१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अंग्रेजी पढ्न सरकारी विद्यालय

‘वाह्य प्रचारप्रसारभन्दा पढाइ र आधुनिक प्रविधियुक्त कक्षामा बढी ध्यान दिन्छौं’
जितेन्द्र साह

विराटनगर — अंग्रेजी भाषामा कमजोर होलान् भन्ने चिन्ताले बाआमा छोराछोरीलाई महँगा विद्यालयमा हाल्छन् तर महानगर विराटनगरमा भने यसको ठीक उल्टो छ । खुला वातावरण र अंग्रेजी विषयमै तालिम प्राप्त उत्कृष्ट विषय शिक्षकका कारणले यहाँ बालबालिका र अभिभावकले सामुदायिक विद्यालय नै रोज्छन् ।

अंग्रेजी पढ्न सरकारी विद्यालय

उल्लेखनीय के छ भने यहाँ माध्यमिक तहका अधिकांश सरकारी विद्यालयमा अंग्रेजी र अन्य मुख्य विषय पढाउने शिक्षकमा स्नातकभन्दा स्नातकोत्तर उत्तीर्ण बढी छन् । दलको झन्डा बोकेर गरिने शैक्षिक राजनीतिभन्दा उनीहरूले बालबालिकाको पढाइलाई बढी महत्त्व दिएका छन् ।


यिनै दक्ष गुरुले दिएको शिक्षा र मिहिनेतको भरमा विद्यार्थीहरूले एसईईमा नेपालीसँगै अंग्रेजीमा ल्याएको ग्रेड पनि स्थानीय मंहँगा निजी विद्यालयभन्दा कम छैन । नागरिक समाज एवं अभिभावकबाट निरन्तर प्राप्त हुने भौतिक, प्राविधिक र आर्थिक सहयोगले यहाँका सामुदायिक विद्यालयहरूले उत्कृष्ट शिक्षा दिइरहेका छन् । वर्षेनी सरकारी विद्यालयहरूले भर्नाका लागि लिने प्रवेश परीक्षामा समेत निर्धारित सिटभन्दा दोब्बर/तेब्बर संख्यामा बालबालिका सहभागी हुन्छन् ।


सरकारी विद्यालयबाट गुणस्तरीय शिक्षा पाएपछि विद्यार्थी अभिभावक बरोबरी मख्ख छन् । ‘सुरुदेखि सरकारी विद्यालयमा पढे पनि माध्यमिक शिक्षा परीक्षा, एसईईमा अंग्रेजीमा पनि ए ल्याएको छु,’ १७ वर्षीय मधुरमण ढुंगानाले भने ।


विराटनगर–१२, सगरमाथा टोलका उनी स्थानीय सत्यनारायण माविबाट विशिष्ट जीपीए अंक ल्याइ एसईई उत्तीर्ण गरेका हुन् । ढुंगाना उक्त विद्यालयमै विज्ञान संकायमा ११ कक्षामा पढदै छन् । ‘अंग्रेजी मात्र होइन यहाँ भौतिक, रसायन र गणित विषयमा राम्रो पढाइ हुन्छ,’ ढुंंगानाले भने, ‘प्रायोगिक पक्षमा निकै ध्यान दिइन्छ, त्यही भएर अन्य निजी कलेजमा नगइ यही पढिरहेको छु ।’


स्थानीय महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा गणित विषयका प्राध्यापक जितेन्द्र देवका छोराछोरी उक्त सामुदायिक विद्यालयमै पढिरहेका छन् । देवको छोरी रिकिताले यहीबाट ३.८ विशिष्ट जीपीए ल्याई उत्तीर्ण गरेकी हुन् । उनी यही विज्ञान संकायमा अध्ययनरत छिन् । भाइ ऋषभ यही कक्षा–१० मा पढ्दै छन् ।


‘हामी नबुझी सरकारी भन्ने बित्तिकै नाक खुम्च्याउँछौं तर यो विद्यालयमा सबथोक बोर्डिङ सरह छ,’ देवले भने । विपन्न एवं सम्पन्न विभिन्न पृष्ठभूमिका विद्यार्थीसँग प्रतिस्पर्धात्मक वातावरणमा पढ्न पाउँदा छोराछोरी त अंग्रेजी, विज्ञान र गणितमा झनै जान्ने भएको उनले बताए । देवका छोरा पनि विद्यालयमा १० उत्कृष्ट विद्यार्थीमा पर्छन् ।


स्वयं पनि झन्डै एक दसकदेखि गणित पढाइरहेका देवले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने कारण झनै रोचक छ । एक निजी विद्यालयबाट एसईई उत्तीर्ण जेठी छोरी रियाले नै बाँकी भाइबहिनीलाई सरकारीमा पढाउन सल्लाह दिएका हुन् । एमबीबीएस लगायतका विभिन्न खुला कोटा परीक्षामा बोर्डिङबाट पास गरेकाको तुलनामा सरकारीमा पढेकाले नाम निकाल्ने गरेको छोरीले अनुभव सुनाएको उनले बताए । उनी अहिले काठमाडौंमा आँखा रोगसम्बन्धी विषयमा दोस्रो वर्षमा अध्ययनरत छिन् ।


सत्यनारायण माविका ३५ शिक्षकमध्ये अंग्रेजीका १० शिक्षकमा ८ जनाले स्नातकोत्तर र दुई जनाले स्नातक उत्तीर्ण छन् । नेपालीमा ३ जना र विज्ञान तथा गणितमा ८ जना स्नातकोत्तर तथा ४ स्नातक छन् ।


उक्त विद्यालयबाट यसपाली एसईई उत्तीर्ण १ सय ५५ (सतप्रतिशत) मध्ये अंग्रेजीमा ५ जनाले विशिष्ट जीपीए (ए प्लस) र २२ जनाले उत्कृष्ट जीपीए (ए) ल्याएका छन् । नेपालीमा ८ जनाले उत्कृष्ट जीपीए (ए) प्राप्त गरेका छन् । दुवै विषयमा बी प्लस र बी ल्याउने धेरै छन् । सहभागी परीक्षार्थीमध्ये २५ जनाले विशिष्ट र ७२ जनाले उत्कृष्ट जीपीए ल्याई उत्तीर्ण गरेका छन् । बाँकी पनि उत्तीर्ण छन् ।


कक्षा–६ देखि १२ सम्म पढाइ हुने उक्त विद्यालयमा १ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् । सरकारीमा पढ्नेको नेपाली र अन्य विषयसँगै अंग्रेजी पनि राम्रो हुने गरेको परिणामले देखाइ सकेको उक्त विद्यालयका प्राचार्य धर्मानन्द खरेलले बताए । २०४३ देखि शिक्षण पेसामा लागेका उनी गणित विषयमा एम र पाठ्यक्रम विषयमा एमएड गरेका छन् । ठ्याक्कै एक दसकदेखि खरेल प्राचार्यको रूपमा कार्यरत छन् । उनी कार्यकक्षभन्दा बढी कक्षाकोठामा पढाइरहेका भेटिन्छन् । यहाँ शिक्षकबीच नै को समयमै विद्यालय पुग्ने र कसले राम्रो पढाउने प्रतिस्पर्धा हुने गरेको खरेलले बताए ।


‘वाह्य प्रचारप्रसारभन्दा पढाइ र आधुनिक प्रविधियुक्त कक्षामा बढी ध्यान दिन्छौं,’ उनले भने, ‘विज्ञापनमा खर्चिने रकमले बालबालिकाका लागि आवश्यक सामग्री किन्छौं ।’ उक्त विद्यालयमा एघारबाह्रमा इलेक्ट्रिकल इन्जिनियरिङ, कानुन, शिक्षा, व्यवस्थापन र पत्रकारिताको समेत पठनपाठन हुन्छ ।


सरकारीका अधिकांश शिक्षक प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण तालिम प्राप्त बालमनोविज्ञान बुझेको हुने गरेको स्थानीय पोखरिया माध्यमिक विद्यालयका प्राचार्य खेमराज भट्टराईले बताए ।


उक्त विद्यालयमा अंग्रेजी पढाउने ६ जनाले स्नातकोत्तर र एक स्नातक उत्तीर्ण छन् । उनी २०६७ देखि प्रधानाध्यापक पदमा कार्यरत छन् ।


यसपालीको एसईईमा उक्त विद्यालयबाट उत्तीर्णमध्ये अंग्रेजीमा २२ जनाले विशिष्ट जीपीए अंक (ए प्लस) र ८५ जनाले उत्कृष्ट जीपीए (ए) ल्याएका छन् । नेपालीमा ६ जनाले विशिष्ट जीपीए (ए प्लस) र ४४ जनाले उत्कृष्ट जीपीए (ए) ल्याएका छन् । अनिवार्य गणितमा ३४ जनाले विशिष्ट जीपीए (ए प्लस) र ४६ जनाले उत्कृष्ट जीपीए (ए) ल्याएका छन् । विज्ञानमा १४ जनाले विशिष्ट जीपीए (ए प्लस) र ७६ जनाले उत्कृष्ट जीपीए (ए) ल्याए । ऐच्छिक गणितमा ३० जनाले विशिष्ट जीपीए अंक (ए प्लस) र ४१ जनाले उत्कृष्ट जीपीए (ए) प्राप्त गरे ।


एसईईमा यो विद्यालयका २ सय ५४ छात्रछात्रामा ७२ जनाले विशिष्ट जीपीए तथा १ सय ३० जनाले उत्कृष्ट जीपीए र बाँकीले पनि राम्रै जीपीए ल्याइ पास गरे । ‘गुरुगुरुमाको मिहिनेतको सकारात्मक असर विद्यार्थीमा पर्छ,’ उक्त विद्यालयका सामाजिक अध्ययन विषयका शिक्षक महेश गौतमले भने, ‘इमानदार भएर पढाएपछि उनीहरूले पनि त्यसै गर्छन् ।’ आफूहरूले व्यवहारमै यसलाई अपनाएको हुनाले एसईई परिणामकै आधारमा समेत मुलुककै उत्कृष्ट विद्यालयमा पर्ने गरेको उनले बताए । यो विद्यालयमा प्राविधिक विषयमा पनि एघारबाह्रसम्म पढाइ हुन्छ ।


एसईईमा शतप्रतिशत उत्तीर्ण गराउन सफल मुलुककै पुरानो विद्यालय मध्येको आदर्श माविमा १ हजार ४ सय ८४ विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयका ४० शिक्षकमध्ये ७ अंग्रेजीमा स्नातकोत्तर छन् । एक शिक्षकले गणितमा विद्यावारिधि र १६ जना अन्य विविध विषयमा स्नातकोत्तर छन् । उक्त विद्यालयका प्राचार्य तुलसीप्रसाद दुलालले अंग्रेजीमै त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर (एमए) द्वितीय श्रेणी र पूर्वाञ्चल विश्वविद्यालयबाट एमएड विशिष्ट श्रेणीमा उत्तीर्ण गरेका छन् ।


‘हाम्रो विद्यालयले मोरङमा अंग्रेजी विषयको प्रशिक्षण तालिमको नेतृत्व गर्छ, त्यही भएर यहाँ पढ्ने विद्यार्थी अंग्रेजीमा कमजोर हुने सवालै छैन,’ उनले भने, ‘अमेरिकी र बेलायती दूतावासको अंग्रेजी प्रशिक्षणमा समेत निजीभन्दा हाम्रा विद्यार्थी अगाडि छन् ।’ स्थानीय सामुदायिक विद्यालय सरस्वती माविबाट एसईईमा सहभागी ८४ मध्ये ७९ ले उत्तीर्ण गरे । ‘स्थानीय विद्यालयहरूसँगको प्रतिस्पर्धामा राम्रो परीक्षाफल ल्यायौं,’ उक्त विद्यालयका प्राचार्य योगेन्द्र कार्कीले भने, ‘बढाइचढाइ नगरी के भन्छु भन्ने हाम्राबाट उत्तीर्ण छात्रछात्राले रोजेको विषय पढ्न पाइरहेका छन् ।’


स्थानीय राधाकृष्ण माविका प्राचार्य डम्बरबहादुर कार्कीले शिक्षाको व्यापारीकरण एवं बजारीकरणले अन्यत्र बालबालिका र अभिभावक पीडित हुने गरेको बताए । ‘हाम्रोमा पढ्नेले यति र उति ल्याए भन्दै सर्वत्र विज्ञापन भइरहेको छ,’ उनले भने, ‘तर, चोरेर कि पढेर ? सारेरै ए प्लस ल्याउनेभन्दा पढेर ए मात्र ल्याउने
राम्रो नि ।’


उपलब्ध स्रोतसाधन तथा जनशक्तिको अधिकतम प्रयोग गरी सरकारी विद्यालयले समाजमा राम्रो र प्रभावकारी असर छाडिरहेको विराटनगरका शिक्षाविद् विष्णु लामिछानेले बताए । निजी विद्यालयको महँगा शुल्क तिर्न नसकेका अभिभावकबाट न्यून चन्दा सहयोग लिएर अंग्रेजी माध्यम समेत सञ्चालन गरी सामुदायिक विद्यालयहरू उदाहरणीय बनिरहेको उनले औंल्याए । लामिछानेका अनुसार महानगरपालिकाका ५५ सामुदायिक विद्यालयमा ७ मा माध्यमिक स्तरसम्मै अंग्रेजी माध्यममा पढाइ भइरहेको छ ।


यहाँका अधिकांश सरकारी विद्यालयमा महँगो र राम्रो भनिएका बोर्डिङभन्दा खुला वातावरण भएको उनले बताए । ‘औंलामा गन्न सकिने यहाँका निजी विद्यालयमा मात्र अभिभावकले तिर्ने शुल्क अनुरूपको वातावरण छ,’ लामिछानेले भने, ‘तर अधिकांश सरकारी विद्यालयको वातावरण बालमनोविज्ञानअनुरूप छ ।’


उनका अनुसार प्रशिक्षित शिक्षकले पढाउने हुनाले शिक्षाको गुणस्तर उत्कृष्ट हुनु स्वाभाविककै हो । सरकारी र गैरसरकारी निकायबाट उपलब्ध अवसरहरू सामुदायिकमा पढ्नेलाई नै हुने गरेकाले आकर्षण बढेको लामिछानेले बताए । अन्यत्रभन्दा यहाँको सरकारी विद्यालयमा भइरहेको गुणस्तरीय पठनपाठनले सामाजिक समानतामा ठूलो सहयोग पुर्‍याइरहेको समाजशास्त्री मुकेश सिंहले विश्लेषण गर्छन् । ‘सबैभन्दा ठूलो कुरा यहाँको सामुदायिक विद्यालयको स्तर वर्षेनी बढ्दो छ,’ उनले भने ।

प्रकाशित : भाद्र ६, २०७५ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?