कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

अशोकको परिवारलाई घर

अर्जुन राजवंशी

दमक — बाल गायक अशोक दर्जीको परिवारलाई घर हस्तान्तरण गरिएको छ । सोमबार एक सांगीतिक कार्यक्रमबीच बाल गायक दर्जीको परिवारलाई घर हस्तान्तरण गरिएको हो ।

अशोकको परिवारलाई घर

दमक नगरपालिका २ मा चार कोठाको पक्की घर निर्माण गरिएको छ । करिब २५ लाखको लागतमा घर निर्माण गरेको गायक तथा संगीतकार टंक बुढाथोकीले जानकारी दिए ।

जस्तापाताको छाना भएको पक्की घर निकै आकर्षक बनाइएको छ । घरमा टायल बिछ्याइएको छ । जिब्सनको सिलिङ लगाइएको छ । ढोकाहरू आकर्षक डिजाइनका रहेका छन् । किचन आधुनिक डेकोरेशनसहितको बनाइएको छ । अशोक, उनको बुबा आमा र सिटिङ रुम छुट्टाछुट्टै तयार गरिएको छ । साउन्ड सिस्टमसहितको ४३ इन्चको एलइडी टीभी जडान गरिएको छ । प्रत्येक कोठामा वाल फेन । किचनमा फ्रिज । सोफा, दराज, टि–टेबलसहित दर्जीको घरलाई आकर्षक रूपमा सजाइएको छ ।

अतिविपन्न परिवारका दर्जी ५ महिनाअघि सडकमा गीत गाएर हिँड्थे । तर, उनले गीत गाएको युटुब च्यानलहरूमा भाइरल भएपछि अहिले अशोकको चर्चा चुलिएको हो । गायक तथा संगीतकार बुढाथोकीसँग गाएको उनको पहिलो गीत ‘धनबिनाको मन ठूलो कि मन बिनाको धन...’ चर्चित बन्यो ।

उक्त गीत युटुबमा अहिलेसम्म एक करोड ४१ लाख ९८ हजारभन्दा बढीले हेरेका छन् । २६ हजार ६ सय कमेन्ट र २ लाख ४२ हजारले लाइक गरेका छन् । अशोककै स्वर तथा मूर्तिकार मञ्जुल मितेरीको शब्द र संगीत रहेको ‘झिलमा फूलु...’ बोलको उनको दोस्रो गीत दुई साताअघि मोरङको उर्लाबारीमा सार्वजनिक गरिएको थियो । उक्त गीत पनि १४ लाख ४८ हजारले हेरिसकेका छन् ।

सुमधुर स्वरका धनी बाल गायक अशोक युटुबमा गीत गाएर भाइरल बनेपछि उनको नाममा देश–विदेशबाट लाखौं सहयोग प्राप्त भएको छ । उक्त सहयोग रकमबाट अशोकको घर निर्माण गरिएको हो । अशोकलाई टुयुब च्यानलहरूले चर्चित बनाउन सहयोग गरेको भन्दै उनको घरमा युटुवको लोगो राखिएको छ ।

सामान्य मजदुरी गरेर परिवारको दुई छाक टार्दै आएका अशोकका बुबा पूर्ण दर्जी छोराका कारण आफूहरूको अवस्था परिवर्तन भएकोमा खुसी छन् । उनले भने, ‘मेरो छोराको भाग्यका कारण आज मेरो परिवार यो अवस्थासम्म आइपुगेको छ । हामीलाई सबैले माया गर्नु भयो । यो सफलता र मायाको लागि सबैलाई धन्यवाद ।’

अशोक काठमाडौंको तिनकुनेस्थित एपोलो इन्टरनेशनल स्कुलमा कक्षा १ मा पढ्दै छन् । ‘अशोकलाई सबैले माया गरेर आज यो अवस्थासम्म ल्याइपुर्‍याउने सबै धन्यवादको पात्र हुनुहुन्छ,’ संगीतकार बुढाथोकीले भने, ‘घर थिएन, हामीले जग्गा किनेर परिवारका लागि एउटा राम्रो घर बनाइदियौं ।’

प्रकाशित : भाद्र ५, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?