कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धमाधम अलैंची टिप्दै

वार्षिक ५ सय ५८ मेट्रिक टन उत्पादन हुने अलैंचीबाट १ अर्ब ५ करोड आम्दानी हुन्छ

इलाम — इलाम नगरपालिका ८ सिङफ्रिङकी उमादेवी भण्डारी यति बेला घरमा भेटिन्नन् । उनलाई जरुरी कामले भेट्नु नै पर्‍यो भने अलैंची बगान पुग्नुपर्छ । घरबारीभरि अलैंचीले ढकाएकी भण्डारी केही दिनयता हातमा छुरी बोकेर दिनभर अलैंची टिप्न व्यस्त हुन्छिन् ।

धमाधम अलैंची टिप्दै

करिव ११ सय ५० मिटरको उचाइमा रहेको उनको बगान आसपास टिपाइ सुरु भएको छ । भदौको चर्को घामबीच पनि उनलाई बगानभरि झाँगिएको अलैंची र झाँगमा डोको घोप्ट्याएझैं फलेको अलैंचीले थकान महसुस छैन ।

छ वर्षअघि ढाड सोझो नपारी अलैंची रोप्न खटिएकी भण्डारी अघिल्लो वर्षदेखि नै उत्पादन सुरु भएपछि दंग छिन् । ‘आफैं कष्ट झेलेर रोपियो, दु:ख गरियो अहिले बसेर रमित हेर्ने रहर नै लाग्दैन,’ उनले भनिन्, ‘टिप्नमात्र होइन छोडाउन र सुकाउन पनि व्यस्त हुनुपर्छ ।’

पाको शरीर भए पनि छुरीले बोटबाट अलैंचीको बुङ्गा हटाउन तन्नेरी जस्तै हात चल्छन् उनका । ढाड दुख्ने भएकाले बगानमा नै बस्ने मुडा लगेर अलैंची टिप्ने उनी प्रचण्ड घाममा पनि पसिना पुछदै हात चलाउन छाडदिनन् ।

अलैंची बगानमा उनको दैनिकी बित्नुमा रहरसँगै बाध्यता पनि जोडिएको छ । गाउँभरि अलैंची टिप्न थालिएकाले मान्छे पाइँदैनन् । केही दिन ढिलो भयो भने जंगली जनावारले अलैंची नष्ट गर्छ । अनि हरेक घरमा परिवार नै अलैंची टिप्न, छोडाउन र सुकाउन व्यस्त हुन्छन् । ‘अलैंची रोप्नदेखि यो अवस्थासम्म पुर्‍याउन साह्रै धेरै मेहनत भएकाले पाकेको बाली नष्ट गर्न मन लाग्दैन,’ उनले थपिन्, ‘हात चलुन्जेल आफ्नो काम गरुँ भन्ने लागेर जाँगर चलाएकी हुँ ।’

उनै छिमकीको बगानमा भेटिए सन्दकपुर ५ जमुनाका सोमबहादुर मगर भेटिए । उनको बगानमा टिप्ने बेला नभएकाले रोजगारीका लागि उनी सिङफ्रिङ झरेका हुन् । उनीसँगै २ जना यस क्षेत्रमा अलैंची टिप्नकै लागि आएका हुन् ।

नजिकैका विजय कुमार सुवेदी अलैंची छोडाउन व्यस्त थिए । मकै र धान फल्ने बारी मासेर अलैंची लगाएका उनी आफ्नै मेहनतले अलैंची फलाउन पाएकोमा मख्ख थिए । श्रीमती सहित टिप्नेदेखि सुकाउनेसम्मका काम गर्न साता दिन अघिदेखि थालेका उनीहरूको धपेडी अझै केही दिन रहनेछ ।

अघिल्लो वर्ष साडे ३ मन सुख्खा अलैंची बनाएका उनले यो वर्ष करिब ५ मन हुन अपेक्षा गरेका छन् । रोगले १ पटक जिल्लाका अधिकांश बगान सखाप भएपछि पुन: नयाँ बगान लगाएर खेती थालिएको हो । पहिले खोलाखोल्सामा मात्र गरिने अलैंची खेची पछिल्लो समय उर्वर घर खेतमा मौलाएको छ । यति बेला जिल्लाका अहुल क्षेत्रमा अलैंची टिप्ने चटारो छ । यति बेला सुरु भएको अलैंची टिप्ने काम उचाइअनुसार जिल्लामा कात्तिकभर रहन्छ ।

दशक अघिसम्म अलैंचीको बिरुवासम्म नेदेखिएका क्षेत्रमा यति बेला अलैंची बगान टनाटन भएको छ । चार वर्षअघि प्रतिमन एक लाख २० हजारसम्म पुगेको अलैंचीको मूल्य भने घटेको छ । अहिले प्रतिमन २८ हजार रुपैयाँमा किनबेच भइरहेको छ । यति बेला १२ सय मिटर उचाइसम्मको क्षेत्रमा अलैंची टिपाइ भइरहेको हो ।

अधिकांश कृषकले मूल्य धेरै पाइने आशामा अलैंचीमा मेहनत गरेका छन् । रोगको प्रकोप पुन: बढे पनि कृषकले खेतीमा मन मारेका छैनन् । जिल्लामा १ हजार ६ सय हेक्टरमा अलैंची खेती गरिएको छ । वार्षिक ५ सय ५८ मेट्रिक टन उत्पादन हुने अलैंचीबाट १ अर्ब ५ करोड आम्दानी हुन्छ । यो वर्ष उत्पादन बढ्ने कृषकको भनाइ छ । मूलकभरमा वार्षिक ५ अर्ब रुपैयाँ अलैंचीले विदेशी मुद्रा आर्जन गर्ने तथ्यांक छ ।

प्रकाशित : भाद्र ८, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?