१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुनसान बन्दै दिक्तेल

डम्बरसिं राई

खोटाङ — दिक्तेल बजारका जुन पसलमा गए पनि व्यापार घटेको गुनासो सुनिन्छ । कतिपय पसलका सञ्चालकले पसलै बन्द गर्नुपर्ने अवस्था आएको पनि बताउँछन् । साना पसलेहरूको त हातमुख जोड्नै हम्मे परेको गुनासो छ ।

सुनसान बन्दै दिक्तेल

खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुका अनुसार दिक्तेलको व्यापार चौपट बनेको बताए । उनका अनुसार समग्रमा ५० प्रतिशत व्यापार घटेको छ । होटल व्यवसायी संघ खोटाङका संयोजक समुद्रप्रसाद जोशीका अनुसार होटलमा ५० प्रतिशत घटेको छ ।

सरकारी कार्यालयहरू गाउँ र नगर पालिकामा स्थापना हुनु, सरकारी तथा गैरसरकारी कार्यक्रमहरू पालिकामै केन्द्रित हुनु, मान्छेको आवतजावत घट्नु लगायतका कारण होटलको व्यापार ५० प्रतिशत घटेको जोशीले सुनाए । अन्य साना होटलहरूको अवस्था झनै जटिल बनेको जोशीले बताए । यातायात सुविधाका कारण सरकारी कामकाज दिएर आउनेहरू पनि त्यसै दिन घर फर्कने भएकाले होटल व्यवसाय चौपट बनेको जोशीको जनाए । यसले गर्दा कतिपय साना होटल बन्द गर्नु पर्ने अवस्था आएको जोशीको भनाइ छ । दिक्तेलमा सानाठूला गरी एक सय ५० होटल छन् ।

खुद्रा तथा दैनिक उपभोग्य वस्तुको व्यापारमा पनि ठूलो गिरावट आएको छ । खुद्रा तथा दैनिक उपभोग्य वस्तुका संयोजक राजन आचार्यका अनुसार ५० प्रतिशत व्यापार घटेको छ । पालिकाहरूमा खुद्रा तथा होलसेल पसल सञ्चालन हुनुका साथै कामकाजका लागि दिक्तेल आउनेहरू नै घटेकाले व्यापारमा गिरावट आएको आचार्यले बताए ।

करको दायरा समेत बढेकाले साना व्यापारीहरूले व्यापार गर्नै नसक्ने अवस्थामा पुगेको आचार्यले जनाए । ‘सानो पसल राखेर बालबच्चा पढाउने र घर चलाउने सपना चकनाचुर भयो ।’ आचार्यले भने, ‘अब ठूला होलसेल पसलेहरूले समेत विकल्प खोज्नुपर्ने अवस्था आएको छ ।’ लत्ताकपडामा ५० बाहिर व्यापार घटेको छ ।

दिक्तेल आउनेहरू घटेको र यातायातको सुविधाले सहरबाटै ल्याउने भएकाले लत्ताकपडामा व्यापार घटेको हो । जुत्ताचप्पलमा पनि ठूलो मात्रामा गिरावट आएको छ । यसमा ७५ प्रतिशतभन्दा बढी गिरावट आएको व्यवसायी रमेश बजिमयले बताए । ‘०४८/४९ सालदेखि जुत्ताचप्पल पसल सञ्चालन गरे ठिकै थियो ।’ बजिमयले भने, ‘अहिले आएर चाहिँ निरासा छाएको छ ।’ दिक्तेलमा ५० पसल वटाभन्दा बढी छन् ।

रेमिट्यान्स पनि ह्वात्तै घटेको छ । खोटाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार रेमिट्यान्समा २५/३० प्रतिशत कारोबार घटेको छ । विपी इन्टरनेसनल मनिट्रान्सफरका सञ्चालक समेत रहेका श्रेष्ठले भने, ‘अब अझै रेमिट्यान्स कारोबार घट्ने देखिन्छ ।

दिक्तेल आउनेहरूको संख्या घटेकाले पनि रेमिट्यान्स कारोबार घटेको लयालुले बताए । उनका अनुसार दिक्तेलमा दैनिक करिब पाँच करोडको हाराहारीमा रेमिट्यान्स कारोबार हुन्थ्यो । श्रेष्ठले भने, ‘रेमिट्यान्स घटेपछि बजारको व्यापार पनि घटेको हो ।’

दिक्तेलमा कर कार्यालय स्थापनापछि व्यापार बढ्ने आशा दिक्तेल बजारबासी गरेका छन् । करको दायरा बढ्नु र विभिन्न ठाउँबाट कर तिर्न आउने हँुदा व्यापार बढ्न सक्ने वाणिज्य संघका अध्यक्ष लयालुले बताए । यसबाहेक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलको व्यापार बढाउन हलेसी आउने तीर्थालु दिक्तेल ल्याउने योजना बनाइँदै गरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।

यसका लागि दिक्तेल बजारलाई व्यवस्थित गर्ने, पर्यटकीय क्षेत्र मझुवागढी, भुलभुले, रूपाकोट लगायतका धार्मिक पर्यटकीय स्थललाई व्यवस्थित गर्दै तीर्थालुलाई दिक्तेलमा ल्याउने रणनीति बनाइँदै गरेको प्रमुख रिजालले बताए । ‘तीर्थालुका लागि हलेसीमा डेक्स राख्ने र हलेसी आउने तीर्थालुलाई दिक्तेलसम्म ल्याउने योजना बनाइँदै छ ।’ रिजालले भने ।

रिजालका अनुसार उद्योगलाई समेत प्रवद्र्धन गरिने छ । भर्खरै स्थापना भएको बेकरी उद्योग र स्थापना हुन लागेको ह्याचरी उद्योगलाई कर छुट गर्ने र दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेस बनाइने रिजाले सुनाए ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?