३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

वडाध्यक्ष मदिराले सधैं लठ्ठ !

बाहुनडाँगी (झापा) — झापाको मेचीनगर २ का वडाध्यक्ष तिलक न्यौपाने सधैं मदिराले लठ्ठ हुन्छन् । मदिरा पिएर कार्यालय पुग्छन् । मातेर कुर्सीमै निदाइदिन्छन् । उनको यो व्यवहारले सेवाग्राहीले सधैं सास्ती व्यहोर्नु परेको छ । काम प्रभावित भएको छ ।

वडाध्यक्ष मदिराले सधैं लठ्ठ !

एक साताअघि कार्यालय नजिकै उनी मदिराले लठठिएर सडकमै सुते । स्थानीयले उद्धार गरेर घरसम्म पुर्‍याए । उनी सडकमा सुतेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

‘वडाध्यक्षज्यूको रक्सी ख्वाइ डरलाग्दो छ’, कार्यालय परिसरमा भेटिएका स्थानीय सेवाग्राही कर्णबहादुर भण्डारीले भने, ‘मातेपछि खुट्टा टेक्नै सक्नु हुन्न ।’

कार्यालय स्रोतका अनुसार वडाध्यक्ष प्राय: मातेरै कार्यालय आउने भएकाले सेवाग्राहीका कतिपय महत्त्वपूर्ण कामहरू समेत प्रभावित हुने गरेका छन् । ‘वडाध्यक्ष कलम समात्नै नसक्ने अवस्थामा हुन्छन्,’ कार्यालय स्रोत भन्छ, ‘अनि सेवाग्राहीको काममा त असर हुनै नै भयो ।’

गत चैत दोस्रो सातातिर मातेर कार्यालयमा आएका उनलाई स्थानीय सेवाग्राहीले कार्यालयमै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । पटकपटक मदिरा पिएर कार्यालय जाने, कामचाहिँ नगर्ने आरोप उनीमाथि थियो । इलाका प्रहरी कार्यालय, काँकडभिट्टाको टोलीले मातेकै अवस्थामा कार्यालयबाट पक्राउ गरेको थियो । तर, त्यही साँझ वडा नम्बर ६ का वडाध्यक्ष ललित तामाङ, नेकपाका नेता देबकुमार राईलगायतको रोहवरमा ‘आइन्दा रक्सी पिएर कार्यालय नजाने’ सर्तमा छाडिएको थियो ।

तर, उनले मदिरा पिउने कुलत अझै परिवर्तन गर्न नसकेको स्थानीयवासीको भनाइ छ । वडाध्यक्षमा तत्कालीन एमाले उम्मेदवार भइ विजयी बनेका उनलाई नैतिक पतन हुने काम गरेको भन्दै पार्टीको नगर कमिटीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरी सकेको स्थानीय नेता भानु ढुंगेलले बताए । ढुंगेलले भने, ‘यति हुँदा पनि वडाध्यक्षले आफ्नो कुलत छाड्न नसक्नु दु:खद कुरा हो ।’ पटकपटक मदिरा पिएर कार्यालय आएको भन्दै कारबाहीको माग सहित स्थानीयले जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिएका छन् ।

नेकपाका स्थानीय नेता युवराज कट्टेलका अनुसार मदिरा नपिएका बेला उनी निक्कै शालिन र सरल स्वभावका छन् । कार्यालयमा काम पनि मन लगाएर गर्छन् । तर, जब मदिराको सुर चढ्न थाल्छ, जोसुकैलाई तथानाम गालीगलौज गर्न अग्रसर बन्छन् ।

‘उनको कमजोरी भनेकै मदिरा हो’, कट्टेलले भने, ‘नपिउन पार्टीले पनि पटकपटक आग्रह गरेकै हो तर, उनले कसैको कुरा सुन्दै सुन्दैनन् ।’

प्रकाशित : भाद्र ८, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?