१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चिहानघारीमा वडा र प्रहरी कार्यालय

प्रदीप मेन्याङ्बो

सुनसरी — कोठा भाडा महँगो । व्यस्त चोक बजारमा सार्वजनिक जग्गा अभाव । यस्तो अवस्थामा धरान उपमहानगरपालिका–१७ को वडा समिति कार्यालयको आर्थिक भार कम गर्न चिहानघारी छनौट गरिएको छ ।

चिहानघारीमा वडा र प्रहरी कार्यालय

उदय सामुदायिक वन उपभोक्ता समिति मातहत रहेको चिहानघारी जग्गामा वडा समितिको कार्यालय र प्रहरी चौकीको स्थापना गरिएको छन् भन्दा अनौठो नमाने हुन्छ । भवन निर्माण गर्नका लागि अलग्गै जग्गा अभाव भएपछि स्थानीय बासिन्दा र वन उपभोक्ता समितिको सहमतिमा चिहानका बीचमा वडा कार्यालय र प्रहरी चौकी स्थापना गरेको वडाध्यक्ष मनोज भट्टराईले बताए ।


उनले भने, ‘धरानमा जग्गा महंँगो छ । रेल्वेचोकका घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्दा आर्थिक भार थेग्न नसकिने भएकाले चिहानका बीचमा कार्यालय स्थापना गरेको हो ।’


उनका अनुसार स्थानीय तहको निर्वाचनपछि सामुदायिक वन उपभोक्ता समितिले उपलव्ध जग्गामा स्थानीय समुदायको सहयोगमा भवन निर्माण गरिएको हो । वडा कार्यालयमा काम गर्ने कर्मचारी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवाग्राहीको काम गर्दै बस्छन् । तर प्रहरी चौकीका प्रहरीहरू भने चिहानै चिहानमाथि निर्मित भवनमै बस्छन् ।


वडाध्यक्ष भट्टराईले ठट्टा गर्दै भने, हामी आफ्ना पुर्खाहरूसँगै बसेर काम गर्न पाउँदा गौरव महसुस गर्छौं । कार्यालय सँगैका चिहानहरू यसै वडाबासीका हुन् । मरेका मान्छेसँग किन डराउने ? डर त जिउँदा मान्छेसँग लाग्छ । जिउँदा मान्छेले त मौका पाउना साथ नउठ्ने गरी थचार्छन् ।’


धरानका २० वटा वडा कार्यालयहरूमध्ये अधिकांश मुख्य चोकमा छन् । प्राय: सवै वडा कार्यालयहरू स्थानीय समुदायले निर्माण गरेका छन् । धरान–१७ का पूर्ववडाध्यक्ष समेत रहेका नगर कार्यपालिका सदस्य सुवास राईले भने, ‘मेरो पालामा कोठा भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिएको थियो । स्थानीय तहको निर्वाचनपछि चिहानघारीमा भवन निर्माण गरियो तर त्यो पनि साँघुरो हुन थालेको छ । सवै कर्मचारीलाई अटाउन सकिएको छैन । सँगैको अर्को कोठामा प्रहरी चौकी छ । प्रहरीहरू पनि साँघुरो कोठामा छन् ।’


उनले यसै वर्ष उक्त वडा कार्यालयको भवन प्रहरी चौकीलाई जिम्मा दिएर चिहानघारी नै भए पनि नजिकै रहेको खाली जग्गामा नयाँ वडा कार्यालय बनाउने योजना रहेको बताए । भएको चिहान नभत्काई भवन निर्माण गर्ने तयारी भइरहेको राईले बताए । उनले भने, ‘जहाँ जसरी सहज हुन्छ त्यही वडा कार्यालय सञ्चालन गरेर स्थानीय बासिन्दा र सेवाग्राहीलाई सेवा दिनु जनप्रतिनिधि र कर्मचारीको मुख्य उद्देश्य हो । चिहानघारी समस्या होइन ।’

प्रकाशित : भाद्र ६, २०७५ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?