गाउँवस्तीको अवस्था बुझ्दै विद्यार्थी

रमेशचन्द्र अधिकारी

धनकुटा — ओखलढुंगाकी सुमित्रा कटुवाल धनकुटाको दुर्गम गाउँवस्तीको अवस्था बुझ्न निस्किएकी छन् । एक महिनादेखि उनी जिल्लाका ग्रामिण क्षेत्रको अध्ययनका लागि घरदैलोमा सक्रिय भएकी हुन् ।



Yamaha

त्रिभुवन विश्वविद्यालय अन्तर्गत ‘सामाजिक कार्य’ स्नातकोत्तर तह कार्यक्रम अन्तिम वर्षमा अध्ययन गर्दै रहेकी कटुवाल पाठ्यपुस्तकमा आफूले अध्ययन गरेको विषयलाई स्थलगत अध्ययनबाट अझ स्पष्ट हुन भ्रमणमा निस्किएको बताउँछिन्।

उनको साथमा रहेकी काठमाडौंकी नम्रता मानन्धर पनि महिना दिनदेखि दुर्गमस्थानका सर्वसाधारणको दैनिकी नियाल्न हिडँेकी छन्। त्यसो त ती दुई मात्र नभएर यति बेला उक्त विषयमा अध्ययनरत सम्पूर्ण छात्रछात्रा जिल्लाको गाउँवस्तीमा निस्किएका छन्।

पाठ्यपुस्तकका सैद्धान्तिक विषयवस्तुमा मात्र सिमित हुन नहुने उनीहरुको धारणा छ। अझ सामाजिक कार्य विषयको अनिवार्य रुपमा चौथो सेमेस्टरमा ग्रामिण क्षेत्रका विभिन्न विषयवस्तुबारे स्थलगत अध्ययन गर्नुपर्ने भएपछि सबै विद्यार्थी गाउँघरको हाल बुझ्न निस्किएको अर्की सहभागी प्रतिक्षा खकुरेलले बताइन्।

‘हामी स्थलगत रुपमा गाउँघर पुगेर वस्तुस्थिती बुझ्दा निकै उत्साहित भएका छौँ’ उनले भनिन्, ‘शहर बजारमा मात्र सिमित भएर हामी हाम्रो विषयको उद्देश्य प्राप्ति नगर्ने भएकाले ग्रामिण वस्तीमा हिडेँका हौँ।’ उनीहरुले घरेलु हिंसा, प्रजनन् स्वास्थ्य अवस्था, अभिभावक र सन्तानको अवस्था, महिला सचेतना, कृषि, संस्कृति, वैदेशिक रोजगार, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न विषयमा उनीहरुले अध्ययन गर्दै आएको बताए।

पछिल्लो समय सामाजिक कार्य विषय अध्ययन गर्नेको चासो उल्लेख्य रुपमा बढेको उक्त विषय अध्यापन गर्दै आएका उप—प्राध्यापक प्रतिक शर्मा लामिछाने बताउँछन्। विश्वविद्यालयले सम्बन्धन दिएको सामाजिक कार्य नीतिस्तरबाट पठनपाठन हुँदै आएको छ।

भर्नाका लागि अन्तवार्ता र अन्य प्रयोगगात्मक परीक्षाबाट ५० जनाको कोटामा चयन गरिने उपप्राध्यापक लामिछानेले बताए। हालसम्म चौथो ब्याच मात्र उत्पादन भएको छ। उक्त विषय पढ्ने चाहना राख्नेको संख्या अत्यन्त धेरै रहेको उनले जानकारी दिए।

स्नातकोत्तरमा प्रत्येक वर्ष कम्तिमा तीन सय बढी विद्यार्थी भर्नाका लागि आउने गरेका छन्। तर ५० जनाको कोटामा प्रतिस्पर्धाबाट चयन गरिने भएपछि अन्यको उक्त विषय पढ्ने चाहना पुरा हुन सकेको छैन। ‘स्वदेश र विदेशमा सामाजिक कार्य विषयको माग बढ्दै गएको छ’, लामिछानेले भने, ‘सिमित कोटा भएकोले पढ्ने चाहना भएका सबैको इच्छा पुरा गर्न सकेको छैन।’ माग तीव्र भएकाले थप कोटा विस्तार गर्न जरुरी रहेको उनको तर्क छ।

स्नातक तहसम्म सामाजिक कार्य विषय पढ्नेको संख्या उच्च रहेको छ। तर विश्व विद्यालयमा उक्त विषय सिमित गरिंदा समस्या रहेको सम्बद्ध विद्यार्थी गुनासो गर्छन्। स्थानीय तह तथा स्वास्थ्य संस्थामा उक्त विषय पढेका जनशक्तिको माग बढ्दै गएकोले रोजगारको लागि आफू आशावादी भएको स्नातकोत्तर तह अन्तिम वर्ष अध्ययनरत इन्द्रजीत गौतमले बताए।

प्रकाशित : भाद्र ३, २०७५ १७:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

जनकपुरमा फोहोरैफोहोर [फोटोफिचर]

शाहीमान राई

जनकपुर — यतिबेला जनकपुर सहरको फोहरमैला व्यवस्थापन र सरसफाइको विषय जनकपुरधाम उपमहानगरपालिकाको निम्ति मात्र होइन, प्रदेश सरकार र सङ्घीय सरकारलाई समेत चुनौती बनेको छ । वर्षेनी लाखौं स्वदेशी तथा विदेशी पर्यटक आउने जनकपुरधामको मुख्यबजार, चोक, गल्ली, ढल, सडक किनारा, फुटपाथ, जताततै फोहरका डङ्गुर छन् ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जनकपुर सहर घुम्न आउनेहरुको पहिलो नजर फोहर मैलामा पर्ने गरेको छ । फोहर मैला व्यवस्थापन गर्न नसक्दा जनकपुरवासी राजनीतिज्ञ, बुद्धिजीवी, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायको शिर निहुरिने अवस्था बन्न थालेको छ । सहरवासी, बजार, पसल, होटल, लज, डेरावाला, स्थानीय बासिन्दा र व्यवसायीले प्लास्टिक, कागजका टुक्रा, फलफूल तरकारीका बोक्रालगायत अधिकांश फोहर सडक किनारा, चोक, गल्ली, फुटपाथ, ढल, नालीमा फाल्ने गरेका छन् ।

शैक्षिक भ्रमण, धार्मिक यात्रा तिर्थाटनका लागि आउने अधिकांश यात्रुले जनकपुरको फोहर मैलाको दुर्गन्ध देखेर भन्छन् –‘यो त जनकपुर होइन, फोहरपुर रहेछ ।’ फोहर पानी, प्लास्टिक, कागजका टुक्रा, फोहर मैलाले ढल भरिएर सडकमा बग्छ । वर्षात्‌को बेला घर आँगनमै दुर्गन्धसहितको कालो पानी बग्ने गरेको छ । त्यही पानी बगेर जनकपुरमा स्वच्छ र पवित्र मानिएका तालपोखरी भरिने गर्छन् । दुषित पानीले ताल पोखरीका माछा मर्ने गरेका छन् । दुर्गन्धले सहरको जनस्वास्थ्य प्रभावित भएको छ । दुर्गन्धले खाना खान रुची नहुने, अमन, अपच र आलस्य हुने गरेको स्थानीयवासी बताउँछन् ।

जनकपुर उपमहानगरपालिकाले एसियाली विकास बैंकको एक अर्ब ९० करोड रुपैयाँ लगानी, सहरी विकास तथा भवन निर्माण विभागलगायत निकायको आर्थिक सहयोगमा सहरभित्र सडक विस्तार, ढल निकास, ड्रेन, ह्युमपाइप हालेर ढल भूमिगत बगाउन ठाउँठाउँमा ड्रेन निर्माण गरिए पनि केही क्षेत्रमा स्थानीयको विवाद र अवरोधका कारण पूरा भएका छैनन् । सहर दुर्गन्धित बन्नुमा उपमहानगरपालिकाले ढल निकास र फोहर मैला व्यवस्थापन गर्न नसक्दा हो । फोहर मैला व्यवस्थापनको निम्ति डम्पिङसाइड छैन । समाजमा जनचेतनाको अभाव र स्थानीयवासीको असहयोगले सरसफाइ योजना प्रभावकारी हुन नसकेको उपमहानगरपालिकाले जनाएको छ ।

फोहरमैला व्यवस्थापन, कार्यालय र सडक सरसफाइका लागि उपमहानगरपालिकामा ४१ जना स्थायी, १२ जना करार र ५० जना दैनिक ज्यालादारी गरी एक सय ३ जना स्वीपर कर्मचारी कार्यरत छन् । फोहर मैला व्यवस्थापनका लागि उपमहानगरपालिकासित एक टिपर, दुई ट्रयाक्टर र एउटा स्काभेटर छन् । ४ वटा ट्रयाक्टर र एउटा टिपर भाडामा लिइएको छ ।


प्रकाशित : भाद्र ३, २०७५ १७:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT