कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कृषिउपज भण्डारणमा समस्या

इलाम — प्रशस्त कृषिजन्य उत्पादन हुने जिल्लाका व्यवस्थित भण्डारण नहुँदा किसान समस्यामा परेका छन् । भण्डार गरेर राख्ने व्यवस्था नहुँदा आफ्ना उत्पादन सस्तैमा बेच्नुपर्ने बाध्यतामा उनीहरू छन् ।

कृषिउपज भण्डारणमा समस्या

कृषिउपज भण्डारण गर्नका लागि सदरमुकाममा ८ वर्षअघि शीतभण्डार बनाइएको थियो । तर अझै प्रयोगमा आएको छैन । भारतीय दूतावासको सहयोगमा साढे चार करोडमा शीतभण्डार बनाइएको हो ।


लामो समयसम्म प्रयोगमा नआउँदा त्यसमा रहेका महँगा उपकरण बिग्रने अवस्थामा पुगेका छन् । नगरपालिकाले विभिन्न उपाय गर्दा पनि सञ्चालन गर्ने व्यक्ति नपाएको जनाएको छ ।


एकपल्टमा एकैखाले उत्पादन मात्र भण्डारण गर्न मिल्ने ‘सिंगल च्याम्बर’ को भएकाले पनि कोल्ड स्टोर सञ्चालनमा ल्याउन कठिनाइ भएको कतिपयको भनाइ छ । तर नगरपालिका त्यो मान्ने पक्षमा देखिँदैन । ‘कसैले चलाउने हिम्मतै गर्दैनन्,’ प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याङले भने, ‘पहिला चलाउनुपर्‍यो अनि थप व्यवस्थापनमा सघाउन सकिन्छ ।’


फरक तापक्रममा फरक खाले तरकारी र फलफूललगायत राख्न सक्ने गरी ‘मल्टिच्याम्बर’ बनाउनुपर्ने आवश्यकता रहेको धेरैको भनाई छ । २ हजार मेट्रिक टन क्षमता भएको शीतभण्डार सञ्चालनमा नआउँदा यहाँ उत्पादन हुने किवीसहितका फलफूल, सागसब्जीलगायतले उचित बजार पाउन सकेको छैन ।


नगरपालिकाले कर्मचारी बापत मासिक १० हजार भुक्तान गर्नुपर्छ । बिजुलीको विलवापत वार्षिक ६ लाख हाराहारी नगरपालिकाले तिर्छ । वार्षिकरूपमा कोल्डस्टोरलाई चुस्त राख्न १० लाखसमेत नियमति खर्च भइरहेको कार्यालयको भनाइ छ ।


कृषिसँग सम्वन्धित संस्था, सहकारी या व्यक्तिले पनि ठेक्का लिएर चलाए नोक्सान नहुने नगरपालिकाको भनाइ छ । ‘नगरपालिका मात्र नभएर अन्य सरोकारवाला निकायले पनि यसको सञ्चालनमा चासो दिनुपर्ने बेला भएको छ,’ सूचना अधिकृत राम शाहले भने, ‘कृषि क्षेत्रको प्रवद्र्धनमा काम गर्ने थुप्रै निकाय होलान उनीहरूले पनि चासो दिए यहाँका बासिन्दाले प्रत्यक्ष फाइदा पाउने थिए ।’


जिल्लामा अझै पनि सागसब्जी तथा फलफूल बेमौसममा बिक्री गर्न कृषकले सकेका छैनन् । स्कुस, काँक्रा, फर्सी, रायोजस्ता तत्काल बजार पुर्‍याउनुपर्ने तरकारीको उत्पादन जिल्लामा अत्यधिक छ ।


तर एकै सिजनमा उत्पादन हुने भएकाले राम्रो मूल्य लिएर बेच्न सक्दैनन् । कतिपय गाउँमा गाईवस्तुको खोलेका रूपमा प्रयोग भएको छ भने कतिपय स्थानमा फालाफालको अवस्थामा छ ।


किवी कृषकले पनि उत्तिकै झन्झट व्यहोर्ने गरेका छन् । कात्तिक मंसिरमा टिपिने किवी फल लामो समयसम्म घरमा राख्न मिल्दैन । कोल्डस्टोर नहुँदा उत्पादनकै समयमा कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ । ‘कोल्डस्टोर खोज्दै विराटनगरसम्म पुग्नुपर्छ,’ साँखेजुङका किवी कृषक गंगा विष्टले भने, ‘यहाँ सञ्चालन हुने भए कृषकले दोब्बर भन्दा धेरै आम्दानी गर्न सक्छन् ।’


यसअघि नुवाकोटमा शीतभण्डार सञ्चालन गर्दै आएका जनक रिजालले केही समय प्रयास गरे । तर उनले पनि सञ्चालन गर्न कठिन भएको भन्दै हात झिकेपछि अहिले फेरि अलपत्र अवस्थामा पुगेको हो ।

प्रकाशित : भाद्र ६, २०७५ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?