गाउँबस्ती बुझ्दै विद्यार्थी

धनकुटा — ओखलढुंगाकी सुमित्रा कटुवाल धनकुटाको दुर्गम गाउँबस्तीको अवस्था बुझ्न निस्किएकी छन् । एक महिनादेखि उनी जिल्लाका ग्रामीण क्षेत्रको अध्ययनका लागि घरदैलोमा छिन् ।

गाउँबस्ती बुझ्दै विद्यार्थी

त्रिभुवन विश्वविद्यालयअन्तर्गत ‘सामाजिक कार्य’ स्नातकोत्तर तह कार्यक्रम अन्तिम वर्षमा अध्ययन गर्दै रहेकी कटुवाल पाठ्यपुस्तकमा आफूले अध्ययन गरेको विषयलाई स्थलगत अध्ययनबाट अझ स्पष्ट हुन भ्रमणमा निस्किएको बताउँछिन् ।

उनको साथमा रहेकी काठमाडौंकी नम्रता मानन्धर पनि महिना दिनदेखि दुर्गम स्थानका सर्वसाधारणको दैनिकी नियाल्न हिँडेकी छन् । उनीहरूमात्र होइन उक्त विषयका धेरै विद्यार्थी गाउँबस्तीको खबर बुझ्न निस्केका छन् । पाठ्यपुस्तकका सैद्धान्तिक विषयवस्तुमा मात्र सीमित हुन नहुने उनीहरूको धारणा छ । अझ सामाजिक कार्य विषयको अनिवार्य रूपमा चौथो सेमिस्टरमा ग्रामीण क्षेत्रका विभिन्न विषयवस्तुबारे स्थलगत अध्ययन गर्नुपर्ने भएपछि सबै विद्यार्थी गाउँघरको हाल बुझ्न निस्किएको अर्की सहभागी प्रतीक्षा खकुरेलले बताइन् ।

‘हामी स्थलगत रूपमा गाउँघर पुगेर वस्तुस्थिति बुझ्दा निकै उत्साही भएका छौं,’ उनले भनिन्, ‘सहर बजारमा मात्र सीमित भएर हामी हाम्रो विषयको उद्देश्य प्राप्ति नगर्ने भएकाले ग्रामीण बस्तीमा हिँडेका हौं ।’ उनीहरूले घरेलु हिंसा, प्रजनन स्वास्थ्य अवस्था, अभिभावक र सन्तानको अवस्था, महिला सचेतना, कृषि, संस्कृति, वैदेशिक रोजगार, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न विषयमा उनीहरूले अध्ययन गर्दै आएको बताए ।

पछिल्लो समय सामाजिक कार्य विषय अध्ययन गर्नेको चासो उल्लेख्य रूपमा बढेको उक्त विषय अध्यापन गर्दै आएका उपप्राध्यापक प्रतिक शर्मा लामिछाने बताउँछन् । विश्वविद्यालयले सम्बन्धन दिएको सामाजिक कार्य नीतिस्तरबाट पठनपाठन हुँदै आएको छ । भर्नाका लागि अन्तर्वार्ता र अन्य प्रयोगात्मक परीक्षाबाट ५० जनाको कोटामा चयन गरिने उपप्राध्यापक लामिछानेले बताए ।

हालसम्म चौथो ब्याच मात्र उत्पादन भएको छ । उक्त विषय पढ्ने चाहना राख्नेको संख्या अत्यन्त धेरै रहेको उनले जानकारी दिए । स्नातकोत्तरमा प्रत्येक वर्ष कम्तीमा तीन सयभन्दा बढी विद्यार्थी भर्नाका लागि आउने गरेका छन् । तर ५० जनाको कोटामा प्रतिस्पर्धाबाट चयन गरिने भएपछि अन्यको उक्त विषय पढ्ने चाहना पूरा हुन सकेको छैन ।

‘स्वदेश र विदेशमा सामाजिक कार्य विषयको माग बढ्दै गएको छ’, लामिछानेले भने, ‘सीमित कोटा भएकाले पढ्ने चाहना भएका सबैको इच्छा पूरा गर्न सकेको छैन ।’ माग तीव्र भएकाले थप कोटा विस्तार गर्न जरुरी रहेको उनको तर्क छ ।

प्रकाशित : भाद्र ५, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?