धानमा जिंकको मात्रा अत्यधिक

कान्तिपुर संवाददाता

मोरङ — ‘सुख्खा ३’ नाम दिइएको प्रजातिको धानको चामलमा जिंक तत्त्वको मात्रा अत्यधिक पाइएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गरेको अनुसन्धानमा झापास्थित धान सुपरजोनमा उत्पादित चैते धानमध्ये यो प्रजातिमा जिंकको मात्रा अत्यधिक पाइएको हो ।

कार्यालय प्रमुख प्रमोद कोइरालाले सुख्खा ३ धानको सय ग्राम चामलमा १५ दशमलव ८ मिलिग्राम जिंक पाइएको बताए । सामान्यतया प्रतिसय ग्राम चामलमा ७ देखि मिलिग्राम जिंक पाइने गरेको तर सुख्खा ३ मा १५ दशमलव ८ मिलिग्राम पाइनु फाइदाजनक रहेको बताए ।

‘जिंकको अभावमा मानिसको शरीरमा विभिन्न किसिमको रोग लाग्छ तर यहाँको धान त्यति धेरै पाउनु अत्यन्तै लाभदायक हो,’ उनले भने, ‘जिंक गर्भवती महिला, नवजात शिशु, बालबालिका, किशोरावस्थाका व्यक्तिलाई लाभदायक हुन्छ ।’

Yamaha

जिंक बढी भएको चामल भनेर छुट्टै ब्रान्डिङ गर्न सकिए किसान र व्यवसायी दुबैलाई बढी फाइदा हुने कोइरालाले बताए । ‘पोषण तत्त्वको महत्त्व बुझ्नेहरूले जिंकको मात्रा बढी भएको चामल नै किन्छन्,’ उनले भने, ‘त्यसैले झापाका चामल उत्पादक उद्योगीहरूसँग जिंक बढी भएको चामल भनेर उत्पादन, बिक्री, वितरण र बजारीकरणका लागि छलफल गरिरहका छौं ।’

सुख्खा ३ धानको प्रतिसय ग्राम चामलमा प्रोटिन ९ दशमलव ७३, जलांस १० दशमलव १५, कुल भष्म १ दशमलव ३५, चिल्लो पदार्थ १ दशमलव ८९, फाइवर शून्य दशमलव ८८, कार्बोहाइड्रेट ७५ दशमलव ६५ प्रतिशत र इनर्जी ३ सय ५८ दशमलव ५३ किलो पाइएको कोइरालाले बताए । उनले झापाको धान सुपर जोनमा उत्पादित आइआर–६२६–बी–बी–५७, एनआर–२१६७–४१–१–१–१, कान्छी, मन्सुली, सुख्खा ३, सामा मन्सुली सब १, रन्जित, स्वर्ण सब १, राधा १४ र शरना धानको चामलको नमुना संकलन गरी पौष्टिक तत्त्व विश्लेषण गरिएको बताए ।

बरिष्ठ फिजिसियन डा. रोशन खडकाले गर्भवती, नवजात शिशु, बालबालिका, किशोरको शारीरिक वृद्धि र विकासका साथै मानसिक विकासमा समेत जिंक महत्त्वपूर्ण हुने बताए । ‘जिंकले रोग प्रतिरोधक क्षमता वृद्धि, प्रोटिन संश्लेषण, डीएनए संश्लेषण, घाउ निको गर्न, शरीरमा सेल विभाजनलगायतको काम गर्छ,’ उनले भने, ‘सुख्खा ३ धानमा त्यतिको जिंक पाइनु अत्यन्तै लाभदायक हो, त्यसको छुटै ब्रान्डिङ गरेर बिक्री गर्नु राम्रो हुन्छ ।’

कृषि अनुसन्धान परिषदले तीन वर्षअघि सुख्खा ३ प्रजातिको धान सार्वजनिक गरेको थियो । सुख्खा ठाउँमा कम पानी हुँदा पनि उत्पादन हुने र रोग किरा कम लाग्ने यो धानको विशेषता हो ।

प्रकाशित : भाद्र २, २०७५ ०८:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रोगले तरकारी बालीमा क्षति

चन्द्र कार्की

तेह्रथुम — धनकुटा, तेह्रथथुम र संखुवासभाका किसानले लगाएको तरकारी बालीमा क्लवरूट (गाँठे रोग) फैलिएको छ । यसले गर्दा ठूलो परिमाण तरकारी बारीमै कुहिन थालेको छ ।

बिक्रीका लागि बजारमा निकाल्ने बेला भएको बन्दा जराबाटै कुहिन थालेपछि देखाउँदै धनकुटाको महालक्ष्मी नगरपालिकाका किसान गोविन्द पौडेल । तस्बिर : कान्तिपुर

बमौसमी तरकारी बन्दाकोबी, काउली, रायोको साग, ब्रोकाउलीलगायत तरकारी बालीमा रोग फैलिएको हो । यसले उत्पादन समेत घटाएको छ । रोगका कारण किसानले प्रत्येक वर्ष १५ करोड बढीको नोक्सान व्यहोरिरहेको सिंधुवा कृषि भण्डारका बजार प्रमुख मेघेन्द्र गुरुङले बताए ।

तीन वर्षअघि पनि यो रोगको प्रकोप यस क्षेत्रका किसानले लगाएको बन्दा बालीमा देखिएको थियो । त्यसबेला बन्दाकोबीमा देखिएको रोगको नेपाल कृषि अनुसन्धान परिषद नार्कको बाली रोग विज्ञान महाशाखा खुमलटारले किसानका बारीमै आएर अनुसन्धान गरेको थियो ।

त्यसयता दुई वर्षसम्म नदेखिएको रोग यो वर्ष पुन: देखा परेको महालक्ष्मी नगरपालिका घुमाउने धनकुटाका किसान गोबिन्द पौडेलले बताए । तेह्रथुमको लालीगुराँस नगरपालिका र छथर गाउँपालिका, धनकुटाको महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिका र संखुवासभाको धर्मदेवी नगरपालिकाका १५ हजारभन्दा बढी किसानले बारीमा रोपेको बन्दा रोगका कारण कुहिएको सिंधुवास कृषि भण्डारका बजार प्रमुख गुरुङले बताए ।

यी तीन जिल्लामा उत्पादित ताजा हरियो तरकारी भण्डारमार्फत पूर्वी तराई हँुदै भारतीय बजारमा बिक्रीका लागि जाने गर्छ । सुरुमा बन्दामा देखिएको यो रोगको प्रकोप फैलिएर अहिले काउली, रायो, ब्रोकाउली, तोरी, चम्सुर, सलगम लगायतका तरकारी बालीमा समेत फैलिएको छ ।

बन्दा, काउली फक्रिएर बजारमा पठाउने बेलामा रोगले आक्रमण गरेको लालीगुराँस नगरपालिका चित्रेका किसान बलबहादुर अधिकारीले बताए । बजारमा निकाल्ने तयारी भएको २५ लाख बरावरको बन्दामा रोगको प्रकोप फैलिएको महालक्ष्मी नगरपालिका घुमाउनेका किसान पौडेलले बताए ।

रोगले बन्दा बालीमा ८५ प्रतिशत बढी क्षति पुर्‍याएको महालक्ष्मी नगरपालिका खाप्राङका किसान होमराज रायमाझीले बताए । आफ्नो क्षेत्रमा मात्र ५० जना बढी किसानले लगाएको करोडौंको बन्दा बारीमै कुहिन थालेको उनले बताए ।

बन्दा, काउली लगायतका तरकारी बालीको बोटको मूल र सहायक जरामा गाँठा वा डल्ला देखिने र विस्तारै एक प्रकारको ढुसी देखा पर्ने र अन्त्यमा गएर जरा, डाँठ हँुदै फल र पात नै कुहिने यो रोगको प्रमुख लक्षण हो ।

रोगका जीवाणुले बालीमा प्रवेश पाएको तीन हप्तापछि मात्र जरामा गाँठाहरू देखा पर्ने कृषि विशेषज्ञहरूको भनाइ छ । डेढ दशकको अवधिमा नेपालभर महामारीका रूपमा फैलिएको यो रोगको व्यवस्थापन, निधान, रोग लाग्नुको कारण, उपचार विधि, बाली चक्रप्रणाली लगायतका विषयमा किसानको बारीमै पुगेर नार्कको बाली रोग विज्ञान महाशाखाले अध्ययन गरिरहेको छ । तर पनि रोगको निदान हुन सकेको छैन ।

यहाँको बन्दामा क्लवरूट (गाँठे रोग), खटिरे, स्कोलो टेनिया, अल्टनेरीयाव्रासोकी कोला लगायतका अन्य रोगको लक्षण नार्कले तीन वर्षअघि गरेको अध्ययनले देखाएको थियो । यो रोगले यस क्षेत्रका मारेककटहरे, मूर्तिढुंगा, तामाफोक, फुलेक, वसन्तपुर, आङदीम, सुङनाम, हमरजुङ, परेवादिन, तामाफोक, तेल्लोक, मामलिङ ओख्रे लगायतका गाउँका किसानले लगाएको बन्दा र काउली बालीमा क्षति पुर्‍याएको छ ।

जिल्ला कृषि विकास कार्यालयले बेमौसमी तरकारी खेतीको पकेट क्षेत्र घोषणा गरेको यो क्षेत्रमा महामारीका रूपमा रोगको प्रकोप फैलिएपछि बालीचक्र परिर्वतन गरी खेती गर्न किसानलाई सुझाएको छ । ‘रोग प्रभावित क्षेत्रका किसानलाई फरक प्रकृतिको खेती गर्न भनेका छौं,’ वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले भने ।

प्रकाशित : भाद्र २, २०७५ ०८:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT