धान फलाउने किसानलाई नगद

अर्जुन राजवंशी

दमक — चैते धान उत्पादन गरेबापत झापाका किसानले नगद अनुदान पाएका छन् । चैते धानको उत्पादनमा वृद्धि गरेका किसानले नगद अनुदान प्राप्त गरेका हुन् ।

चैते धान उत्पादनमा वृद्धि गरेका किसानलाई नगद अनुदान वितरण गरेको झापाको बनियानीस्थित धान सुपर जोन एकाइको कार्यालय । तस्बिर : अर्जुन

जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपर जोन इकाईले किसानलाई नगद अनुदान वितरण गरेको हो । परियोजना सञ्चालनमा आएपछि जिल्लामा चैते धानको खेती गर्नेको संख्यामा वृद्धि भएको छ ।

तीन वर्षअघि सामान्य रूपमा चैते धानको खेती गरेका किसानले परियोजना सुरु भएयता वर्षेनी खेतीको क्षेत्रफल बढाउँदै लगेका छन् । परियोजना सञ्चालन रहेको कचनकवल गाउँपालिकाको ६ सय ६९ बिघामा यस वर्ष चैते धानको खेती गरिएको थियो । सुपर जोन क्षेत्रमा चैते धान रोपेर उत्पादनमा वृद्धि गरेका ७ सय ७० जना किसानलाई नगद अनुदान वितरण गरेको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिम्सिनाले बताए ।

Yamaha

यस वर्ष किसानलाई प्रतिफलमा आधारित प्रोत्सहान स्वरूप ३५ लाख अनुदान वितरण गरेको तिम्सिनाले बताए । चैते धान उत्पादनका आधारमा किसानले प्रतिकट्ठा एक सय ८३ रुपैयाँ १० पैसाका दरले अनुदान प्राप्त गरेका हुन् । परियोजनामा ९३ वटा समूह र सहकारी आबद्ध छन् ।

उनीहरूमध्ये ५३ वटा समूह र सहकारीका किसानले चैते धानको खेती गरेका थिए । खेती गरेका किसानले न्यूनतम ५ सयदेखि अधिकतम २५ हजार रुपैयाँसम्म नगद अनुदान प्राप्त गरेको तिम्सिनाले बताए । ‘धान खेती गरेबापत पैंसा पाउँदा निकै खुसी लागेको छ,’ किसान मोहन राजवंशीले भने, ‘गाउँमै परियोजना सञ्चालनमा रहेकाले खेती गर्न मेसिनरी, बीउ, कृषि चुन, सिँचाइ, प्राविधिक ज्ञान पनि सहुलियतमा पाएका छौं । धान उत्पादन गरेपछि पैसा पनि पाइयो ।’

उनले नगद अनुदानले खेती गर्न हौसला थपेको बताए । उनले सिँचाइको असुविधा र उत्पादनले उचित मूल्य नपाउँदा १० वर्षदेखि चैते धानको खेती गर्न छाडेकोमा परियोजना सञ्चालनमा आएपछि पुन: सुरु गरेको बताए । परियोजनाको सहयोग र अनुदानले अगामी बर्ष थप क्षेत्रफलमा चैते धानको खेती गर्ने बताए । यस वर्ष उनले एक बिघा जमिनमा चैते धान रोपेका थिए ।

परियोजना सञ्चालनमा आएपछि किसानले धेरै कुरामा सहुलियत प्राप्त गरेका छन् । परियोजनाको ५० प्रतिशत अनुदानमा आधुनिक मेसिनरी सामग्री पाउनुका साथै प्राविधिक सहयोग नि:शुल्क प्राप्त गर्दै आएका छन् । माटोको अम्लियपन घटाउन ५० प्रतिशत अनुदानमा कृषि चुन प्राप्त गरेपछि माटोको उर्वरा शक्तिमा पनि वृद्धि भएको किसानको भनाइ ।

गत वर्ष ५.३ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेकोमा यस वर्ष वृद्धि भएर ५.६ पुगेको छ । यस वर्ष धान सुपर जोन क्षेत्रमा मात्र एक हजार ९ सय ६० मेट्रिक टन चैते धान उत्पादन भएको अधिकृत तिम्सिनाले जानकारी दिए ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रकाश डाँगीका अनुसार जिल्लामा यो वर्ष २० हजार ६ सय ५० हेक्टरमा चैते धान रोपिएको थियो । जसबाट एक लाख ९ हजार ४ सय ४५ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष १ दशमलव ७२ प्रतिशतले चैते धानको उत्पादन वृद्धि भएको डाँगीले बताए ।

चैते धानको खेती गर्न सुपर जोन क्षेत्रमा जिल्लास्थित सिँचाइ डिभिजनले ७ र परियोजनाले ५ वटा सौर्य सोलार सिँचाइ पम्पसेट वितरण गरेको थियो । एक सय ४४ वटा साना सिँचाइअन्तर्गतका पम्पसेट तथा २६ वटा समूह र सहकारीलाई पावर टिलर पनि वितरण गरिएको थियो ।

प्रकाशित : भाद्र ९, २०७५ ०९:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘यता न उताको’ मारमा राँकेबजार

विप्लव भट्टराई

राँके — गतिलो व्यापारिक केन्द्रका रूपमा विकास भइरहेको इलाम र पाँचथरको सीमावर्ती राँके बजारको विकासमा दुबै जिल्लाले पर्याप्त ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।

इलाम पाँचथर सीमावर्ती राँके बजार । पर्यटकीय नगरका रूपमा विकास हुँदै गएको राँके बजार व्यवस्थापनमा दुवै जिल्लाले पर्याप्त ध्यान दिन नसकेको स्थानीयको गुनासो छ ।तस्बिर : विप्लव

कटेरा बजारबाट सुरु भएर ठूलै बजारका रूपमा विकासित भइरहेको राँकेमा समस्या थपिँदै गए पनि समाधानको प्रयास नभएको उनीहरूको भनाइ छ ।

दुई जिल्लाबीच पर्ने भएकाले दुबै जिल्लाले बेवास्ता गर्दा आफूहरू ‘न यताको, न उताको’ अवस्थामा रहेको स्थानीय बासिन्दाको गुनासो छ । हुस्सुले प्राय: छपिरहने, नियमितजसो सिरेटो चल्ने र १२ महिना चिसो मौसम भए पनि मेची राजमार्गले छोएको राँकेमा बसोबास बाक्लिदै गएको छ । मेची राजमार्ग खुलेसँगै अस्तित्वमा आएको यो बजार क्षेत्रमा कठिन भूगोल रहे पनि विशाल संरचना बन्ने क्रम बढ्दो छ ।

बाक्लो बस्तीका कारण निम्तिने खतरा टार्दै समृद्ध बजार बनाउन र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न इलामको देउमाई नगरपालिका र पाँथथरको फाल्गुनन्द गाउँपालिकालाई स्थानीयले आग्रह गरेका छन् ।

बजारको मुख्य समस्याका रूपमा फोहोर व्यवस्थापन देखिएको हो । अढाई सय बढी घर रहेको बजारबाट निस्कने फोहोरको व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइट नहँुदा बजारको सौन्दर्य घटेको छ भने महामारीको खतरा पनि उत्तिकै छ । फोहोर फाल्ने ठाउँ नहुँदा भीरपाखामा त्यत्तिकै फाल्नुपर्ने बाध्यता छ । जसका कारण तल्लो गाउँका बासिन्दा प्रत्यक्ष प्रभावित बनेका छन् ।

फोहोरका कारण पानीका मुहान प्रदूषित हुने र तल्लो क्षेत्रमा रोग बढेको भन्दै त्यस क्षेत्रका बासिन्दाले तत्काल व्यवस्थापन गर्न माग गर्दै आएका छन् । ‘स्थानीय व्यवसायी र बासिन्दाकै कारण फोहोर निस्कने हो,’ बजार व्यवस्थापन समितिका अध्यक्ष श्रीबहादुर विष्टले भने, ‘तर हामीसँग जमिन खोजेर ल्यान्डफिल्ड साइट बनाउने बजेट छैन ।’

वर्षेनी आवादी बढे पनि दुवै क्षेत्रका स्थानीय तहले ख्याल नगर्दा राँकेबासी मात्र हैन आसपास इलाम र पाँचथरका सयौं बासिन्दा प्रभावित भएका छन् । फोहोर व्यवस्थापन हुन नसक्दा घुमघामका लागि पर्यटकलाई पनि असर पुगेको छ ।

पर्यटकलाई नै लक्षित गरी ठूला होटल खोल्ने क्रम यहाँ बढेको छ । तर बजार अस्तव्यस्त हुँदा सम्भावना अनुसार पर्यटन गतिविधि बढ्न सकेको छैन । पाथिभरालगायत ताप्लेजुङ, पाँचथर र इलामका विभिन्न पर्यटकीय स्थल जानेहरूका लागि यो बजार आश्रयस्थलका रूपमा छ । दृश्यावलोकनसँगै चिसो धेरै हुने भएकाले तराई क्षेत्रबाट गर्मी छल्न आउने पर्यटकको संख्या राँकेमा थपिँदै गएको छ ।

मुख्यगरी दुवै जिल्लाले विकासको सवालमा एकले अर्कोलाई जिम्मा लगाउने गरेका कारण समस्या थपिदै गएको स्थानीयको भनाइ छ । पाँचथर क्षेत्रमा केही सरकारी कार्यालय रहे पनि इलाममा छैन । पछिल्लो समय स्थानीय तहले यस क्षेत्रको सम्भावनाको खोजी र विकासमा सघाउनुपर्ने स्थानीय टिकाकुमारी गुरुङले बताइन् ।

आगलागीका कारण एकपाटो ढडेर खरानी भएपछि पुन: मौलाएको बजारमा अरू थुप्रै समस्या देखिएका छन् । सवारी साधनको बढ्दो भीडभाड लागे पनि ट्राफिक व्यवस्थापन समस्या देखिएको हो । बजारको विभिन्न क्षेत्र पहिरोको जोखिममा छ । एकोहोरो भीड वढ्ने तर व्यवस्थापनमा पर्याप्त काम नभएपछि एक्लो प्रयासले केही नहुने समितिका सचिव पूर्णकुमार श्रेष्ठले बताए ।

राँकेसँग सीमा जोडिएका जनप्रतिनिधि समक्ष समग्र विकास निर्माणका लागि स्थानीयले १२ बुँदे माग पत्र नै बुझाएका छन् । यो क्षेत्रलाई व्यापारिक र पर्यटकीय स्थलका रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको बताउँदै स्थानीयबासीले पनि कतिपय विषयमा लागत सहभागिता जनाउनुपर्ने देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेलको भनाइ छ ।

धार्मिक, सांस्कृतिक र जैविक हिसावले पनि उत्तिकै महत्त्व राख्ने राँके बजारको समृद्धिमा नि:स्वार्थ पहल हुनु पर्नेमा स्थानीयको जोड छ । ‘स्थानीय तहले सक्ने कामलाई अघि बढाएका छौं,’ फाल्गुनन्द गाउँपालिकाका प्रमुख अमर नेम्वाङले भने, ‘विस्तृत योजना बनाएर ठूला कामका लागि प्रदेश र केन्द्रमा पठाउने छौं ।’

प्रकाशित : भाद्र ९, २०७५ ०९:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT