कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विकास निर्माण ठप्प

डम्बरसिं राई

खोटाङ — जिल्लामा सञ्चालित विकास निर्माणका कामहरू ठप्प भएका छन् । मध्यपहाडी लोकमार्ग, सगरमाथा लोकमार्ग, साप्सु सडक पुल लगायतका ठूला आयोजनाहरू ठप्प भएका हुन् ।

विकास निर्माण ठप्प

निर्माण कम्पनीहरूले काम लथालिंग छाडेर हिँडेपछि यातायातमा समस्या आएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवा, सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट लगायतका सडक अवरुद्ध छन् । अन्य ग्रामीण सडक पनि बन्द छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसी–दिक्तेल सडक गुणस्तरहीन हुनुका साथै निर्माणका क्रमले यात्रा असहज बनेको छ । सडक विभागमार्फत एसियाली विकास बैंकको लगानीमा निर्माणाधीन हलेसी–दिक्तेल (४२ किलोमिटर) सडक निर्माण अवधि गत चैतमै सकिए पनि काम सकिएको छैन ।

हलेसीदेखि दिक्तेलसम्म तीन प्याकेजमध्ये १ नम्बर प्याकेज (हलेसी–बिजुले १२ किलोमिटर) लुम्बिनी–कन्काइ–सूर्य कन्टक्सन जेभी, २ नम्बर प्याकेज (बिजुले–नुनथला १२ किलोमिटर) लामा–नागार्जुन र ३ नम्बर प्याकेज (नुनथला–दिक्तेल, साडे ११ किलोमिटर) लामा–नागार्जुन–त्रिशूली निर्माण कम्पनीले ठेक्का पाएको थियो ।

तीनै प्याकेजमध्ये एक नम्बर प्याकेजअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका क्षेत्रमा कामै नसकी कालोपत्रे भत्कन थालेको छ । दुई र तीन नम्बर प्याकेजमा पनि निर्माणाधीन सडक गुणस्तरहीन भएको स्थानीयले गुनासो गरेका छन् । यो सडकको नाली, टेवापर्खाल र ग्राबेलमा प्रयोग गरिएको सामग्री गुणस्तरहीन भएको नुनथलाका स्थानीय मकरचन्द्र राईले बताए । ‘सडक निर्माण गुणस्तरहीन छ ।’ राईले भने, ‘राज्यको पैसा त खेर गयो भयो, दुर्गम जिल्लाको भविष्य समेत अन्धकार बनाउनेछ ।’

लामा–नागार्जुन–त्रिशूली जेभी निर्माण कम्पनी सम्बद्ध राजाराम आचार्यले आगामी २०७५–७६ सम्ममा गुणस्तरीय काम सक्ने प्रतिबद्धता भने व्यक्त गरेका छन् । यो सडकअन्तर्गत दिक्तेल–मुढे क्षेत्रमा भने सामान्य काम भइरहेको छ ।

त्यस्तै मध्यपहाडी लोकमार्गअन्तर्गतकै बाँझेच्यानडाँडा–अल्छेढुङ्गा सडक निर्माण अवधि सकिदा पनि अपूरै र बनेका सडक पनि गुणस्तरहीन बनेपछि स्थानीय आक्रोशित छन् । करिब एक अर्ब नौ करोड १९ लाखको लागतमा सम्पन्न हुनुपर्ने बाँझेच्यानडाँडा–अल्छेढुङ्गा सडकको चार वटा प्याकेजमा ठेक्का लागेको थियो ।

एक नम्बर र दुई नम्बर प्याकेजको २०७२ बैशाख २ गते, तीन नम्बर प्याकेज २०७२ असार १६ गते र चार नम्बर प्याकेजको २०७२ चैत १६ गते दुई वर्षभित्र सक्ने गरी रमण गोल्डेन गुड जेबी कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो । यसमध्ये एक नम्बर प्याकेजको गत कात्तिकमा र दुई नम्बर प्याकेजको माघमा अवधि सकिएको छ ।

चार नम्बर प्याकेजको निर्माण अवधि भने २०७५ चैतमा सकिने निर्माण कम्पनी सम्बद्ध साङ्गे सेर्पाले बताए । तीन नम्बर र चार नम्बर प्याकेजमा भने सब बेससम्मको काम भएको छ । एक नम्बर प्याकेजमा ट्रयाक ओपनभन्दा अन्य भएको छैन । यो सडक आगामी २०७५–७६ मा सक्ने र काम गुणस्तर हुने निर्माणमा संलग्न साङ्गे सेर्पाले प्रतिबद्धता जनाए । यो सडक खण्डमा यातायातका साधन सञ्चालन गर्न सकिने अवस्था छैन ।

सगरमाथा लोकमार्गअन्तर्गतको माहुरे–राजापानी सडक आगामी २०७७ साउनभित्र सक्ने निर्माणमा संलग्न भारत कन्स्ट्रक्सन–सिद्धिसाही सम्बद्ध राजन थापाले बताए । करिब ४१ करोडको लागतमा २२ किलोमिटर सडक निर्माणका लागि यो कम्पनीले २०७३ साउनमा सम्झौता गरेको थियो । यो सडकमा गुणस्तरहीन काम भएको गुनासो आएपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अनुगमन गर्दा गुणस्तरहीन फेला परेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले सुनाए ।

त्यसैगरी ठेकेदारको लापरबाहीले लामो समयदेखि थलिएको सगरमाथा लोकमार्गअन्तर्गत साप्सुखोलास्थित सडक पुल यसै वर्ष सक्ने निर्माण संलग्न कर्ण खत्रीले प्रतिबद्धता जनाएका छन् । ठेकेदार कम्पनीको लापरबाहीले सन २०१५ सकिनुपर्ने सडक पुल अहिले पनि सकिएको छैन । नेपाल सरकारको करिब सात करोडको लागतमा सन २०१५ मा सम्पन्न गर्नुपर्ने अहिले पनि सम्पन्न हुन सकेको छैन । देवदायर र कान्छाराम जेभी निर्माण कम्पनीले सन् २०१३ मा सुरु गरी सन् २०१५ मा सक्ने सम्झौता गरेको थियो । उक्त पुल विभिन्न समस्याका कारण ढिलाइ भएको खत्रीले सुनाए ।

दिक्तेल–खोटाङबजार सडक खण्डअन्तर्गत पर्ने साप्सुखोलास्थित सडक पुल ठेकेदारको लापरबाहीले दुई वर्षअघिदेख अलपत्र छ । जिल्ला प्राविधिक कार्यालयमार्फत नेपाल सरकारको करिब डेढ करोडको लागतमा १८ महिनामा सक्ने गरी २०७३ बैशाखमा सम्झौता गरिएको यो पुल अहिलेसम्म पनि थला परेको अवस्थामै छ । एउटा पिलर बाहेक अन्य काम हुन सकेको छैन । पुल निर्माणको ठेक्का हरिहरि–गजुरमुखी जेबी कम्पनीले लिएको हो ।

पूर्वी तथा दक्षिणी क्षेत्र जोड्ने मुख्य सडक सन्जालसँग दक्षिणी क्षेत्रलाई जोड्ने सडकमा बेलामा पुल नबन्दा जनप्रतिनिधि तथा स्थानीय आक्रोशित छन् । यो पुल नबन्दा विकास नै चौपट भएको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रमा भएका कामको गुणस्तर नभएको र बेलामा काम सक्न निर्माण सम्बद्धलाई अनुरोध गर्दा समेत सम्बद्ध कम्पनीहरूले टेरेको छैन ।

प्रकाशित : भाद्र ९, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?