कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जडीबुटी चिनाउन कक्षा

सुनसरी — सप्तकोसी मध्यवर्ती सामुदायिक वनमा पाइने औषधिजन्य जडीबुटी र बोटबिरुवा संरक्षण गर्ने उद्देश्यले स्थानीय उपभोक्ता बोटबिरुवा चिन्ने प्रशिक्षण लिन थालेका छन् ।

जडीबुटी चिनाउन कक्षा

दिनभरि खेतबारीमा व्यस्त भएपछि बेलुकाको खाना खाएर सामुदायिक वन उपभोक्ता समितिले सञ्चालन गरेको बोटबिरुवा चिन्ने कक्षा लिनु उनीहरूको नियमित दैनिकी बनेको छ । उनीहरूलाई दुई सय बढी बोटबिरुवा चिन्ने वन हेरालुले रंग, पात, जरा, गन्धमार्फत कुन कस्तो बिरुवा हो भनेर चिनाउने गरेका छन् ।

निकट भविष्यमा सामुदायिक वनको एउटा प्लटलाई उपभोक्ताको जीविकोपार्जनका लागि व्यावसायिक जडीबुटी खेतीका रूपमा विकास गर्ने योजनाअनुसार बोटबिरुवा चिन्ने कक्षा लिन थालेका हुन् । सामुदायिक वन कोसी टप्पु बन्यजन्तु आरक्षणसँग जोडिएको छ । डेढ दशक घि स्थापना भएको सप्तकोसी मध्यवर्ती सामुदायिक वन ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । समूहमा १ सय ५३ जना उपभोक्ता रहेका छन् ।

बराहक्षेत्र नगरपालिका– ९ स्थित धरहडीबुटीजन्य बोटबिरुवालाई संरक्षण गर्न दैनिक बेलुका आठ बजेदेखि साढे नौ बजेसम्म सैद्धान्तिक कक्षा लिइरहेको सप्तकोसी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बुद्धीप्रसाद तिम्सिनाले बताए । उनले भने, ‘वनका उपभोक्ताहरूले वन संरक्षण त गरिरहेकै छन् । तर वनमा कैयौं जातका बोटबिरुवा छन् । तीमध्ये जडीबुटीका रूपमा प्रयोग हुने बिरुवा उपभोक्ताहरूले नचिन्दा र त्यसको महत्त्व थाहा नपाउँदा बहुमूल्य जडीबुटीका बिरुवाहरू घाँसका रूपमा काटिने र झारपातका रूपमा फाँडिने गरेका छन् । मानव शरीरका लागि चाहिने त्यस्ता बहुमूल्य जडीबुटीका बिरुवा जोगाउन दैनिक कक्षा सञ्चालन गरिएको हो ।’

वनका अध्यक्ष तिम्सिनाले जडीबुटीका बोटबिरुवाहरू उपभोक्ताहरूले चिन्न थालेपछि र महत्त्व बुझेपछि वनकै एउटा प्लटमा जडीबुटी खेती गर्ने लक्ष्य रहेको बताए । सामान्यतया उपभोक्ताले वनमा भएकामध्ये काठ र दाउराका लागि बढी प्रयोग हुने प्रमुख रूखहरू साल (सखुवा) सिसौ, सिरिस, कदम, अमला लगायतमात्र चिन्ने गरेका छन् ।

तर वनमा अनेक जातका बोटबिरुवा भए पनि नचिनेर फाँडिने र घाँसका रूपमा प्रयोग हुने गरेको छ । वन हेरालु टीकाराम राउतका अनुसार उक्ता सामुदयिक वनमा २ सय १ जात बोटबिरुवाहरू पहिचान भएका छन् । तीमध्ये १० प्रतिशत बोटबिरुवा औषधीय गुण भएका छन् । उपभोक्तालाई औषधीय गुण भएका बोटबिरुवा चिनाउन सहजीकरण गरिरहेका राउतले भने, ‘कक्षा सञ्चालन गरेको दुई सातामा उपभोक्ताहरूले करिव १ सय ५ जातका बोटबिरुवा चिन्न सक्ने भएका छन् ।

कक्षामा सहभागी सबै उपभोक्ताले चासो राखेका छन् । कुन बोटबिरुवा रोप्दा के फाइदा हुन्छ भन्ने ज्ञान पाएका छन् ।’ कक्षामा दैनिक सात जातका बोटबिरुवाहरू चिनाउँदै त्यसको उपयोगिता र महत्त्व बुझाउने गरेको राउतले बताए ।

यसअघि बोटबिरुवाबारे खासै जानकारी नपाएका स्थानीय ७० वर्षीय धर्मप्रसाद घिमिरेले यत्तिका वर्ष धेरै बहुमूल्य जडिबुटीका बोटबिरुवाहरू नचिन्दा घाँस भन्दै काटेको बताए । उनले भने, ‘यसरी चिनाउने कोही भएनन् । घाँस भन्दै काटियो ।’

अनिस तिम्सिनाले बोटबिरुवा चिन्ने कक्षा लिएपछि आफूले धेरै ज्ञान पाएको बताए । उनले भने, ‘हामी कोसी टप्पु आसपासका क्षेत्रमा वर्षौंदेखि बस्दै आएका छौं । तर बल्ल कोसी टप्पु क्षेत्रमा पनि थुप्रै प्रजातिका जडीबुटीजन्य बोटबिरुवाहरू पाइदो रहेछ भन्ने थाहा भयो ।’ उनले ती जडिबुटीका बोटबिरुवाहरूलाई संरक्षण गरेर समुदायकै आर्थिक फाइदा लिन सकिने बताए ।

प्रकाशित : भाद्र ९, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?