्म पुगेर टयाक्टरले दूध ढुवानी गर्छ । २५ लाखको लागतमा खरिद गरिएको टयाक्टरलाई ५० प्रतिशत लगानी अनुदान उन्नतीले नै दिएको छ ।

ढुवानी मजदुर अभाव खेप्दै आएका दूध उत्पादक किसानले अहिले टयाक्टर पाएका छन् । ‘अब पहिले जस्तो समस्या छैन,’ छथर गाउँपालिका ५ ओख्रेका किसान बेगबहादुर खडकाले भने, ‘टयाक्टर आएपछि सवै किसानको दूध ढुवानीमा धेरै सजिलो भएको छ ।’ पशुपालनका लागि उन्नत जातको घाँस, उत्पादित दूधका लागि ढुवानी, गुणस्तर सुधार र बजारको समेत समस्या नभए पछि आगामी दुई वर्षभित्रमा किसानले दूध उत्पादन क्षमता बढाएर दैनिक ५ हजार लिटर पुर्‍याउने लक्ष्य सहकारीले लिएको छ ।

प्रकाशित : भाद्र २, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?