फोहोरमाथि फूलबारीमा बैठक

धनकुटा — सामान्यत: सरकारी कार्यालयका प्रमुखको बैठकस्थल भन्नासाथ आरामदायी सोफा, कुर्सी र कार्पेट ओच्छाएको विशेष कक्ष सहज अन्दाज गर्न सकिन्छ ।

फोहोरमाथि फूलबारीमा बैठक

तर त्यहाँ सोफा, कुर्सी र अन्य आरामदायी कक्ष केही थिएन । फोहोरको थुप्रोले बनेको एउटा फूलबारीमा सुकिला पोसाकमा सजिएका दर्जनौ व्यक्तिहरू भुइँमा नै सहज बसेका थिए ।

यो दृश्य सल्लेरी वनभित्र बिहीबार साँझपख जिल्लाका कार्यालय प्रमुखहरूको बैठक बसेको स्थानको हो । फोहोरको थुप्रोबाट बनेको फूलबारीमा पहिलोपटक जिल्लास्थित कार्यालय प्रमुखहरूले बैठक आयोजना गरिएको हो । प्रमुख जिल्ला अधिकारी सीताराम कार्की जिल्लामा आएको एक दिनपछि नै उक्त अनौठो बैठकमा सामेल भएका थिए ।

फोहोरको थुप्रोबाट बनेको सुन्दर फूलबारीबारे सञ्चारमाध्यममा सुनेका कार्कीले आफू उपस्थित पहिलो बैठक उक्त स्थानमा आयोजना गर्ने निर्णय गरेको सुनाए । ‘फोहोरबाट नमुना फूलबारी हेर्न साह्रै मन थियो,’ उनले भने, ‘सोही स्थलमा बैठक आयोजना गर्दा अझ आनन्द मिल्यो ।’ उनले आफूले सुनेको भन्दा अझ व्यवस्थित र रमाइलो लागेको बताए ।

धनकुटा नगरपालिकाले निर्माण गरेको ल्यान्डफिल साइटमा बैठक आयोजना गरिएको थियो । ४० मिटर गहिरो खाडलमा धनकुटा नगर क्षेत्रको फोहोर थुपारेर माथिल्लो भागमा बनाइएको फूलबारीमा बसेको कुनै अनुभूति नहुने जिल्ला वन कार्यालयका प्रमुख कृष्ण वस्तीले बताए । उनले अन्य बखत उक्त स्थान पुगे पनि बैठकका रूपमा पहिलोपटक सामेल भएको जानकारी दिए । वातावरणीय दृष्टिले पनि उपयुक्त रहेको यस प्रकारको भेला तथा बैठक बस्दाको आनन्दपन फरक रहेको सुनाए ।

जिल्ला प्रशासन कार्यालयले मासिक बैठक आयोजना गरेको थियो । उक्त बैठक अधिकांश जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजना गरिन्थ्यो । बैठकमा सहभागीलाई सरसफाइसम्बन्धी सचेतना उल्लेखित टोपी लगाएर नगरपालिकाका वातावरण अधिकृत उपेन्द्र खनालले स्वागत गरे ।

डेढ सय बढी स्थानीय तहका समूहले ल्यान्डफिल साइटको अवलोकन गरे पनि जिल्ला प्रशासनले उक्त स्थानमा बैठक आयोजना गर्दा छुट्टै प्रकारको रमाइलो लागेको खनालले बताए । नगरपालिकाका मेयर चिन्तन तामाङले गत चैत महिनादेखि पाँच महिनाको अवधिमा २७ समूहले अवलोकन गरेको जानकारी गराए । अवलोकनका लागि जाने प्रत्येक समूहबाट ५ हजार शुल्क लिने गरिएको छ । प्रजिअ कार्कीको अध्यक्षतामा बसेको बैठकमा ४५ सरकारी कार्यालयका प्रमुखहरू सहभागी थिए ।

प्रकाशित : भाद्र १०, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?