कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जिल्लामै चिया प्रशोधन

तेह्रथुम — जिल्लाका ५ सयभन्दा बढी चिया किसान र ९ वटा चिया सहकारीले आफ्नै जिल्लामा चिया प्रशोधन कारखाना पाएका छन् ।

जिल्लामै चिया प्रशोधन

चियाको हरियो पत्ती प्रशोधन गर्ने कारखाना जिल्लामै खुलेपछि सोल्मा सहित सुङनाम, जिरिखिम्ती, मोराहाङ, श्रीजुङ, हमुरजुङ, पञ्चकन्या, आङदिम बसन्तपुर, फुलेक, दांगपा र छिमेकी जिल्ला धनकुटा र संखुवासभाका साना चिया किसानले राहत पाएका छन् ।

यी स्थानका किसानले व्यावसायिक चिया खेती गर्दै आएका छन् । साना चिया किसानलाई लक्षित गरी लालीगुराँस नगरपालिका ९ सोल्मामा सञ्चालनमा ल्याइएको चिया प्रशोधन कारखानाका कारण किसानले रोजगारी र आम्दानी दुवै पाएको सिंहदेवी चिया उत्पादक सहकारी संस्थाका व्यवस्थापक शंकर खनालले बताए ।

सिंहदेवी चिया उत्पादक सहकारी संस्थाले नै किसान समेतको लागत सहभागिता गराएर उन्नती समावेशी वृद्धि कार्यक्रमको सहयोगमा कारखाना सञ्चालनमा ल्याएको हो । जिल्लामै चियाको हरियो मुना प्रशोधन गर्ने कारखाना नहुँदा धेरै किसानले चियाको मुना नै टिप्न छाडेका थिए । मुना टिपेका किसानले पनि धनकुटाको हिलेमा रहेका चिया प्रशोधन कारखानामा बिक्रीका लागि लानुपर्ने बाध्यता थियो ।

त्यहाँका कारखानाले पत्ति ढुवानी गर्न सवारी साधन समयमा नपठाउँदा हप्तामा एक दिन मात्र पत्ती टिप्नुपर्ने बाध्यता किसानले झेल्दै आएका थिए । कारखानाले समयमा पत्तीको रकम भुक्तानी नदिने अर्को समस्या वर्षौंदेखिको थियो । पत्ती टिप्न ढिलाइ हुँदा मुना फक्रिने र फक्रिएका मुना कारखानाले लिन नमान्दा किसानले वर्षेनी नोक्सान व्यहोर्दै आएका थिए ।

जिल्लामै कारखाना खुलेपछि भने किसानका यी सवै समस्या हटेको किसान समेत रहेका कारखानका प्राविधिक वीरबहादुर बस्नेतले बताए । कारखाना सञ्चालनमा आएपछि जिल्लाभरका चिया किसानले हप्ताको सातै दिन मुना टिप्न पाएका छन् ।

प्रकाशित : भाद्र ४, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?