कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेतृत्वको होडमा नेकपाका नेता

आनन्द गौतम

ताप्लेजुङ — काठमाडौं बागबजारको होटल हार्दिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ताप्लेजुङको भेटवार्ता स्थल हो । योगेश भट्टराईदेखिका नेता कार्यकर्ता प्राय: यही भेटिन्छन् । सातायता यो होटलमा जिल्लाको नेतृत्व कसले पाउने भन्ने विषयमा लगातार छलफल भइरहेको छ ।

नेतृत्वको होडमा नेकपाका नेता

दिनहुँजसो हुने छलफलमा एमाले तर्फबाट आंकाक्षी मात्रिकाप्रसाद भट्टराई, सन्तोष खतिवडा, डम्वरध्वज तुम्बाहाम्फे र राम सुवेदी अनिवार्य उपस्थित हुन्छन् । माओवादीबाट आकांक्षी खेलप्रसाद बुढाक्षेत्री पराग र विजय किरातले पनि हमेसा छुटाउँदैनन् । खासगरी एमाले पक्षधर अधिक हुन्छन् र आफूलाई अगाडि उभ्याउने प्रयत्न गर्छन् । दुवै पार्टीले जिल्ला कमिटी र सचिवालय सदस्यको भने टुंगो लगाइसकेका छन् । जिल्ला कमिटीमा एमालेबाट ८० र माओवादीबाट ५५ तथा सचिवालयमा एमालेबाट २७ र माओवादीबाट १७ जना अटाएका छन् ।

पुरानालाई नछुटाइकन कमिटिको टुंगो लगाएको स्रोतले बताएको छ । नामावली गोप्य राखेकाले विरोधका स्वर सार्वजनिक हुन पाएको छैन । नेतृत्वका लागि एमालेका भट्टराई र खतिवडा तथा माओवादीका बुढाक्षेत्री र किरातले दाबी छोडेका छैनन् । तुम्वाहाम्फे र सुवेदी पाए राम्रो नत्र अधिवेसन सम्म पर्खिने मनस्थितिमा छन् ।

एकले अर्कालाई मनाउन एमालेका खतिवडा र भट्टराईले वान टु वान वार्ता पनि गरेका छन् । तर सफलतामा पुगेका छैनन् । जिल्ला कुन पार्टीको भागमा पर्ने भन्ने विषयले पनि अन्योल बनाएको आकांक्षीहरू बताउँछन् । माओवादीका नेता पासाङ शेर्पा जिल्ला इञ्चार्ज एमालेबाट पर्ने निश्चित भइसकेकाले अध्यक्ष माओवादीले पाउनुपर्ने बताउँछन् ।

माओवादीवाट बुढाक्षेत्री कि किरात भन्ने विषयमा भने उनी पनि मुख खोल्न चाहदैनन्, ‘दुवै सक्षम छन’ मात्रै भन्छन् । पासाङको बुझाइमा केन्द्रीय कमिटीमा रहेका योगेश, टंक, पासाङ र तीलकुमारमध्ये तीन जना जिल्ला नआउने भएकाले तीलकुमारको जिल्ला इञ्चार्जमा सर्वसम्मत नाम हो । आफूलाई अध्यक्ष पुष्पकमल दाहालले तपाईं के गर्ने भनेर सोधेको तर स्वास्थ्यका कारण जिल्ला जान नसक्ने बताएको उनले दाबी गरे ।

पार्टीका दुवैतर्फ (पूर्व एमाले र माओवादी) को पर्खाइ पाँचथरमा कुन पार्टीले नेतृत्व पाउँछ भन्नेमा छ । बसन्त नेम्वाङ फिदिम नगरपालिकाको मेयरमा पराजित राजकुमार भण्डारीलाई जसरी पनि अध्यक्ष बनाउन लागेकाले ताप्लेजुङ माओवादीको भागमा पर्छ कि भन्ने यहाँका नेताको बुझाइ छ ।

तर संगठनात्मक रूपमा प्रदेश नम्बर एकमै दोस्रो जिल्लामा पर्ने पाँचथरको नेतृत्व नछोड्ने माओवादी नेताहरूले बताएका छन् । केन्द्रीय सदस्यमा नअटाएका माओवादीका जिल्ला इञ्चार्ज हर्क नेम्वाङ ‘मिक्सो’ लाई जिम्मेवारी दिनुपर्ने दबाब माओवादीलाई छ ।

नियमित जिल्लाले प्रदेश र प्रदेशले केन्द्रमा गर्नुपर्ने सिफारिस ताप्लेजुङले आइतबारसम्म गर्न सकेको छैन । एक व्यक्ति एक जिम्मेवारीको मापदण्ड बनाएपछि आफू अध्यक्ष नपाउने अवस्थामा पुगेका एमाले अध्यक्ष बलबहादुर साम्सोहाङले आइतबार अवेलासम्म वा सोमबारसम्म सर्वसम्मत भए एक जनाको मात्रै नाम पठाउने प्रयास पनि गरिरहेका छन् । उनले कसैको एकलौटी नाम पठाउलान् भनेर कतिपयमा आशंका पनि देखिएको छ ।

अप्ठेरोमा योगेश
पूर्वएमाले सचिव योगेश भट्टराई समस्यामा परेका छन् । पार्टीले बनाएको मापदण्डअनुसार अध्यक्ष साम्सोहाङले नेतृत्व नपाउने भएपछि एमालेको बरियता क्रममा उपाध्यक्षमा दाजु मात्रीका छन् । उनको पक्षमा खुले दाजुको समर्थन गर्‍यो भन्ने नारा लाग्न सक्छ, माओवादी पक्षधरलाई समर्थन गरे आफ्नो पार्टीकोलाई बनाउन सकेन भन्ने गुनासो हुन्छ ।

भट्टराई नजिक एक नेताले भने, ‘उहाँ विलखबन्दमा पर्नुभएको छ र बोल्नुभएको छैन ।’ ती नेताका अनुसार अन्तमा मात्रीका अध्यक्ष बन्न सक्छन् । माओवादीको पराग भए राम्रै हुन्छ भन्ने एमालेहरू पनि २५ वर्षको रजतमहोत्सव मनाएको जिल्लामा नेतृत्व छोड्न नहुनेमा भने एक मत देखिएका छन् ।

विशेषत: जिल्लाको पूर्वी सिनाम क्षेत्रका नेताले पराग, डम्वरध्वजलाई क्रमश: सहानुभूति प्रकट गरेको तर कसैका पक्षमा खुलेर नलागेको एक नेताले बताए । जिल्ला कमिटीका केही सदस्यले उपाध्यक्ष भएकाले मात्रीका भए फरक नपर्ने प्रतिक्रिया जनाएका छन् ।

प्रकाशित : भाद्र ५, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?