कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

नेकपामा नेतृत्व होडबाजी

ओखलढुंगा — पहिले कांग्रेसको किल्ला भनेर जिल्ला चिनिन्थ्यो । तर गत सालको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन बाम गठबन्धनले ‘क्लिन स्वीप’ गर्‍यो । केन्द्रमा पार्टी एकता भएसँगै जिल्लामा पार्टी कार्यालय एकै ठाउँ राखियो ।

नेकपामा नेतृत्व होडबाजी

तीन महिनाभित्र जिल्लाहरूको पार्टी एकता गर्ने केन्द्रको निर्णयअनुसार अहिले छलफल तातिएको छ । छलफलका लागि प्रदेश, जिल्ला सबै तहका नेताहरू सम्मिलित कार्यदल काठमाडौंमै व्यस्त छन् । कतिकति प्रतिशत पदाधिकारी भागबन्डा गर्ने विषयमा खासै विवाद देखिएको छैन । तर नेतृत्व (अध्यक्ष) पदका आकांक्षी धेरै देखिएका छन् ।

जिल्ला अध्यक्षका दाबेदारमा चार जना नेताहरूको नाम चर्चामा छ । त्यसमध्ये माओवादी केन्द्रका तर्फबाट एक जनाको मात्र नाम छ, उनी हुन् बाबुराम गौतम । माओवादी केन्द्रका जिल्ला अध्यक्ष भइसकेका उनी पार्टीका तत्कालीन पोलिटब्युरो सदस्य थिए । अध्यक्ष जुनसुकै हालतमा गौतमलाई दिनुपर्ने जिल्लादेखि केन्द्रसम्म माओवादी पक्षको अडान छ ।

एमालेका तर्फबाट तीन जनाको नाम चर्चामा छ । ती हुन्, नानीबाबु बुढाथोकी, नेत्र भट्टराई र हर्कबोल राई । नानीबाबु बुढाथोकी एमालेका केन्द्रीय परिषद् सदस्य हुन् । उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं. २ बाट टिकट लिई पराजित भएका थिए । नेत्र भट्टराई जिल्ला उपाध्यक्ष हुन् ।

उनी जिल्लाको पुराना र अवसरबाट वञ्चित भएका त्यागी नेताका रूपमा चिनिन्छन् । हर्कबोल राई २०७० को संविधानसभामा समानुपातिकतर्फका सांसद थिए ।

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा १ मा एमालेले टिकट पाएयता माओवादी केन्द्रले पार्टी एकताका बेला अध्यक्ष आफूहरूलाई दिनुपर्ने अडान राखेका थिए । उनीहरू तल्लो तहदेखि माथिल्लो तहसम्म बाबुराम गौतमकै नाममा सहमत भएका कारण विवाद देखिएको छैन । ‘मलाई लाग्छ अब दुईचार दिनभित्र एकता टुंगिन्छ । यो सहमतीय आधारमै हुन्छ । तत्काललाई मैले नेतृत्व गर्ने भन्ने प्रसंग छ ।’ गौतमले भने, ‘अधिवेशनपछि कार्यकर्ताले आफ्नो नेता चुनिहाल्नुहुन्छ त्यसमा विवाद छैन ।’ जिल्ला एकता कार्यदलमा माओवादीका तर्फबाट गौतम र प्रदेशसभा ‘ख’ का सांसद मोहनकुमार खड्का छन् । एमाले तर्फबाट प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार र मोहनकुमार श्रेष्ठ छन् ।

‘दाबी गर्नु स्वाभाविक हो । तर एकतामा विवाद ठूलो हुँदैन ।’ जिल्ला एकता कार्यदलका सदस्य यज्ञराज सुनुवारले भने, ‘प्रदेशसँगको समन्वयमै हामी यसलाई टुंगो लगाउँछौं ।’ अर्का सदस्य मोहन खड्काले समेत केही दिनभित्र एकताले अन्तिम रूप लिने बताए ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?