कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खेतीबाटै करोडपति

तेह्रथुम / इलाम — उनी अग्ला र हट्टाकट्टा देखिन्छन् । शरीर कसिलो र बलियो छ । साथीभाइको लहलहैमा लागेर ओठमाथि भर्खर जुंगाको रेखी बस्न सुरु नगर्दै प्रहरी जवानमा भर्ना हुन गए । सँगै गएका साथी फेल भए उनी छानिए ।

खेतीबाटै करोडपति

सीमावर्ती जिल्ला धनकुटाको महालक्ष्मी नगरपालिका नगरपालिका १ घुमाउनेका ४३ वर्षीय पदमबहादुर पौडेल (गोविन्द) प्रहरी संगठनको जागिरमा त्यति लामो समय रमाउन सकेनन् । फौजी तालिम समाप्त गरेसँगै जागिर पनि बीचैमा छोडिदिए ।

‘खै किन हो प्रहरी संगठनभित्र मन रमाउन सकेन,’ घर नजिकै बारीमा तरकारी गोडमेल गर्दै गरेका पौडेलले भने, ‘नोकरी बीचैमा छोडेर खेतीपाती र पशुपालनमै रमाइरहेको छु ।’ निम्न आर्थिक अवस्थाका कारण अन्य पेसा व्यवसाय गर्न नसकेपछि उनी फेरि नेपाली सेनामा भर्ना हुन गए । छनौट भए । तर लामो समय टिक्न सकेनन् । घर फर्किर बावुआमाको खेती किसानी पेसालाई सघाउने उनले निर्णय लिए ।

जग्गा जमिन प्रशस्त थिएन । थोरै जमिनमा खेती गरेको तरकारीको आम्दानी पनि थोरै नै हुन्थ्यो । अंशमा जम्मा घुमाउने डाँडाको पाँच रोपनी भिरालो पाखो जमिन पर्‍यो । अक्षर मुस्किलले मात्र चिन्ने पौडैलले अरूको जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरे । दुधालु गाईपालनलाई पनि सँगै लगे । तरकारी खेती र गाईपालन सुरु गरेको दशक नपुग्दै उनी २ करोड ५० लाखभन्दा बढी सम्पत्तिको मालिक बनेका छन् ।

तरकारी खेतीका लागि ९० लाख पर्ने करिब ५० रोपनी जग्गा खरिद गरेका छन् । यो जमिनमा आलु, बन्दा, काउली, मुला, गाँजरलगायत तरकारी खेती र गाई दूध बेचेर वार्षिक ३५ लाख हाराहारी आम्दानी गर्छन् । सबै खर्च कटाएर २५ लाखसम्म वचत हुने गरेको उनले सुनाए ।

पौडेलको गोठमा १५ वटा गाई छन् । केही व्याउने छन् । ७ वटाले दूध दिन्छन् । दूध बिक्रीबाट मासिक १ लाख ५० हजार आम्दानी हुने गरेको उनले वताए । खर्च कटाएर महिनामा १ लाख बचत हुने गरेको छ । यसअघि गाईलाई खोलेकुँडो पकाउन उनले दाउरा प्रयोग गर्थे । पानी तताउन ५ लाख रुपैयाँ खर्च गरेर सोलार गिजर जडान गरेका छन् । चौबिसै घण्टा तातोपानी आउँछ ।

तरकारी खेतीका लागि प्रत्येक वर्ष उनी चितवनदेखि ९ सय बोरा कुखुराको सुली मल ल्याउँछन् । प्रतिबोरा ४ सय ५० रुपैयाँका दरले सुलीमल खरिदमा मात्र वार्षिक ४ लाख ५ हजारसम्म खर्च हुन्छ । सुलीमल खरिदमा हुने खर्च घटाउन पौडेलले ५ वर्षयता गाई फार्म सञ्चालनमा ल्याएका हुन् । दुई माउ दुहुना गाई खरिद गरेर गाईपालन सुरु गरेका उनको फार्ममा अहिले १५ माउ गाई छन् । केही व्याउने अवस्थाका छन् ।

धेरैजसो दूध उत्पादन दिने गाई फार्ममा छन् । सुरुमा राष्ट्रिय वाणिज्य बैंक धनकुटाबाट २० लाख कर्जा लिएर गाईपालन सुरु गरेका उनी अहिले दैनिक २ सय लिटरसम्म दूध बिक्री गर्छन् । गाई फार्ममा चार जनालाई रोजगारी दिएका छन् ।

तरकारी खेतीको क्षेत्रफल बढाउन गएको वर्ष २६ लाखमा १६ रोपनी जग्गा जोडेका छन् । तरकारी खेती र गाई पालनबाट अर्को वर्ष खर्च कटाएर वार्षिक ४० लाखसम्म आमदानी पुर्‍याउने योजना उनले सुनाए ।

विद्यालयको पढाइ बीचैमा छोडेर खाडी मुलुक मलेसिया गएको छोरो भीमबहादुरलाई पनि फर्काएर गाई पालन र तरकारी खेतीमै लगाएका छन् । नजिकैको वसन्तपुर बजार ओहोरदोहोर गर्नका लागि २ लाख ९५ हजारमा मोटरसाइकल खरिद गरेका छन् । दूध र तरकारी ढुवानीका लागि सानो पिकअप ट्रक खरिद गर्ने तयारीमा रहेको उनले सुनाए ।

गाईको दूध, बाछाबाच्छी र आलु तरकारी बिक्रीबाट आएको पैसाले झापामा ३० लाख पर्ने १ बिघा खेत जोडेको पौडेलले बताए । धरान बजारमा २५ लाख पर्ने घडेरी पनि जोडेका छन् । दुई वर्षभित्र गाईको संख्या बढाएर ५० माउ पुर्‍याउने योजना उनको छ ।

त्यसका लागि अहिलेदेखि नै व्यवस्थित गोठ निर्माण र आर्थिक स्रोतको जोहो गर्न लागेको पौडेलले बताए । फार्ममा ९० हजारदेखि २ लाखसम्म पर्ने गाई छन् । प्रत्येक गाईको १ लाख ४० हजार बराबरको बिमा गराएका छन् । तरकारी बारी जोतखन्न गर्न दुइटा हाते टयाक्टर जोडेका छन् । मेसिनबाट जोतखन गर्दा समय र पैसा समेत बचत हुने उनले बताए । बन्दाका बिरुवा रोप्न सहयोगी मेसिन खोजी गरेको तर नपाएको उनले बताए ।

उकास्यो सिङ्गो गाउँ
मेची राजमार्गको बघखोरबाट राँकेतर्फ हुइँदिकिँदा कठ्याङग्रिने चिसो भए पनि यहाँका बासिन्दा असिनपसिन भेटिन्छन् ।

हरेक डाँडा र चोकमा सेताम्ये मुलासँग उनीहरूको दैनिकी चलिरहेको हुन्छ । बाक्लै गरी मुला संकलन गरेर पखाल्दै र गाडीमा लोड गर्न व्यस्त उनीहरूमा हिउँद बर्खै चिसो हुने भए पनि कुनै अनुभूति देखिँदैन । यसको मुख्य कारण हो व्यावसायिक तरकारी खेती ।

१२ महिना नै चिसो हुने भएकाले आलु र मकै बाहेक उव्जनी नहँुदा सिङ्गो गाउँको आर्थिक अवस्था कमजोर थियो । नर्भावामुखी खेतीका कारण देउमाई नगरपालिका र पाँचथरको फाल्गनन्द गाउँपालिकाको लेकाली क्षेत्रमा वर्षभरि दु:ख गर्दा पनि केही महिनामात्र खान पुग्थ्यो । तर अहिले परिश्रम जाँगर भएकाहरूलाई यस क्षेत्रमा त्यही लेकाली बारी नै आम्दानीको गतिलो स्रोत भएको छ ।

व्यावसायिक तरकारी खेती थालिएपछि अधिकांश कृषकले लहलह तरकारी फलाएर झापाका बजारसम्म पुुर्‍याउने गरेका छन् । मुला, बन्दाकोपी, आलुलगायतका तरकारी बिक्री गरेर नै यस क्षेत्रका बासिन्दाले जिवनस्तर सुधारेका हुन् ।

मेची राजमार्ग आसपास पर्ने यस क्षेत्रका कृषकले यति बेला मुला उत्पादन गरेर बिक्री गरिरहेका छन् ।

हरेक घरमा मुलाको खेती गरिएकाले बेफुर्सदिला बनेका यहाँका बासिन्दा मुला उखेल्ने, संकलन केन्द्रसम्म पुर्‍याउने र गोडमेल गर्ने काममा व्यस्त छन् । ‘पहिला राजमार्ग आसपास केही होटल र सामान्य व्यवसाय गर्नुको विकल्प थिएन,’ देउराली बजारका मिङ्मा शेर्पाले भने, ‘अहिले भने राजमार्ग टाढाकाहरू मात्र हैन आसपासका पनि अरू काम छाडेर तरकारी व्यवसायमा लागेका छन् ।’

झापाको बिर्तामोडस्थित थोक बजारमा सीधा यहाँको मुलालगायतका तरकारी पुग्ने गर्छ । १० रुपैयाँदेखि २० रूपैयाँसम्ममा घरघरबाट मुला बिक्री हुने भएकाले कृषकले घरबारीभपरि मूलाको खेती गरेका छन् । मुलाको बिक्रीबाट नै राँके, धप्परटार, देउराली, देउमाईखोप, पाँचथरको निवुखोला, पौवा आसपास क्षेत्रमा सिजनमा १ लाखभन्दा धेरै आम्दानी गर्ने कृषक उल्लेख्य छन् ।

२ हजार २ सय मिटर आसपास उचाइ भएको यी स्थानमा अन्य बालीको तुलनामा सागसब्जीले उल्लेख्य फाइदा पुग्ने कृषकको भनाइ छ । ‘घरलौरी खेती हुने भएकाले व्यपारी घरघर पुग्छन्,’ धप्परका शक्ति राईले भन । असारदेखि मुला बिक्री गर्न थालेका कृषकले कात्तिकभरसम्म उत्पादन निकाल्ने गरेका छन् ।

यस क्षेत्रमा हिउँदयाममा पर्याप्त रायोको साग उत्पादन हुने गरेको छ । एउटै कृषकले एक सिजनमा ३ गाडीसम्म मुला उत्पादन गर्ने गर्छन् । ‘कम्ती खेती गर्नेले पनि एक सिजनमा १० क्विन्टलभन्दा धेरै उत्पादन गर्छन्,’ चमैताका होमबहादुर राईले भने, ‘मेहनतअनुसार आम्दानी उत्पादन हुने र बजारको चिन्ता नभएकाले पनि अधिकांश कृषकको आम्दानीको मुख्य आधार मुला खेती भएको हो ।’

प्रकाशित : भाद्र ८, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?