१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तुम्लिङटारमा अरुणको पानी

दीपेन्द्र शाक्य

संखुवासभा — बाह्रै महिना सुख्खा हुने तुम्लिङटारमा अरुणको पानी ल्याइएको छ । खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा सिँचाइका लागि अरुणको पानी ल्याइएको हो । उपभोक्ताले पानी ल्याउन अरुण नदीमा इनार निर्माण गरिसकेका छन् ।

तुम्लिङटारमा अरुणको पानी

तुम्लिङटारको माथिल्लो क्षेत्रमा ट्याङकी निर्माण गरिसकेको उपभोक्ता समितिका अध्यक्ष डेगराज बस्नेतले बताए । उनका अनुसार पाइप जडान, पम्प सञ्चालन गर्न सोलार जडानको काम सकिएको छ । यो प्रणालीमार्फत ट्याङकीमा पानी समेत आइसकेको छ ।


अरुण नदीबाट तुम्लिङटारस्थित पानी ट्याङकीसम्म ९ सय ५० मिटर पाइप जडान गरेर पानी ल्याइएको छ । उनले भने, ‘ट्याङकीमा पानी आपूर्ति भइसकेको छ, दैनिक ५० हजार लिटर पानी सोलारबाट तान्ने गरिएको छ ।’ घाम लाग्दा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ९० एमएमको पाइपमा पानी आउछ ।


ट्याङ्मा १ लाख ५० हजार लिटर पानी अटाउँछ । अरुण नदीबाट प्रतिसेकेण्ड ५ लिटर पानी आउने उनले बताए । उनका अनुसार अब केही प्राविधिक त्रुटिको अध्ययन र केही कृषकको बारीमा धारा जोड्न मात्र बाँकी रहेको छ ।


अरुण किनारमा विद्युत् नपुगेका कारण २० किलोवाटको सौर्य ऊर्जा जडान गरेका छांै, उनले भने, ‘घाम लाग्दा पानी तान्ने पम्पबाट ९ सय ५० मिटर माथि पानी तानिन्छ ।’ सामान्य प्रकाशबाट पनि बढी उर्जा निकाल्ने ‘भेरिएबल फ्रिक्विन्सी ड्राइभ’ प्रविधि जडान गरिएकोले थोरै घाम लाग्दा पनि सौर्य विद्युत् प्रणालीले राम्रो विद्युत् उत्पादन गरेको उनले बताए । पानी तान्न ६४ वटा सोलार प्यानल जडान गरिएको छ । इनार २१ फिट गहिरो छ । यसको लागत करिव १ करोड लाग्यो, उनले भने, ‘आयोजनाबाट दुई सय रोपनी जमिन बाह्रै महिना सिञ्चित हुनेछ ।’ दुई सय रोपनी क्षेत्रफल जमिनको लागि सय वटा धारा जडान गरिएको उनले बताए ।


७४ वटा धारा जडान भइसकेको छ । बाँकी २५ वटा धारा जोड्ने प्रक्रियामा छन् । प्रत्येक धारामा ‘फिर्के’ को प्रयोग गरी जमिन सिञ्चित गर्ने व्यवस्था गरिएको छ । हिउँद र बर्खा दुबै सिजनमा सुख्खा हुँदा खोतीयोग्य जमिन बाँझिन थालेपछि यो बिकल्प अपनाइएको हो । आकासे पानीका भरमा पनि खेती गर्न नसकिएपछि कृषक खेत बाँझो राख्न बाध्य भएका थिए ।


यो पानीको भरपुर सदुपयोग गरेर तुम्लिङटारमा बाह्रै महिना खेती गर्ने तयारी हामीले गरेका छौं, उनले भने, ‘सिँचाइका लागि ल्याइएको पानी घरयासी प्रयोजनमा प्रयोग गर्न पाइने छैन ।’ सोलार सिस्टमले काम नगरे बिजुली जडान गरेर पानी तान्ने उनले बताए । अहिले परीक्षणमा छौं, भने जति पानी आइरहेको छ, हिउँदका बेला घाम नलागे अर्को विकल्प अपनाउने छौं, उनले भने, ‘त्यो बेला बिजुली लग्छौं र पानी तान्छौं ।’ सिँचाइको व्यवस्थापछि तुम्लिङटार क्षेत्रमा व्यावसायिक तरकारी खेती र माछा पालन गर्ने तयारी कृषकले गरेका छन् । हिउँद महिनामा सुख्खा रहने तुम्लिङटार क्षेत्रमा बाह्रै महिना सिँचाइको व्यवस्था भएपछि स्थानीय कृषक उत्साहित बनेका छन् ।

प्रकाशित : भाद्र ६, २०७५ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?