कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेकीको माग बढी

धनकुटा — धनकुटा नगरपालिका १ ओक्मालुङ्गकी शारदा मल्ल हिले बजारको पेटीमा बिक्री गर्न राखिएको काठको ठेकी नियालिरहेकी थिइन् । ‘काठको ठेकीमा दूध जमाएको दहीमही खानुको मजा नै अर्कै,’ उनले भनिन्, ‘प्लास्टिकका भाँडाले हैरान भाको थियो, अब मुक्ति पाइयो ।’

ठेकीको माग बढी

बिक्री बढेसँगै काठका भाँडा बनाउने काम व्यवसायी रूपमा अघि बढ्न थालेको छ । मोरङको पथरी शनिश्चरे ८ का कृष्ण विश्वकर्मा २२ वर्षदेखि ठेकी बनाउने कामलाई व्यावसायिक रूपमा अघि बढाउँदै छन् ।

पहिले पानी घट्टबाट ठेकी तथा काठका सामग्री कुँद्ने गरिए पनि पछिल्लो समय जेनेटरबाट सामग्री बनाउने गरिएको उनले बताए । दार र कटहरका रुख खोज्दै घुम्ती उद्योग सञ्चालन गर्दै आएको उनले बताए । ‘माग बढी छ तर ठेकी बनाउने उपयुक्त काठ पाउन कठिन छ,’ विश्वकर्माले भने, ‘गाई पालन व्यवसाय बढेसँगै ठेकीको माग बढेको छ ।’ उनले आफूसहित अन्य चार जनालाई रोजगारसमेत दिएका छन् ।

कुमार शंकरले साँगुरीगढी गाउँपालिकास्थित सिम्सुवामा ठेकी उत्पादन गर्ने उद्योग नै सञ्चालन गरेका छन् । उनले जिल्लाका अधिकांश साप्ताहिक हाटमा आफ्ना उत्पादन बिक्री गर्दै आएका छन् । विगतमा खुकुरी कारखाना सञ्चालन गर्दै आए शंकर पछिल्लो समय ठेकीको माग बढेको पाइएपछि यसतर्फ पनि जुटेको बताउँछन् । मनोज बराइली पनि यस पेसासँग आबद्ध छन् ।

यसै पेसाबाट खर्च कटाएर आफू र परिवारको गुजारा राम्रैसँग गरेको संलग्नको भनाइ छ । सहिदभूमि गाउँपालिका ६ का माधव राईले आफ्नो बारीमा रहेको वर्षांै पुरानो कटहरको रुख बिक्री गरेर ठेकी बनाएको बताए । उनले ठेकी बनाउने ‘चुँदारा’ लाई १० हजार रुपैयाँमा रुख बिक्री गरेको जानकारी दिए । बिक्री गरेको रुखबाट चुँदाराले ओखलीसमेत उपहार दिएको बताए । ठेकी खोज्दै बजार आएका छथरजोरपाटी गाउँपालिका १ का ७९ वर्षीय सर्वजित लिम्बु पनि काठको भाँडामा जमाएको दहीको स्वाद अन्यमा भन्दा स्वादिलो हुने बताउँछन् ।

विगतमा हाटबजारमा ठेकी किन्नेको उल्लेख्य भीड लाग्ने गरेको उनले सुनाए । तर केही समयदेखि बजारमा ठेकी पाउन छोडेपछि विकल्पमा प्लास्टिकका सामग्री प्रयोग गर्न बाध्य थियो । साना हर्पेको ५ सयदेखि एक हजार र ठूला ठेकीको बजार मूल्य सामान्यत: आकारअनुसार एक हजारदेखि ६ हजार रुपैयाँसम्म पर्ने गर्छ ।

प्रकाशित : भाद्र ७, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?