‘यता न उताको’ मारमा राँकेबजार

विप्लव भट्टराई

राँके — गतिलो व्यापारिक केन्द्रका रूपमा विकास भइरहेको इलाम र पाँचथरको सीमावर्ती राँके बजारको विकासमा दुबै जिल्लाले पर्याप्त ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।

इलाम पाँचथर सीमावर्ती राँके बजार । पर्यटकीय नगरका रूपमा विकास हुँदै गएको राँके बजार व्यवस्थापनमा दुवै जिल्लाले पर्याप्त ध्यान दिन नसकेको स्थानीयको गुनासो छ ।तस्बिर : विप्लव

कटेरा बजारबाट सुरु भएर ठूलै बजारका रूपमा विकासित भइरहेको राँकेमा समस्या थपिँदै गए पनि समाधानको प्रयास नभएको उनीहरूको भनाइ छ ।

दुई जिल्लाबीच पर्ने भएकाले दुबै जिल्लाले बेवास्ता गर्दा आफूहरू ‘न यताको, न उताको’ अवस्थामा रहेको स्थानीय बासिन्दाको गुनासो छ । हुस्सुले प्राय: छपिरहने, नियमितजसो सिरेटो चल्ने र १२ महिना चिसो मौसम भए पनि मेची राजमार्गले छोएको राँकेमा बसोबास बाक्लिदै गएको छ । मेची राजमार्ग खुलेसँगै अस्तित्वमा आएको यो बजार क्षेत्रमा कठिन भूगोल रहे पनि विशाल संरचना बन्ने क्रम बढ्दो छ ।

Yamaha

बाक्लो बस्तीका कारण निम्तिने खतरा टार्दै समृद्ध बजार बनाउन र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न इलामको देउमाई नगरपालिका र पाँथथरको फाल्गुनन्द गाउँपालिकालाई स्थानीयले आग्रह गरेका छन् ।

बजारको मुख्य समस्याका रूपमा फोहोर व्यवस्थापन देखिएको हो । अढाई सय बढी घर रहेको बजारबाट निस्कने फोहोरको व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइट नहँुदा बजारको सौन्दर्य घटेको छ भने महामारीको खतरा पनि उत्तिकै छ । फोहोर फाल्ने ठाउँ नहुँदा भीरपाखामा त्यत्तिकै फाल्नुपर्ने बाध्यता छ । जसका कारण तल्लो गाउँका बासिन्दा प्रत्यक्ष प्रभावित बनेका छन् ।

फोहोरका कारण पानीका मुहान प्रदूषित हुने र तल्लो क्षेत्रमा रोग बढेको भन्दै त्यस क्षेत्रका बासिन्दाले तत्काल व्यवस्थापन गर्न माग गर्दै आएका छन् । ‘स्थानीय व्यवसायी र बासिन्दाकै कारण फोहोर निस्कने हो,’ बजार व्यवस्थापन समितिका अध्यक्ष श्रीबहादुर विष्टले भने, ‘तर हामीसँग जमिन खोजेर ल्यान्डफिल्ड साइट बनाउने बजेट छैन ।’

वर्षेनी आवादी बढे पनि दुवै क्षेत्रका स्थानीय तहले ख्याल नगर्दा राँकेबासी मात्र हैन आसपास इलाम र पाँचथरका सयौं बासिन्दा प्रभावित भएका छन् । फोहोर व्यवस्थापन हुन नसक्दा घुमघामका लागि पर्यटकलाई पनि असर पुगेको छ ।

पर्यटकलाई नै लक्षित गरी ठूला होटल खोल्ने क्रम यहाँ बढेको छ । तर बजार अस्तव्यस्त हुँदा सम्भावना अनुसार पर्यटन गतिविधि बढ्न सकेको छैन । पाथिभरालगायत ताप्लेजुङ, पाँचथर र इलामका विभिन्न पर्यटकीय स्थल जानेहरूका लागि यो बजार आश्रयस्थलका रूपमा छ । दृश्यावलोकनसँगै चिसो धेरै हुने भएकाले तराई क्षेत्रबाट गर्मी छल्न आउने पर्यटकको संख्या राँकेमा थपिँदै गएको छ ।

मुख्यगरी दुवै जिल्लाले विकासको सवालमा एकले अर्कोलाई जिम्मा लगाउने गरेका कारण समस्या थपिदै गएको स्थानीयको भनाइ छ । पाँचथर क्षेत्रमा केही सरकारी कार्यालय रहे पनि इलाममा छैन । पछिल्लो समय स्थानीय तहले यस क्षेत्रको सम्भावनाको खोजी र विकासमा सघाउनुपर्ने स्थानीय टिकाकुमारी गुरुङले बताइन् ।

आगलागीका कारण एकपाटो ढडेर खरानी भएपछि पुन: मौलाएको बजारमा अरू थुप्रै समस्या देखिएका छन् । सवारी साधनको बढ्दो भीडभाड लागे पनि ट्राफिक व्यवस्थापन समस्या देखिएको हो । बजारको विभिन्न क्षेत्र पहिरोको जोखिममा छ । एकोहोरो भीड वढ्ने तर व्यवस्थापनमा पर्याप्त काम नभएपछि एक्लो प्रयासले केही नहुने समितिका सचिव पूर्णकुमार श्रेष्ठले बताए ।

राँकेसँग सीमा जोडिएका जनप्रतिनिधि समक्ष समग्र विकास निर्माणका लागि स्थानीयले १२ बुँदे माग पत्र नै बुझाएका छन् । यो क्षेत्रलाई व्यापारिक र पर्यटकीय स्थलका रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको बताउँदै स्थानीयबासीले पनि कतिपय विषयमा लागत सहभागिता जनाउनुपर्ने देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेलको भनाइ छ ।

धार्मिक, सांस्कृतिक र जैविक हिसावले पनि उत्तिकै महत्त्व राख्ने राँके बजारको समृद्धिमा नि:स्वार्थ पहल हुनु पर्नेमा स्थानीयको जोड छ । ‘स्थानीय तहले सक्ने कामलाई अघि बढाएका छौं,’ फाल्गुनन्द गाउँपालिकाका प्रमुख अमर नेम्वाङले भने, ‘विस्तृत योजना बनाएर ठूला कामका लागि प्रदेश र केन्द्रमा पठाउने छौं ।’

Esewa Pasal

प्रकाशित : भाद्र ९, २०७५ ०९:४०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सरकारी सम्पत्ति लक्षित अाक्रमण हुँदा कञ्चनपुरमा दुखद् घटना : गृह मन्त्रालय 

कान्तिपुर संवाददाता

काठमाडौँ — किशोरीको बलात्कारपछि हत्या घटनामा प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि दुखद् घटना भएको गृह मन्त्रालयले जनाएको छ । 

शुक्रबार राति बिज्ञप्ती जारी गर्दै गृहले सरकारी सम्पत्ति तथा धनजनको क्षति पुग्ने गतिविधि हुन थालेपछि स्थितिलाई सामान्यीकरण गर्न र स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्दा उक्त घटना भएको भन्दै सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गरिने जनाएको छ।

उच्च स्तरीय छानबिन समितिले काम सुरु गरिसकेकाले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारवाही गर्नमा सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।

प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा शुक्रबार महेन्द्रनगर, भगतपुरका १४ वर्षीय सन्नी खुनाको मृत्यु भएकोथियाे । शुक्रबारको घटनामा प्रहरीको गोली र लाठीचार्जबाट २४ जना घाइते भएका छन्।

गत मंगलबारदेखि चर्किएको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच पटक पटक झडपको अवस्था सृजना भएको थियो। बिहीबार दिउँसो प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउदा ६ जना घाइते भएका थिए।

प्रकाशित : भाद्र ९, २०७५ ०९:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT