निकासा रोकियो

स्थानीय तहहरूले आर्थिक वर्ष ०७४/७५ को कार्यक्रम, बजेट र खर्च विवरण पेस नगरेपछि कोलेनिकाले बजेट निकासा दिएन

संखुवासभा — कोष तथा लेखा नियन्त्रण कार्यालयले दसवटै स्थानीय तहहरूको बजेट निकासा रोकेको छ । स्थानीय तहहरूले आर्थिक वर्ष ०७४/७५ को कार्यक्रम, बजेट र खर्च विवरण पेस नगरेपछि निकासा रोकेको हो ।

निकासा रोकियो

स्थानीय तहले आर्थिक वर्ष सकिएको १५ दिनभित्र खर्च विवरण पेस गर्नुपर्ने प्रावधान छ । यो समय सीमाभित्र स्थानीय तहले खर्च विवरण पेस गरेका थिएनन् । स्थानीय तहहरूलाई विवरण पेस गर्न कोलेनिकाले पटकपटक पत्राचार समेत गरेको थियो । खर्च विवरण पेस गर्न दस दिनको समय दिएर साउन ६ गते नै पत्राचार गरेका थियौं, प्रमुख कोष नियन्त्रक भोजराज पौडेलले भने, ‘अझै ६ स्थानीय तहले विवरण पेस गरेका छैनन् ।’

अहिलेसम्म खाँदबारी, धर्मदेवी, पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिकाले मात्र खर्च विवरण बुझाएको प्रमुख पौडेलले बताए ।

‘विवरण पेस गर्नका लागि छुट्टै फरम्याट हुन्छ, कतिपयले फरम्याट समेत लगेका छैनन्, उनले भने, ‘अहिलेसम्म प्राप्त भएको विवरणमध्ये धर्मदेवी नगरपालिकाले मात्र तोकिएको फरम्याटमा विवरण पेस गरेको छ, अन्य तीन स्थानीय तहले आफ्नै फरम्याटमा बुझाएका छन् ।’ चार स्थानीय तहहरूले खर्च विवरण पेस गरे पनि अन्य ६ स्थानीय तहहरूले नबुझाएका कारण बुझाउनेहरूको पनि निकासा रोकिएको छ ।

बाँकी स्थानीय तहले विवरण पेस गरेपछि मात्रै सबै तहको एकैपटक निकासा दिइने उनले बताए । मादी र चैनपुर नगरपालिका, भोटखोला, मकालु, चिचिला र सिलिचोङ गाउँपालिकाले खर्च विवरण पेस गरेका छैनन् । अन्य ६ स्थानीय तहहरूका कारण बजेट रोकिएपछि समस्या भएको विवरण बुझाइसक्ने स्थानीय तहका प्रमुखहरूले बताउने गरेका छन् । केही स्थानीय तहको कारणले बेलैमा विवरण बुझाउनेहरूलाई समस्यामा पार्न नहुने खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाको दाबी छ ।

‘हामीले बेलैमा सम्पूर्ण विवरण बुझाइसकेका छौं, अरू तहहरूको कमजोरीको हामीले पनि सजाय भोग्नु परेको छ’, उनले भने, ‘बजेट रोकिएपछि कार्यक्रम तथा आयोजना सञ्चालन गर्न समस्या भएको छ ।’ विवरण पेस गर्न बाँकी हुनेहरूको मात्र रोकेर अरू तहहरूको बजेट नरोक्न कोष तथा लेखा नियन्त्रण कार्यालयलाई अनुरोध गरिसकिएको उनले बताए ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?