२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आपराधिक घटना लगातार, कारबाही शून्य

दुई जनाको वीभत्स हत्या
विनोद भण्डारी

विराटनगर — सातायता महानगरमा शृंखलाबद्ध आपराधिक घटना भइरहेका छन् । प्रहरीले घटनामा संलग्नलाई नियन्त्रणमा लिन सकेको छैन । महानगर र लेटाङ नगरमा गरी सातामा चारवटा आपराधिक घटना भए । दुई जनाको वीभत्स हत्या भयो ।

आपराधिक घटना लगातार, कारबाही शून्य

महानगर प्रमुख भीमप्रसाद पराजुलीको कार्यकक्ष अगाडि शक्तिशाली बम विष्फोट भयो । लगत्तै लेटाङको श्री माध्यमिक विद्यालयको खानी पानीको ट्यांकीमा विष हाल्दा २७ बालबालिका बिरामी परे । गत शुक्रबार ग्रामथान ३ सिद्राहामा विराटनगर १३ की २२ वर्षीया शिखा घिमिरेको हत्या उनकै प्रेमी दिनेश भट्टराईले गरे ।


त्यसलगत्तै शनिबार राति महानगर २ भृकुटी चौकको न्यु विक्की हार्डवेयर पसलमा सुरक्षार्थ खटिएका टंकप्रसाद भट्टराईको वीभत्स हत्या भयो ।


यी घटनामध्ये प्रहरीले एउटा हत्यामा संलग्नलाई नियन्त्रणमा लिएको छ । बाँकी तीनवटा घटनामा संलग्नको नजिक प्रहरी पुग्न सकेको छैन । शिखा हत्यामा संलग्न दिनेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका प्रबक्ता डिएसपी निशान थापाले भने ‘बाँकी तिनवटै घटनाका वारेमा सोधपुछ र अनुसन्धान भइरहेको छ ।’


विद्यालयको खानेपानी ट्याङकीमा विष हालेको घटनाको छानबिन गर्न डीएसपी थापाकै संयोजकत्वमा समिति गठन भएको थियो । समितिले घटनामा संलग्न कसैलाई पनि नियन्त्रणमा लिन सकेको छैन । छानबिन र सोधपुछ कार्य निरन्तर भइरहेको थापाले बताए । महानगरको कार्यालयमा बम विष्फोट भएको साता वित्यो । तर प्रहरीले विष्फोट कसले गरेको भन्ने पत्ता लगाउन सकेको छैन । घटनालगत्तै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको थियो । तर घटनामा उनीहरूको संलग्नता नरहेको प्रहरीले निष्कर्ष निकाल्यो ।


यो घटनाको पनि अनुसन्धान भइरहेको प्रवक्ता थापाको भनाइ छ । महानगर कार्यालयमा जडान गरिएका सिसी टिभी फुटेजमा विष्फोटको घटना रेकर्ड नभएका कारण अपराधीसम्म पुग्न नसकिएको प्रहरीको भनाइ छ । त्यस्तै शनिबार राती न्यु विक्की हार्डवेयरका सुरक्षा गार्ड भट्टराईको वीभत्स हत्या प्रकरणका दोषीलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।


हार्डवेयरका मालिक निरवकुमार अग्रवालसहित शंकास्पद केहीलाई नियन्त्रणमा लिएर सोधपुछ र अनुसन्धान प्रहरीले गरे पनि निचोडमा पुग्न नसकेको प्रवक्ता थापाको भनाइ छ । उनका अनुसार हार्डवेयरमा रहेको सिसी टिभी फुटेजमा शनिबार राति नौ बजेसम्ममा केही मानिस हार्डवेयरमा छिर्दै गरेको देखिए पनि त्यसपछिको फुटेज रेकर्ड नभएकाले अनुसन्धानमा समस्या भएको हो । ‘आइतबार बिहान १० बजे घटना सार्वजनिक हुँदा सिसी टिभीको क्यामेरा फुटेको र विद्युत् लाइन विच्छेद गरिएको अवस्थामा थियो,’ थापाले भने, ‘सबै आपराधिक घटनामा संलग्न चाँडै प्रहरी नियन्त्रणमा पर्छन् तर तत्काल प्राविधिक समस्याका कारण प्रहरी अपराधीनजिक पुग्न नसकेको हो ।’


प्रकाशित : भाद्र ६, २०७५ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?