१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

मेची पहाडमा २७ मोबाइल टावर थपिँदै

इलाम — विकट पहाडी क्षेत्रमा सञ्चारको पहुँच नपुगेको गुनासो आइरहेका बेला मेचीका ३ पहाडी जिल्लामा २७ वटा नयाँ मोबाइल टावर थपिने भएका छन् । नेपाल टेलिकमले ३ जिल्लाका अत्यावश्यक स्थानमा एकै पटक यति धेरै टावार बनाउने पक्रिया सुरु गरेको हो ।

मेची पहाडमा २७ मोबाइल टावर थपिँदै

टावर निर्माणका लागि टेन्डरसमेत भइसकेको छ । ३ कम्पनीले यी टावर निर्माण गर्ने छन् ।


अहिले इलाममा ३१, पाँचथरमा ११ र ताप्लेजुङमा पनि ११ वटा टावरले सेवा दिइरहेका छन् । ‘केही टावर सञ्चालनको तयारीमा छन् भने केही निर्माण सुरु हुने अवस्थामा छन्,’ टेलिकम इलामका प्रमुख पंकज शाहले भने, ‘सवै टावर सञ्चालनमा आएपछि नेटवर्क नआउने गुनासो कम हुनेछ ।’ टावर जडान भइसकेपछि अत्याधुनिक इन्टरनेट प्रणाली जडान हुने उनले जानकारी दिए ।


केही क्षेत्रमा थ्रिजी र केहीमा टुजीको नयाँ प्रविधि जडान हुनेछ । जसका कारण सेवाग्राहीले अहिलेभन्दा राम्रो सेवा पाउने टेलिकमको भनाइ छ । अझै पनि आवश्यक रहेका सवै तिर भने टावर निर्माण नहुने भएका छन् ।


एकैपटक यति धेरै टावर बन्नु सुखद रहेको बताउँदै चाँडै आवश्यक सवै ठाउँमा सेवा प्रभाव हुने शाहको भनाइ छ । इलामको दानाबारी, गजुरमुखी, गोर्खे, जस्विरे, जितपुर, फाकफोक, पुवामझुवा, शान्तिडाँडा, सोयाक, र इलाम बजार क्षेत्रमा नयाँ टावर बन्ने छन् । यसमध्ये जितपुर र शान्तिडाँडाको सञ्चालनको तयारीमा छन् । यस्तै पाँचथरको फिदिममा २ वटा टावर वन्ने छन् ।


पाँचथरको हाङवुङ, जोरपाखरी, लुम्फावुङ, लुङरुप्पा, मौवा, प्राङवुङ, सराङडाँडा र आकाशेडाँडामा टावर बन्नेछन् । ताप्लेजुङको ढुङ्गेसाँघु, लिङखिम, महेले, निगरादिन, सावा, घुन्सा र तिरिङगेनमा टावर निर्माण हुने पक्का भएको टेलिकम इलामले जनाएको छ ।


कतिपय विकट स्थानमा सामग्री पुर्‍याउन चुनौती देखिएको छ । यातायातको सहज पहुँच भएका स्थानमा काममा खासै कठिनाइ नभए पनि मोटर सडक नपुगेको स्थानमा भने कठिन रहेको टलिकमको भनाइ छ ।


ताप्लेजुङको ओलाङचुङगोलामा भने केन्द्रबाट योजना परे पनि टावर निर्माण नहुने भएको छ । आसपास अरू टावर नभएकाले नेटवर्कका कारण त्यहाँ निर्माण नहुने भएको हो । तिब्बत सीमा नजिक रहेको यस क्षेत्रमा सेवा विस्तार गर्नुभन्दा पहिला क्रमश: अरू टावर निर्माण गरिनुपर्ने प्राविधिकको भनाइ छ ।


टावर भएका कतिपय क्षेत्रमा नेटवर्क नआउने, सौर्य ऊर्जाबाट सञ्चालन भएका टावरमा हुस्सु र चिसोका कारण व्याट्री राम्रो जार्ज नहुँदा नियमित सेवा प्रभाव नहुने जस्ता समस्या देखिएका छन् । नयाँ बन्ने टावरमा पनि केही विद्युतबाट र धेरै सौर्य ऊर्जाको प्रयोगबाट नै सञ्चालन हुनेछन् । यी जिल्लामा एनसिएलले पनि सेवा दिँदै आएको छ ।

प्रकाशित : भाद्र ६, २०७५ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?