कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ढुवानीमा कर लगाएको भन्दै लोकमार्गको काम ठप्प

चन्द्र कार्की

तेह्रथुम — ढुवानीमा समेत कर लगाएको भन्दै निर्माण व्यवसायीले म्याङलुङ हलीमेला खण्डमा निर्माणाधीन मध्य पहाडी लोकमार्गको काम ठप्प पारेका छन् ।

ढुवानीमा कर लगाएको भन्दै लोकमार्गको काम ठप्प

सडक निर्माण सामग्री ढुवानी गर्दै आएका सवारीलाई म्याङलुङ नगरपालिकाले अत्याधिक कर लगाएको भन्दै व्यवसायीले राष्ट्रिय गौरवको आयोजनाको काम नै रोकेका हुन् ।


म्याङलुङ नगरपालिकाले गत भदौ १ गतेदेखि लागू हुने गरी करको नयाँ दर रेट निर्धारण गरेर ठेक्का लगाएको थियो । नगरभित्र उत्खनन्, भण्डारण, ओसार पोसार र स्टक राखेको ढुंगा, गिटी, बालुवामा सबिन निर्माण सेवाले कर उठाउदै आएको छ ।


खानीबाट उत्खनन् गरी भण्डारणमा रहेको सामाग्री ढुवानीमा कर लाग्ने पत्र पठाएपछि सडक निर्माण कम्पनीले सोमबारबाट काम रोकेको हो ।


करको दर घटाए मात्र काममा फर्किने उनीहरुको भनाइ छ । सडक निर्माण गर्दा ट्याक्टर र ट्रिपर समेत गरी दैनिक १ सय १५ ट्रिप सम्म ढुंगा, बालुवा र गिटी ढुवानी गर्नुपर्ने र प्रत्येक पटकको कर तिर्दा दैनिक १० हजार रुपैयाँ भन्दा बढी कर तिर्नु पर्ने अवस्था आएको सडक निर्माण कम्पनीका साईड इन्चार्ज उदय कार्कीले बताए । कम्पनीले दैनिक यति धेरै कर तिरेर सडक निर्माण गर्न नसक्ने भएकाले काम रोकेर बसेको उनले बताए ।


यो सडकको हिमदुङ एण्ड थोकर आश्रय जेबी निर्माण सेवाले २९ करोड रुपैयाँ लागतमा निर्माणको जिम्मा लिएको हो । ०७२ मसिंर २० गते ठेक्का सम्झौता गरेर काम थालेको कम्पनीले २०७६ असार ७ गते सम्ममा सम्पुर्ण काम सकेर मध्यपहाडी लोकमार्ग आयोजनालाई बुझाउनु पर्ने अन्तिम म्याद छ ।


काम सक्न १० महिना मात्र समय बाँकी हुदा करको दर एक्कासी बढेकाले कम्पनीलाई काम सकाउन समस्या भएको साईड ईन्चार्ज कार्कीले बताए ।


नगरपालिकाले कर उठाउन जिम्मा दिएको सविन निर्माण सेवाले सडक निर्माण स्थल साव्लामै गएर अब उप्रान्त नगरपालिकाले तोकेको कर दिन पत्र पठाएको थियो । सविन निर्माण सेवाले यसअघि सडक निर्माण स्थलमा स्टक गरी राखेको निर्माण सामग्री समेतमा प्रत्येक पटक कर मागेको सडक निर्माण कम्पनीले जनाएको छ ।


नगरपालिकाले ढुंगा, गिटी, बालुवा लगायतका निर्माण सामग्री एक स्थान बाट अर्को स्थानमा लैजादा प्रति ट्याक्टर ५० रुपैंया र प्रति ट्रिपर २ सय रुपैंया कर तोकेको छ ।


निर्माण व्यवसायीले भने नगरपालिकाभित्रै एक स्थान बाट अर्को स्थानमा समान ढुवानी गर्दा प्रत्येक पटक यति धेरै कर तिर्न नसक्ने बताएका छन् ।


नगरपालिकाले लगाएको करको दायरा महंगो भएको भन्दै निर्माण व्यवासायीले काम रोकेपछि यो सडक खण्डमा काम गरीरहेका ५५ जना कामदार समेत काम विहीन भएका छन् । करको दर घटाउन माग गर्दै निर्माण व्यवासीले मंगलबार मेयर सञ्जय तुम्बाहाम्फेलाई भेटेका छन् ।


नगरपालिकाले कर उठाउन ठेक्का दिएको कम्पनीका प्रतिनिधि र सडक निर्माण कम्पनीबीच आपसमा कुरा बुझाबुझ नहुँदा समस्या भएको र त्यो समस्या समाधान पनि भैसकेको मेयर तुम्बाहाम्फेले दाबी गरे ।


खानी बाट निकालेको ढुंगा, गिटी, बालुवा लगायतका निर्माण सामग्री ढुवानीमा एकोहोरो मात्र कर लाग्ने तर यस अघि स्टक गरी राखेको समान ढुवानीमा भने कर नलाग्ने उनले वताए । ‘सडक निर्माण व्यवसायी र कर उठाउने जिम्मेवारी पाएका व्यवसायीबीच सहमति गराएर पठाएको छु’ मेयर तुम्बाहाम्फेले भने ।


सडक निर्माण कम्पनीले म्याङलुङ हलीमेला सडक खण्डमा सडक ग्राभेल, कालोपत्रे, मोड सुधार, नाली तथा वाल निर्माण, कटीङ, ग्रेड सुधार लगयतको काम गरीरहेको छ । पाँचथरको चियो भञ्ज्याङ बाट शुरु मध्य पहाडी लोकमार्ग यही स्थान भएर गएको छ ।


नगरपालिकाले कर उठाउने जिम्मा दिएको सविन निर्माण सेवाका प्रोपाईटर पुर्ण लिम्वुले सडक निर्माण कम्पनी संग अहिले सम्म एक पैसा पनि कर नउठाएको बताए । आईन्दा कर उठाउने भनेर जानकारी पत्र मात्र दिएको उनको भनाई छ ।

प्रकाशित : भाद्र ७, २०७५ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?