परीक्षामा अनियमितता भएको आरोप

प्रवेश परीक्षा लिने नाममा चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि संकायका डिनले गोपनियता भंग गरेको आरोप
कान्तिपुर संवाददाता

विराटनगर — पूर्वाञ्चल विश्वविद्यालयले चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि संकायको प्रवेश परीक्षा सम्बन्धित डिनको कार्यालयले लिँदा अनियमितता भएको र पारदर्शी नभएको भन्दै परीक्षा नियन्त्रक कार्यालयलाई जिम्मेवारी सुम्पिएको छ ।

प्रवेश परीक्षा लिने नाममा चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि संकायका डिन महिनाैंसम्म काठमाडाैंको सम्पर्क कार्यालयमा बसेर परीक्षार्थीलाई पास गराइदिने आश्वासन दिएर आर्थिक लेनदेन गरेको र परीक्षाको गोपनियता भंग गरेको विश्वविद्यालयले जनाएको छ । यही कारण एकीकृत परीक्षा प्रणालीअन्र्तगत प्रवेश परीक्षा लिने जिम्मेवारी परीक्षा नियन्त्रण कार्यालयलाई सुम्पिएको विश्वविद्यालयले जनाएको छ ।

स्रोतका अनुसार चिकित्सा शास्त्रको प्रवेश परीक्षाका लागि गतवर्ष विश्वविद्यालयले २७ लाख बजेट तोकेको थियो । तर डिन सिद्धार्थ कोइरालाले विश्वविद्यालयको स्वीकृतिबिना थप ११ लाख खर्च गरेको जनाइएको छ ।

Yamaha

विज्ञान तथा प्रविधि संकायको डिनमा शुभनारायाण पाठक छन् । उनको यो दोस्रो कार्यकाल हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको दबाबमा दोस्रो कार्याकालका लागि उनी डिनमा नियुक्त भएका थिए ।

प्रवेश परीक्षालाई मर्यादित बनाउन र विश्वविद्यालयको खर्च कटौती गर्न चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि संकायले लिने प्रवेश परीक्षा एकीकृत प्रवेश परीक्षा गठन गरी परीक्षा नियन्त्रक कार्यालयलाई जिम्मेवारी दिइएको हो ।

विश्वविद्यालयका प्रवक्ता राजेश झाका अनुसार शिक्षा मन्त्रालयले विश्वविद्यालयको काठमाडौंस्थित सम्पर्क कार्यालय भंग गरेकाले पनि प्रवेश परीक्षाको जिम्मेवारी डिनबाट हटाएर परीक्षा नियन्त्रक कार्यालयलाई दिइएको हो ।

त्यसैगरी विश्वविद्यालयले एकीकृत छात्रवृत्ति छनौटका लागि पनि छुट्टै समिति गठन गरेको छ । विश्वविद्यालयले सम्बन्धन दिएका कलेजले छात्रवृत्ति वितरणमा गडबड गरेको गुनासो आएपछि परीक्षा नियन्त्रकको संयोजकत्वमा सम्बन्धित संकायका सहडिन र सहपरीक्षा नियन्त्रक सदस्य रहेको समिति गठन गरिएको झाले बताए ।

उनका अनुसार विश्वविद्यालयले गत वर्षदेखि व्यवस्थापन र कानुन संकायमा पनि छात्रवृत्तिको व्यवस्था गरेको थियो । तर अधिकांश कलेजले दिएको नपाइएपछि छनोट समिति गठन गरिएको हो । उपकुलपति प्राडा घनश्यामलाल दासले प्रवेश परीक्षालाई एकीकृत परीक्षा प्रणालीमा लगेर मर्यादित र पारदर्शी बनाउने प्रयास गरेको बताए ।

Esewa Pasal

प्रकाशित : भाद्र ५, २०७५ ०८:४४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फोहोर बेचेर गुजारा

सुदीप कैनी

काठमाडौँ — फोहोर बोकेका टिपरहरू नुवाकोटको सिसडोल पुग्नेबित्तिकै फोहोरमाथि मजदुरहरूको हारालुछ चल्छ । राजधानी काठमाडौंबाट फालिएको फोहोर बेचेर मजदुरहरूले गुजारा चलाइरहेका छन् भन्दा अनौठो लाग्न सक्छ ।

ललितपुरको पाटनमा आइतबार फोहोर उठाउँदै कामदार । तस्बिर : सुरविन्द्रकुमार पुन

त्यही फोहोर व्यवस्थापन गर्न नसक्दा राजधानी बर्सेनि दुर्गन्धित बन्छ । यस्तैमध्येका एक हुन् काभ्रेका चश्मे तामाङ । उनले फोहोर बेचेर ‘मोहोर’ कमाउँदै आएका छन् । १५ वर्षदेखि उनले फोहोरमा फालिएका फोहोर टिपेर बिक्री गर्छन् । त्यही कमाइले ओखरपौवामा डेरा गरेर ४ जनाको परिवार पालेका छन् ।

सार्वजनिक स्थल, घर र कोठाबाट निस्केका सबै खालका फोहोर सिधै डम्पिङ साइटमा मिल्काउने अधिकांशको चलन छ । महत्त्व नबुझ्दा कतिपय मूल्यवान् कसिंगार पनि फोहोरका रूपमा खेर गएका सिसडोलमा भेटिएका मजुदरहरू बताउँछन् । त्यसो त अधिकांश फोहोर पुन: प्रयोग गर्न सक्ने खालका हुन्छन् । महत्त्व बुझेर होला । टिपर चलाउने जागिर छाडेर कतिपय चालकसमेत पुन: प्रयोग गर्न सकिने फोहोर टिप्न थालेका छन् ।

महँगो/महँगो फोहोर टिप्न तँछाडमछाड हुने गरेको चश्मेले सुनाए । ‘८ रुपैयाँदेखि ५ सय रुपैयाँ किलो पर्ने फोहोर आउँछ,’ उनले भने, ‘त्यही फोहोर बेचेर परिवार पाल्ने हामी धेरै जना छौं ।’ टिपरले फोहोर खन्याएपछि ल्यान्डफिल साइटमा डोजरले मिलाउने काम गर्छ । त्यही मौकामा ३ सयभन्दा बढी मजदुरले बिक्री हुने फोहोर छानीछानी बटुल्छन् ।

सरसफाइ गरेर फेरि राजधानीमै बेच्छन् । प्रशोधनका लागि संकलित फोहोर भारतसम्म पुर्‍याइन्छ । काठमाडौं उपत्यकाबाट प्रयोगविहीन भनेर फ्याँकिएका फोहोर घुमाएर पुन: यहीं आइपुग्छन् । प्रत्येक घरको भान्साबाट निस्कने जारका बिर्को सिसडोलमै प्रतिकेजी ५० रुपैयाँमा बिक्री हुन्छ । ‘राष्ट्रपतिदेखि साहुमहाजनको घरको फोहोर यहीं आउने हो,’ चश्मेले भने, ‘त्यही बेचेर मासिक ३० हजारसम्म कमाइ गर्छु ।’

वर्षातको झरीका दिनमा समेत ५०/६० जना मजदुरको हूल सिसडोलमा माटोले पुर्न ठिक्क पारिएको फोहोर टिपिराखेका भेटिन्छन् । जार, पानी पिउने बोतलको बिर्कोलगायत प्लास्टिकका भाँडाकुँडा सबैभन्दा बढी खेर फालिएका तर तुरुन्तै नगद हात पर्ने फोहोरमा पर्छन् । साधारण खालको प्लास्टिकसमेत प्रतिकेजी ८ रुपैयाँमा बिक्री हुन्छ ।

रबर, सिसाका बोतल, कार्टुन, कपडा, फलाम, तामा, पित्तलका सामग्री पनि ती मजुदरले टिपेर बिक्री गर्ने गर्छन् । फोहोर टिपेर गुजारा चलाउन नुवाकोट, धादिङ, रसुवा, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुरदेखिका मजदुर ल्यान्डफिल साइट पुगेका छन् ।

संकलित फोहोर किन्न कवाडी सञ्चालक व्यापारीहरू सिसडोल नै पुग्छन् । ‘फोहोर संकलन गर्न मात्रै गाह्रो हो,’ रसुवाकी पार्वती तामाङले भनिन्, ‘बिक्री हुँदैन कि भन्ने चिन्ता छैन, टिप्न सक्यो भने धेरै थोरै मूल्यमा सबै कुरा बिक्री हुन्छ ।’ ल्यान्डफिल साइटमा सुनका टुक्रासमेत भेटिने गरेको पार्वतीको अनुभव छ । ‘हराएका बहुमूल्य सामग्री पनि कहिलेकाहीँ फोहोर बनेर यहाँ आइपुग्छन्,’ उनले भनिन् ।

फुटेका सिसा, बिरामीले प्रयोग गरिसकेका सिरिन्ज (सुई) का कारण फोहोरको थुप्रोमा गडेर विक्रि हुने सामग्री छान्न भने उनीहरूलाई सकस छ । हातगोडा काट्ने, फोहोरका कारण बिरामी पर्ने समस्या रहेको उनले गुनासो गरिन् । चश्मे पहिले राजधानीको फोहोर संकलन हुने टेकु स्थित टान्सर्फमर स्टेसनमा यस्तै काम गर्थे । काठमाडौं महानगरपालिकाले त्यहाँ फोहोर टिप्ने मजदुरहरूलाई लखटेको उनले बताए । ‘जानेको काम यही थियो, कमाइ पनि राम्रै हुने भएपछि सिसडोल आएर फोहोर टिप्न थालेको पनि ८ वर्ष भयो,’ उनले भने ।

ल्याडफिल साइटमा फालिएको फोहोर टिपेर मजुदरहरूले दैनिक एक हजार ५ सय सम्म आम्दानी गर्ने गरेको महानगरका कर्मचारी सरकारदीप श्रेष्ठले बताए । ‘अधिकांश धातु र प्लास्टिकका सामग्री माटोले पुर्नुअघि टिपिन्छ र बेच्न पठाइन्छ,’ उनले भने ।

राजधानीबाट दैनिक एक हजार मेट्रिक टन फोहोर उत्पादन हुन्छ । एक सरकारी तथ्यांकअनुसार तीमध्ये ६६ प्रतिशत अर्गानिक (सड्ने) खालका उत्पादन हुने गर्छ । त्यसबाहेक प्लास्टिक १२, कागज ९, सिसा ३, धातु र कपडा २/२, लबड १ र अन्य ५ प्रतिशत हुन्छ । सरकारले निजी क्षेत्रसँगको साझेदारीमा फोहोरलाई प्रशोधन र पुन: प्रयोग गर्ने परियोजना अघि सारे पनि गति लिन सकेको छैन । उचित व्यवस्थापन हुन नसक्दा सिसडोल भरिएर फोहोरको पहाड बनेको छ ।

प्रकाशित : भाद्र ५, २०७५ ०८:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT