वडा कार्यालय पुग्न ४ घण्टा

धनकुटा — सहिदभूमि गाउँपालिकाको १ का बासिन्दा वडा कार्यालय पुग्नुपर्दा चार घण्टा हिँड्नुपर्छ । सानो कामका लागि पनि वडा कार्यालय पुगेर फर्कंदा पूरै दिन बित्ने गरेको स्थानीयको गुनासो छ ।

वडा कार्यालय पुग्न ४ घण्टा

यही वडाको सफाइटारका सोमनाथ खड्काले सिँचाइ कुलोको काम लिएर साढे चार घण्टा पैदल यात्रा गरेर बल्ल आफ्नो वडा कार्यालय पुगेको बताए । चार घण्टा ठाडो उकालो चढेर सेती चोकमा रहेको वडा कार्यालय पुगेका थिए ।

वडा कार्यालय जाँदा आउँदै दिन बित्ने गरेको उनले दुखेसो पोखे । ‘सानो काम लिएर वडा कार्यालय पुगेर फर्कदा नै दिन बित्ने गर्छ’, उनले भने, ‘हामीलाई वडा कार्यालय अति टाढा हुँदा सास्ती खेप्नु परेको छ ।’ नागरिकता सिफारिसका लागि वडा कार्यालय गएका तित्रेका सचित राईले वडा कार्यालय पुग्न कठिनाइ हुने बताए । वडाको बीच भागमा वडा कार्यालय नरहेकोले सास्ती खेप्नु परेको उनको भनाइ छ ।

तमोर नदीको किनार अर्थात् बेंसीका बस्तीबाट गाउँपालिकाको माथिल्लो भागमा रहेको वडा कार्यालयबाट सेवा पाउन सबैभन्दा सकस हुने गरेको स्थानीयले बताए । त्यसो त वडा कार्यालय वडाको बीच भागमा सारिनुपर्ने भन्दै तीन महिनाअघि नै गाउँसभाबाट निर्णय भइरहेको थियो । तर उक्त निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन ।

हाल रहेको स्थानबाट मध्य भागमा रहेको घँगरु भन्ने स्थानमा वडा कार्यालय सार्ने प्रस्ताव माथि गाउँसभामा मतदान हुँदा बहुमतले पारित भएको गाउँपालिका स्रोतले जनाएको छ । स्थानीय शिक्षक भक्त खडकाले अधिकांशलाई पायक पर्ने स्थानमा वडा कार्यालय रहनुपर्ने बताए । उनले स्थायी रूपमा वडा कार्यालय भूगोलको बीच भागमा रहनुपर्ने तर्क राखे । त्रिवेणी, सिम्ले, तित्रे, सफाइधाप, गोपालपुर, हंवा लगायतका स्थानीयले सबैभन्दा बढी सास्ती खेप्नु परेको छ ।

वडाबासीका तल्लो भेगका बासिन्दालाई सास्ती भएकोबारे गाउँपालिका प्रमुख मनोज राईले स्वीकार गरे । घण्टौं हिँडेर सेवाग्राहीले सास्ती खेप्नु परेकोले उनले त्यसतर्फ आफ्नो ध्यान जाने आश्वासन दिए । उनले असारमा सम्पन्न गाउँसभामा त्यसबारे मतदान हुँदा हालको स्थानबाट घँगरुमा सार्ने पक्षमा २८ जनाले मतदान गरेकोमा १८ ले सारिने पक्षमा मतदान गरेको बताए ।

‘तोकिएको स्थानमा कार्यालय सार्न ढिलाइ भएको छ,’ उनले भने, ‘हामी यथाशक्य चाँडो त्यसलाई मूर्तरूप दिनेछौं ।’ यसअघि उक्त वडा कार्यालय हालको स्थानभन्दा अझ एक घण्टा टाढा दूरीको साम्बु गाउँमा थियो । स्थानीयको दबाबमा हालको स्थानमा स्थानान्तरण गरिएको थियो ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?