अरुण तेस्रो परियोजना : ५ परिवारले थातथलो छाडे

कान्तिपुर संवाददाता

संखुवासभा — अरुण तेस्रो परियोजनाले प्रभावितलाई मुआब्जा दियो । तर, छ्याङुटी–पुखुवा सडक निर्माणका क्रममा क्षति पुगेका पीडितले भने क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । गत जेठ २६ को वर्षाले ठूलो क्षति भएको थियो ।

छयाङुटी–पुखुवा सडक निर्माणका क्रममा विस्थापित भएकाहरूले बनाएको अस्थायी टहरा ।तस्बिर : दीपेन्द्र शाक्य

वर्षासँगै गएको पहिरोले ५ घरपरिवार विस्थापित भएका छन् । ३ घर र १ स्वास्थ्य चौकी उच्च जोखिममा रहेको अरुण प्रवेश मार्गका इन्जिनियर गागलबहादुर भण्डारीले बताए । विस्थापित हुनेहरूमा चिचिला गाउँपालिका २ का सीता गुरुङ, कर्मा शेर्पा, नेत्रबहादुर राई, मच्छिन्द्र राई र ३ नम्बर वडाका थमानसिं राई छन् ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि पाल उपलब्ध गराएको थियो । पीडितका अनुसार वडा, गाउँपालिका, जिल्ला प्रशासन, अरुण तेस्रो प्रवेश मार्ग आयोजनालाई पटकपटक क्षतिपूर्तिको माग गर्दासमेत बेवास्ता गरिएको छ ।

Yamaha

‘प्रवेश मार्गबाट प्रभावितहरूले मुआब्जा पाए,’ विस्थापित सीताले भनिन्, ‘सडक निर्माणका क्रममा क्षति पुगेकाहरूले अझै क्षतिपूर्ति पाएनन् । सडककै कारण धेरैले खेतीयोग्य जमिन गुमाएका छन् ।’ उनले केहीको घरबास उठीबास भएको बताइन् । सडकबाट झन्डै ३ सय मिटर तलसम्म अन्न बाली पुरिएको छ, सडकमा गएको पहिरोले पनि क्षति पुर्‍याएको छ ।

विस्थापितमध्ये नेत्रबहादुरको आधा घर पहिरोले बगाएको छ । उनीहरूको ५ जनाको परिवार प्रशासनले उपलब्ध गराएको पालमुनि बसेका छन् । ‘ठूलो वर्षात् हुँदा भलबाढी पसेर समस्या गराएको छ,’ उनले भने, ‘जमिनको चिसोले रातमा समस्या गराउँछ, दिनमा घामले पालमा बस्न सक्दैनौं ।’

चिचिला ३ की मनकुमारी राईको पनि यसै वर्ष आयोजनाको सडकको माटोले २० मुरी उत्पादन हुने धानखेत पुरिएको छ । २ नम्बरका ठगबहादुर गुरुङको पनि खेत सडकको पहिरोले पुरियो । क्षतिपूर्ति माग गर्दै पटकपटक सडक, प्रशासन र भारतीय सतलज कम्पनी पुगेको उनले बताए । ‘कुनै पनि निकायले क्षतिपूर्तिका लागि पहल गरेन,’ उनले भने, ‘गरिखाने मेलो सकियो, क्षतिपूर्तिको आशमा छौं ।’

सडक निर्माणका क्रममा व्यवसायीले समयमा नाली व्यवस्थापन नगर्दा यस क्षेत्रमा भएका खेतबारीमा क्षति पुर्‍याएको नयन्द्र लाम्सोङ राई बताउँछन् । अरुण तेस्रो पावरहाउस जाने खण्डको बालुवा र लेदोमाटोसहितको भलबाढी कृषकको खेतबारीमा पसेर क्षति पुगेको उनले बताए । स्थानीय छत्रमणि काफ्लेका अनुसार सडक निर्माणका लागि १५ मिटरको मुअब्जा वितरण गरिए पनि २ सय मिटर तलसम्म क्षति पुगेको छ । ‘४ मन अलैंची उत्पादन हुने बगानमा सडक खनिएको माटोले पुरियो,’ उनले भने, ‘बगान सखाप पारेको छ, यसको क्षतिपूर्ति कसले दिन्छ ?’ लगानी बोर्डका सहसचिव उत्तमभक्त वाग्ले, पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङको टोलीले क्षति भएको स्थानको अनुगमन गरेको छ ।

क्षतिको विवरण संकलन गरी पीडितलाई राहत उपलव्ध गराउने सहसचिव वाग्लेले बताए । अरुण तेस्रो प्रवेश मार्गले क्षति पुगेकाहरूको तथ्यांक संकलन गरिरहेको उनले बताए । ‘तथ्यांक संकलनपछि उनीहरूको माग सम्बोधन हुन्छ,’ उनले भने ।

९ सय मेगावाट विद्युत् उत्पादन हुने परियोजनाको नुमको फयासिन्दास्थित डयाम साइड निर्माण, सुरुङ मार्ग र दिदिङको पुखुवामा पावरहाउस निर्माणमा चाहिने सामग्री लैजान सडक निर्माणको काम भइरहेको छ । अरुण तेस्रो प्रवेश मार्गका रुपमा छयाङुटी–पुखुवा सडक पनि निर्माण भइरहेको छ । अब पुखुवा पुग्न ९ सय मिटर मात्र रहेको आयोजनाले जनाएको छ ।

पहिरोले क्षति
विराटनगर– केही दिनयताको अविरल वर्षापछि खसेको पहिरोले भोजपुुरको षडानन्द १ मा खेतीयोग्य जमिन बगाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार १६ जनाको ३८ रोपनीभन्दा बढी जमिनमा क्षति पुगेको हो । ६ जनाको घर पहिरोको जोखिममा छ । पहिरोले जमिन र बाली पुर्दा करिब ३६ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ५, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

त्रियुुगा नदी नियन्त्रण : २५ हजार परिवार लाभान्वित

डिल्लीराम खतिवडा

उदयपुर — त्रियुगा नदी नियन्त्रणको काम सुरु भएसँगै यहाँका झन्डै २५ हजार परिवारले राहत पाउने भएका छन् । नदीको मुहानदेखि सप्तकोसीसम्म तटबन्ध निर्माण गरी आसपासका खहरे खोलासमेत नियन्त्रण गर्न लागिएको हो ।

‘त्रियुगा नदी नियन्त्रण गुरुयोजना’ अनुसार चालु आवदेखि काम सुरु हुनेछ । यसका लागि चालु आवमा सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

जिल्लाको मुख्य समस्या त्रियुगा नदीको कटान हो । गत वर्ष राष्ट्रपति विद्या भण्डारीले त्रियुगाले गरेको क्षति अवलोकन गर्दैै यसको नियन्त्रणमा चासो व्यक्त गरेकी थिइन् । राष्ट्रपतिको चासोसँगै पूर्वमन्त्री तथा उदयपुर क्षेत्र १ का सांसद नारायण खड्का समेतको पहलमा जलउत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालय लहानले ६ अर्ब ८५ करोड ११ लाखको विस्तृत प्रतिवेदन तयार गरी मन्त्रालयमा पेस गरेको थियो ।

जलउत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालयका अनुसार त्रियुगा नगरपालिकाको होक्से कालिखोलादेखि सप्तकोसीसम्म ४२ किमि पर्छ । यसमा दुवैतर्फ बाँध निर्माण गर्न ६ अर्ब ८५ करोड ११ लाख खर्च लाग्ने अनुमानसहित विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरी गत वर्ष मन्त्रालयमा बुझाएको थियो ।

बाँध निर्माण गर्दा ४ सय हेक्टर खेतीयोग्य जमिनको उकास हुने र १० हजार घरधुरीका ५० हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् । १३ सय वर्ग किमि जलवहाब क्षेत्र रहेको त्रियुगाको ३१ सय मिटर प्रतिसेकेन्ड बहाव रहेको र २५ अन्य सहायक नदीका कारण यसको चौडाइ बर्सेनि बढिरहेको गुरुयोजनाको प्रतिवेदनमा उल्लेख छ ।

‘त्रियुगाले बर्सेनि खेतीयोग्य जमिन बगाउँदा सयौं परिवार सुकुम्वासी बनेका छन्,’ चौडन्डीगढी नगरपालिका ५ का वडाध्यक्ष देवनारायण चौधरीले भने, ‘गुजारा गर्ने जमिन नदीकै कारण बगरमा परिणत भएपछि सयौं परिवार विस्थापित भएका छन् ।’ नदीले बगर बनाएको खेतीयोग्य जमिन उक्सिने आशमा त्रियुगा, चौडण्डिगढी र वेलका नगरपालिका २५ हजार परिवारले नदीले बगाएको आफ्नो खेतको ३० वर्षदेखि मालपोत तिर्दै आएका छन् । ‘३ बिघामा २०५३ सालयता त्रियुगा नदी बगिरहेको छ,’ चौडण्डिगढी १०, रूपनगरका नरबहादुर थापाले भने, ‘कुनै पनि उक्सेला र खाउँला भनेर नदी बगेदेखि अहिलेसम्म मालपोत तिरिरहेको छु ।’ यो वर्ष पनि ७ दिन पहिले मालपोत तिरेको उनले बताए ।

नदीले त्रियुगा, चौडण्डिगढी र बेलका नगरपालिकका २५ हजार परिवारको खेतीयोग्य जमिन बगर बनाएको मालपोत कार्यालयको रेकर्डमा देखिन्छ ।

प्रकाशित : भाद्र ५, २०७५ ०८:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT