१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुक्खा क्षेत्रमा अरुणको पानी

दीपेन्द्र शाक्य

संखुवासभा — बाह्रै महिना सुक्खा हुने खाँदबारी–९ तुम्लिङटारमा अरुण नदीको पानी ल्याइएको छ । सौर्य ऊर्जा प्रयोग गरी नदीबाट दैनिक ५० हजार लिटर पानी तान्न थालिएको हो । पानी तान्न सामान्य प्रकाशबाट पनि बढी ऊर्जा निकाल्ने ‘भेरिएबल फ्रिक्वेन्सी ड्राइभ’ प्रविधि प्रयोग गरिएको छ ।

सुक्खा क्षेत्रमा अरुणको पानी

सिँचाइका लागि टारमा पानी उकाल्न नदीमा इनार बनाइएको छ । टारको माथिल्लो क्षेत्रमा १ लाख ५० हजार लिटर पानी अटाउने ट्यांकी निर्माण गरिएको छ । उपभोक्ता समिति अध्यक्ष डेगराज बस्नेतले ट्यांकीमा पानी पुगिसकेको बताए । ‘नदीबाट तुम्लिङटारस्थित पानी ट्यांकीसम्म ९ सय ५० मिटर पाइप जडान गरेर पानी ल्याइएको छ,’ उनले भने, ‘ट्यांकीमा पानी आपूर्ति भइसकेको छ ।’

दैनिक ५० हजार लिटर पानी सोलारबाट तान्ने गरिएको छ । घाम लाग्दा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ९० मिलिमिटरको पाइपमा पानी आउँछ । ट्यांकीमा १ लाख ५० हजार लिटर पानी अटाउँछ । अरुण नदीबाट प्रतिसेकेन्ड ५ लिटर पानी आउने अध्यक्ष बस्नेतले बताए । उनका अनुसार अब केही प्राविधिक अध्ययन र कृषकको बारीमा धारा जोड्न मात्र बाँकी छ । ‘अरुण किनारमा विद्युत ्नपुगेका कारण २० किलोवाटको सौर्य ऊर्जा जडान गरेका छौ,ं’ उनले भने । सामान्य प्रकाशबाट पनि बढी उर्जा निकाल्ने ‘भेरिएबल फ्रिक्वेन्सी ड्राइभ’ प्रविधि जडान गरिएकाले थोरै घाम लाग्दा पनि सौर्य प्रणालीले राम्रो विद्युत उत्पादन गरेको उनले बताए । पानी तान्न ६४ वटा सोलार प्यानल जडान गरिएको छ । इनार २१ फिट गहिरो छ ।

‘यसको लागत करिब १ करोड लाग्यो,’ उनले भने, ‘आयोजनाबाट दुई सय रोपनी जमिन बाह्रै महिना सिञ्चित हुनेछ । दुई सय रोपनी क्षेत्रफल जमिनका लागि सय वटा धारा जडान गरिएको उनले बताए । ‘७४ वटा धारा जडान भइसकेका छन्’ उनले भने, ‘बाँकी २५ वटा धारा जोड्ने प्रक्रियामा छौं । प्रत्येक धारामा ‘फिर्के’ को प्रयोग गरी जमिन सिञ्चित गर्ने व्यवस्था गरिएको छ ।’

हिँउद र बर्खा दुवै सिजनमा सुख्खा हुँदा खेतीयोग्य जमिन बाँँझिन थालेपछि यो विकल्प अपनाइएको हो । आकासे पानीको भरमा पनि खेती गर्न नसकिएपछि कृषक खेत बाँझो राख्न बाध्य थिए ।

प्रकाशित : भाद्र ७, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?