‘बिहे अंश’ अस्पताललाई

कान्तिपुर संवाददाता

ताप्लेजुङ — मैवाखोला–३ का रवीन्द्र र नवराज भट्टराईले बाबुआमाले आफूहरूको विवाहका लागि छुट्याइदिएको जग्गा अस्पताललाई दिएका छन् ।

गाउँपालिकाको सहयोगमा निर्माण हुने भनिएको १५ शय्याको अस्पताल बनाउन भट्टराई दाजुभाइले नि:शुल्क रजिस्ट्रेसन पास गरिदिएका हुन् ।

आफ्नै कमाइले विवाह गरेपछि बाबुआमाले छुट्याएको जग्गा सामाजिक सेवाका लागि दिएको रवीन्द्रले बताए । ४ दाजुभाइमध्येका साइँला रवीन्द्र बेलायत र कान्छा नवराज क्यानाडामा काम गर्छन् । जेठा खेम र माइला फणिन्द्र भने गाउँमै छन् । १२ सन्तानमध्ये बाँकीको विवाह बाबुआमाले नै गरिदिएका थिए ।

Yamaha

गाउँघरमा अविवाहितलाई विवाह खर्च छुट्याइने चलन छ । छोराछोरीको विवाहपछि बाबुआमाले आफ्नो कर्तव्य पूरा भएको ठान्छन् । आफ्नै खर्चले विवाह गरेमा बाबुआमाले छुट्याएको जग्गा सम्बन्धित व्यक्तिको हुने चलन छ । त्यसरी दुई भाइलाई दिएको ६ रोपनी ९ आना जग्गा उनीहरूले स्वास्थ्य संस्थालाई दिएको मैवाखोला–३ का वडाध्यक्ष दिवस लिम्बूले बताए ।

उनका अनुसार अहिलेको चलनचल्तीमा यो जग्गाको मूल्य ६५ लाख रुपैयाँ पर्छ । उनीहरूले नि:शुल्क दिएको खेतमा अहिले अलैंची लगाइएको छ ।

प्रकाशित : भाद्र ४, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्

कुखुरा आयातमा २ रुपैयाँ कर

कान्तिपुर संवाददाता

लमजुङ — बेंसीसहर नगरपालिकाले हाँस, कुखुरा र अन्य पन्छीको आयातमा २ रुपैयाँ कर लगाएको छ । नगरवासीलाई नभई बाहिरबाट बिक्री गर्न ल्याउनेलाई कर लगाएको हो ।

‘हामीले कुखुरा र हाँसमा २ रुपैयाँ कर लिने निर्णय गरेका छौं । घरमा पालिएकालाई लिने होइन । जसले बाहिरी जिल्ला वा स्थानीय तहबाट गाडीमा ल्याएर बिक्री गर्न खोज्छ, उनीहरूलाई लिने भनेका हौं,’ नगरप्रमुख गुमानसिंह अर्यालले भने ।

हाटबजार लाग्दा व्यावसायिक रूपमा बिक्रीका लागि ल्याइने पन्छी तथा पशुमा पनि कर लिइनेछ । ‘सबैले करको विरोध गरेका छन् । बुझेर मात्रै विरोध गर्नुपर्छ,’ उनले भने । आलु, तरकारी तथा पोका वा झोलामा सामान राखेर मोटरसाइकलमा बिक्री गर्ने हिँड्नेलाई भने १० रुपैयाँ कर तोकिएको छ ।

आर्थिक ऐन २०७५ अनुसार खसी, बोकामा प्रतिगोटा २५ रुपैयाँ र राँगा, भैंसी तथा बंगुरमा प्रतिगोटा ५० रुपैयाँ कर तोकेको छ । नगरपालिकाले अधिकतम ३५ हजार रुपैयाँसम्म कर तोकेको जनाएको छ । एकीकृत सम्पत्ति करतर्फ ३ करोडदेखि ५ करोडसम्म सम्पत्ति हुनेका लागि ३५ हजार रुपैयाँ र ५ करोडमाथि सम्पत्ति हुनेका लागि प्रतिहजारमा २ रुपैयाँका दरले कर तोकेको नगरपालिकाले जनायो ।

एकीकृत सम्पत्ति करमा सबैभन्दा कम १ लाखदेखि १० लाखसम्म सम्पत्ति हुनेका लागि १ सय ५० रुपैयाँ तोकिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले सम्पत्ति कर पूर्ण रूपमा लागू भएको र अन्य कर लागू गर्ने तयारीमा रहेको बताए । नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ को एकीकृत सम्पत्ति कर सोही चालु आवको पुस मसान्तसम्म बुझाउनेलाई ५० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ ।

अर्को आर्थिक वर्षमा बुझाए १० प्रतिशत र त्यसपछि ५ प्रतिशतका दरले बढ्दै जानेछ । नगरपालिकाले पटके सवारी कर नलिने निर्णय गरेको छ । यस्तै, ग्रामीण भेगबाट डोका र डालामा तरकारी तथा फलफूल राखी बजार घुमाएर बेच्ने किसानको हकमा व्यावसायिक कर नलिने नगरपालिका प्रमुख अर्यालले बताए ।

बेंसीसहरको व्यावसायिक कर उठाउने जिम्मा नगरपालिकाले लमजुङ उद्योग वाणिज्य संघलाई दिएको छ । संघले चालु आर्थिक वर्षमा व्यावसायिक करबापत उठेको रकमको २५ प्रतिशत राखेर नगरपालिकालाई बुझाउनेछ । संघका अध्यक्ष राजेश थापाले गत आर्थिक वर्षदेखि व्यवसायीलाई कर उठाउँदै आएको बताए ।

नगरपालिकाले नागरिकता सिफारिसमा वंंशजको १ सय र अंगीकृतको २ हजार र राहदानी सिफारिस ३ सय रुपैयाँ तोकेको छ । जन्ममृत्यु सिफारिस १ सय, नामथर संशोधन १ सय, नाता प्रमाणित नेपालीमा २ सय ५० र अंग्रेजीमा ५ सय तोकेको छ । ‘गत आर्थिक वर्षमै निर्णय गराएका थियौं । कहींकतैबाट विरोध छैन,’ नगरप्रमुख अर्यालले भने । नगरपालिकाले सम्पत्ति कर, भूमि कर (मालपोत), घरबहाल कर, व्यवसाय कर, जडीबुटी, कवाडी र जीवजन्तु कर, सवारीसाधन कर, विज्ञापन कर, मनोरञ्जन कर लगायत १३ शीर्षकमा कर लिने निर्णय गरेको छ ।

प्रकाशित : भाद्र ४, २०७५ ०७:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT