बिरामीको चाप थेग्न हम्मे

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान
कान्तिपुर संवाददाता

सुनसरी — वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्ष साँघुरिएर बिरामीको चाप थेग्न सकेको छैन । अर्कोतिर सबै आन्तरिक प्रक्रिया पूरा गरेर इमर्जेन्सी कक्ष विस्तारका लागि खुला जमिनमा भवन निर्माणका लागि जग खन्दा खन्दै ‘माथिको’ आदेश भनेर रोकियो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा बिरामीका चाप । तस्बिर : प्रदीप

इमर्जेन्सी विभागका चिकित्सक, नर्स र कर्मचारीहरूले ‘जग खन्दाखन्दै किन बीचैमा अचानक रोकियो’ भनेर अस्पताल प्रमुख, प्रतिष्ठान व्यवस्थापन पक्ष, उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार कक्ष घेराउ गरे । चार पदाधिकारीको जवाफ आयो, ‘माथिको आदेशमा रोकिएको हो ।’

स्वास्थ्य मन्त्रालयको आदेशले रोकिएको स्रोतले जनाएको छ । सर्वसाधारणका लागि बन्न लागेको इमर्जेन्सी कक्ष रोक्ने मौखिक आदेशलाई कतिपयले प्रतिष्ठान स्वायत्त हुँदाहुँदै पनि स्वास्थ्य मन्त्रालयबाट हचुवाका भरमा हस्तक्षेप भएको बताएका छन् ।

दैनिक करिव २५ जना आउने अढाइ दशकअघिको बिरामीको चापलाई ध्यानमा राखेर डिजाइन गरिएको प्रतिष्ठानको हालको इमर्जेन्सी कक्ष तीनपटक विस्तार गर्दा पनि मुस्किलले ५० देखि ६० जनालाई मात्र उपचार गर्न सकिन्छ । तर बिरामीको चाप दैनिक १ सय ५० बढी छ । चिकित्सक, नर्स, कर्मचारी, बिरामी, बिरामीका कुरुवा, सुरक्षा गार्ड, प्रहरी, ट्रली, बेड एकसाथ चलायमान हुँदा एकापसमै ठोकिएर जाम हुन्छ ।

पाँच वर्षदेखि इमर्जेन्सी कक्ष विस्तारको माग गर्दै आएका प्रतिष्ठानका बरिष्ठ इमर्जेन्सी मेडिसिन चिकित्सक प्राडा ज्ञानेन्द्र मल्लले निराश हुँदै भने, ‘हामीलाई त केही छैन तर इमर्जेन्सीमा उपचारका लागि आउने सर्वसाधारण बिरामीहरू यो प्रतिष्ठानको नामले आउँछन् । धनीमानी, हुनेखानेहरू अन्तै महँगोमा जान्छन् । ती सर्वसाधारणकाको उपचार सहज होस् भनेर इमर्जेन्सी कक्ष विस्तार गर्न लागेको मात्र के थियौं, माथिको आदेशमा रोकी पो दिए । यस्तो पनि हुन्छ कतै ?’

उनले प्रतिष्ठानको नयाँ बनाउन लागेको इमर्जेन्सी कक्ष आन्तरिक स्रोतबाट थप ४० बेडको बनाउने भनेर सिनेट बैठकबाटै पारित गरिसकिएको बताए । सिनेटबाट पारित भएपछि २ करोड ४० लाख लागत इस्टिमेटमा हालकै इमर्जेन्सी कक्षसंगै जोडिएको खुला जमिनमा थप इमर्जेन्सी कक्ष विस्तार गर्न लागिएको थियो । तर प्रष्ठिानको विषयमा छानबिन भइरहेको बहाना बनाएर सिस्टमलाई पूरै विगार्न इमर्जेन्सी कक्ष विस्तार गर्न नदिएको आरोप डा. मल्लले लगाए । उनले भने, ‘टर्सरी सेन्टरका रूपमा विकास भएको प्रतिष्ठानको इमर्जेन्सीमा १५ जना कन्सल्ट्यान्ट चिकित्सक स्टेनवाइ हुन्छन् ।’

तर एकैपटक कम्तीमा डेढ सय जना बिरामीको उपचार गर्न सहज होस् भनेर इमर्जेन्सी विस्तार गर्न लागेको हो । यति धेरै कन्सल्ट्यान्ट चिकित्सक भएको इमर्जेन्सी नेपालको कुनै अस्पतालमा छ भने देखाउन् ।’ उनले काम रोक्न आदेश दिने माथिका भनिएकाहरूलाई प्रतिष्ठानको इमर्जेन्सी कक्षको हालत हेर्न आउन पनि अनुरोध गरे ।

इमर्जेन्सी कक्षसँगै अब्जर्भेसन कक्ष समेत प्रतिष्ठानमा नभएकाले उपचार सेवा दिनदिनै प्रभावित भएको गुनासो गरे । उनले भने, ‘पहिले इमर्जेन्सी कक्षसँगै अब्जर्भेसन कक्ष थियो । तर त्यसलाई दुई वर्षअघि एसआईसीयूमा परिणत गरेपछि अव्जर्भेसनमा राख्नुपर्ने बिरामीलाई जता पायो त्यही भुइँमा, ट्रलिमा, करिडोरमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।’

आकस्मिक कक्ष अभावसँगै जनशक्तिको अभावका कारण पनि ढिलाइ हुने गरेको छ । कम्तीमा ३५ जना चिकित्सकले हेर्नु पर्नेमा आधामात्र जनशक्तिले हेर्नु परेको अवस्था छ । प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएका बिरामी बचाउन बैज्ञानिक र आधुनिक उपचार पद्धति मानिएको ‘अस्ट्रेलेसियस ट्रियाज स्कोर सिस्टम’ लागू गरिएको छ । उक्त पद्धतिअनुसार जो गम्भीर बिरामी वा घाइते छ उसलाई पहिलो प्राथमिकतामा राखिन्छ । अन्य अस्पतालमा जो अगाडि ल्याइयो उसैलाई पहिले उपचार सेवा दिने परम्परागत प्रणाली छ ।

आकस्मिक कक्षमा उपचारका लागि ल्याइने बिरामीको चाप थेग्नका लागि विभागले तत्कालका लागि कम्तीमा ५० शय्या विस्तार गर्दै सोहीअनुसार चिकित्सक र नर्सको व्यवस्था हुनुपर्ने प्रस्ताव राख्दै आएका आधारमा आकस्मिक कक्ष विस्तारको काम सुरु भएको थियो ।

उनले भने, ‘आकस्मिक कक्षलाई सय शय्याको बनाएर सोहीअनुसार उपकरण र जनशक्तिको व्यवस्था भएमा जेनतेन थेग्न सकिन्छ । नत्र दक्ष र सुविधा सम्पन्न हुँदाहँुदै पनि तनावमा उपचार गर्दा गुणस्तरीय सेवा दिन सकिन्न भनेर काम सुरु भयो, तर पहिलो गाँसमा ढुंगा लाग्यो ।’

हालको आकस्मिक कक्षले पूर्वमा रहेका अञ्चल र जिल्ला अस्पताल, नर्सिङ होम, क्लिनिकहरूले रिफर गरेका बिरामीको चाप थेग्न सकेको छैन । चाप बढेपछि प्रतिष्ठानले आन्तरिक स्रोत र निर्णयअनुसार थप शय्या राख्नका लागि भवन निर्माण र विस्तार गर्न लागेकै दिन रोक्का गर्ने मौखिक आदेश आएको थियो । अब बन्ने हो कि नबन्ने हो कुनै टुंगो नभएको डा. मल्लले बताए ।

प्रतिष्ठानका इमर्जेन्सी विभागका सिनियर कन्लस्ट्यान्ट डा. सरोज गिरीले भने, ‘यो साँघुरो इमर्जेन्सी कक्षमा कहिलेसम्म भुइँमा, ट्रलिमा र करिडोरमा राखेर सिकिस्त बिरामीको उपचार गर्ने ? यसरी उपचार गर्दा प्रभावकारी पनि हुन्न । यति कुरो त बुझ्न् पर्ने हो आदेश दिनेहरूले पनि ।’

प्रतिष्ठानको आकस्मिक कक्ष मुलुककै सवैभन्दा ठूलो मानिन्छ । ठूलो र सुविधासम्पन्न भनिएको आकस्मिक कक्षमा पुर्‍याउनासाथ चिकित्सक र नर्सले उपचार गुरून् भन्ने सवै बिरामी र तिनका आफन्तले आशा गर्ने गरेका हुन्छन् । तर बिरामीको चाप अत्यधिक भएपछि बिरामी कुरुवासँगै चिकित्सक र नर्सहरू नै अलमलिन बाध्य भएका छन् ।

बन्न लागेको इमर्जेन्सी कक्षको भवन निर्माण सुरु गर्दा गर्दै रोकिएका बारेमा प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले दुईचार दिनका लागि रोक्न जानकारी आएकाले रोकेको बताए । उनले भने, ‘बिरामीको चाप थेग्न नसकेरै थप ४० शय्याको कक्ष विस्तार गर्न लागिएको हो । लामो समय काम रोकिन्न । केही दिनपछि फेरि सुरु गर्छौं ।’

Yamaha

Esewa Pasal

प्रकाशित : भाद्र १०, २०७५ ०९:०८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोले विद्यालय जोखिममा

कान्तिपुर संवाददाता

ओखलढुंगा — लिखु गाउँपालिका ३ स्थित भीमसेनस्थान माध्यमिक विद्यालय पहिरोको जोखिममा परेको छ । जोखिमले विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

विद्यालय भवनको आडमै पहिरो बगेपछि कक्षाकोठामा पढाउन नसकिएको विद्यालयले जनाएको छ । पहिरो जानुको खास कारण भने केही महिना अघिमात्र खनिएको सडक हो । करिब ८ महिनाअघि खनिएको सडककै कारण करिब २० मिटर अग्लो डिल भत्किँदा विद्यालय जोखिममा परेको हो ।

विद्यालयमा हाल २ सय १३ विद्यार्थी पढ्छन् । पहिरोले गर्दा विद्यालयको दुई ब्लकका चार कक्षाकोठामा विद्यार्थी राखेर पढाउन नसकिने अवस्था सिर्जना भएको प्रधानाध्यापक श्रीराम श्रेष्ठले बताए । हाल पहिरो झरेको ठाउँमा थप क्षति नहोस् भनेर पालले छोपिएको उनले बताए ।

भूकम्पले क्षतिग्रस्त विद्यालयको जोखिममा परेको भवनहरू गत वर्षमात्र १४ लाख लगानीमा निर्माण गरिएको थियो । अब क्षतिग्रस्त विद्यालय कसले निर्माण गर्ने भन्ने अन्योल बढेको छ ।

प्रकाशित : भाद्र १०, २०७५ ०९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT