कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरु भयो लाखे नाच

दीपेन्द्र शाक्य

संखुवासभा — खाँदबारीका पुजन श्रेष्ठलाई नेवार जातिको संस्कृति बिस्तारै लोप हुन्छ कि भन्ने चिन्ता लागेको छ । पछिल्लो समय यो संस्कृति लोप हुँदै गएको छ । नागपञ्चमीदेखि श्रेष्ठले आफूभन्दा साना युवाहरूलाई लाखे नाच सिकाउँदै आएका छन् ।

सुरु भयो लाखे नाच

नेवार जातिका चाडपर्व र संस्कृतिहरू अरू समुदायमाझ लोकप्रिय भए पनि स्वयं नेवार जातिमाचाहिँ यसले प्रश्रय पाउन छाडेको उनले बताए ।

यो वर्ष भने यहाँका नेवार सामुदायका युवा लोप हुँदै गएको संस्कृति र परम्परा जोगाउन बेलादेखि नै जुटेका छन् । परम्परादेखि निकालिँदै आएको लाखे नाचका लागि खाँदबारी, तुम्लिङटार, चैनपुर र सिभुवाका नेवार युवा जुटेका हुन् । नेवार समुदायमा नागपञ्चमीका दिनदेखि परम्परागत रूपमा लाखेनाच सुरु हुन्छ ।

कृष्ण जन्मअष्टमीका दिन अन्त्य हुन्छ । लाखे नाचका क्रममा भेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाईजात्रा र समाजका विभिन्न विकृतिमाथि व्यंग्य प्रहार गर्ने गरिन्छ । जसले सर्वसाधारणलाई मनोरञ्जन दिन्छ । लाखे नाचका बेला कंशको प्रतिकका रूपमा डरलाग्दो राक्षसी रूप गरेको लाखे र उसका सिपाइका प्रतिकका रूपमा विभिन्न काला, सेता र अन्य रंगका मुखुण्डो लगाएका ढटुवारे निकालिन्छ ।

जात्रा भर हास्य पात्रका रमाइला र मनोरञ्जनात्मक गतिविधिले स्थानीय बस्ती र बजारमा छुट्टै रौनक छाउँछ । खाँदबारीको लाखेजात्रा हेर्न छिमेकी जिल्ला भोजपुरबाट पनि सर्वसाधारण आउने गरेका छन् । विशेष गरेर नेवार युवाहरू संस्कृति र परम्परा संरक्षणको अभियानमा जुटेका हुन् । कृष्ण शुक्ल पक्षको नागपञ्चमीदेखि लाखे नाच दिनहुँ देखाइन्छ । नेवार समुदायमा प्रचलित लाखे नाच निकै लोकप्रिय मानिन्छ, खाँदबारी शाक्य समाजका उपाध्यक्ष जयन्द्र शाक्य भन्छन्, युवाहरू सस्कृति जगेर्नाका लागि हौसिएर लागेका छन् ।

लाखेनाच वर्षमा एक पटक देखाइन्छ, उनले भने, ‘विशेष पर्वको बेला देखाइने भएकाले यसको महत्त्व बेग्लै छ । जात्राका अलवा जिल्लामा हुने विशेष कार्यक्रम र महोत्सवमा पनि हिजोआज लाखेनाच प्रदर्शन गरिँदै आएको छ ।

पछिल्लो समय स्थानीयको बेवास्ताले यो नाच लोप हुन थालेको छ । नेवार समुदाय भएका बजार क्षेत्रमा लाखे नाच देखाउने चलन सबैका लागि मनोरञ्जनक हिसाबले उत्कृष्ठ मानिन्छ । खासगरी युवा पुस्ताको सक्रियता र चासोको अभावले लाखे नाच निरन्तर चलिरहेको भए पनि मौलिक बन्न सकेको छैन ।

नागपञ्चमीको १३ आैं तिथिका दिन गाई जात्रा मनाइन्छ । यो समुदायमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरूको सम्झनामा निकालिन्छ । दिवङ्गत भएकाको फोटो सजाएर गाईको भेषमा सिंगारेर बजार परिक्रमा गर्ने गरिन्छ । उनीहरूलाई आफन्त र छिमेकीले दूध, फलफूल, चिउरा, रोटी दहीलगायत अन्न र दान गर्ने चलन छ । गाई नगरका विभिन्न स्थानमा परिक्रममा गर्नाले मृत्यु भएका व्यक्तिहरू बैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

लाखेनाचसँग नेवार समुदायको धार्मिक एंव सांस्कृतिक गहिरो सम्बन्ध रहदै आएको छ, शाक्य समाजका अध्यक्ष किरणकुमार शाक्यले भने, ‘संस्कृति संरक्षणमा एकजुट भएर लागेका छौं ।’ युवा जनशक्ति यस्तो जनशक्ति हो, जसले कला, संस्कृतिको जगेर्ना गर्न सक्छ, खाँदबारी १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठ भन्छन्, ‘विगतसँग लाखेजात्राको तुलना गर्ने कुनै ठाउँ छैन, संस्कृतिको जगेर्नामा अहिले हामी दुई/चार युवा लागेका छाैं, निकै कठिन छ ।’

साउन–भदौ महिनामा पर्ने पूणिर्माका बेला किसानहरूले धान, कोदो बाली लगाइसक्ने, मकै थन्क्याइसक्ने भएकाले उनीहरूलाई थकाइ मेट्ने र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले पनि यो संस्कृतिको विकास हुँदै गएको छ । सदरमुकाम खाँदबारी, मानेभञ्ज्याङ, बाह्रबीसे, सिभुवा, स्यावुन, तुम्लिङटार र चैनपुर बजार लगायतका विभिन्न स्थानमा लाखे जात्रा निकालिन्छ । लाखे नाच देखाउन युवायुवतीसँगै बुढापाका पनि सहभागी भएका छन् । लाखे नाचमा ढोल, झ्याम्टा बजाएर संस्कृति प्रदर्शन गरिन्छ ।

प्रकाशित : भाद्र ९, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?