१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कम उमेरमै आमा बन्दै

जिल्ला अस्पतालमा २० वर्षमुनिका महिलाले बच्चा जन्माउने क्रम घट्दै गएको देखाए पनि परीक्षण गराउन आउनेको संख्या बढ्दो
विप्लव भट्टराई

इलाम — भर्खरै कार्यान्वयनमा आएको मुलुकी संहिताले विवाह गर्ने उमेर महिला पुरुष दुवैलाई २० वर्ष तोकेको छ । यसअघि महिलाले १८ र पुरुषले २० वर्षमा विवाह गर्न पाउँथे ।

कम उमेरमै आमा बन्दै

तर कम उमेरमा आमा बन्नेहरूको संख्या हेर्दा यसअघि पनि कानुन पालनामा पर्याप्त ध्यान दिएको पाइँदैन । अझ विवाह गर्ने उमेर २ वर्ष थप भएपछि मुलुकी संहिता कार्यान्वयनमा थप सजगता अपनाउनुपर्ने देखिएको छ ।

चेतनास्तर राम्रो मानिएको इलाममा पनि कम उमेरमा विहे गर्ने र बच्चा जन्माउनेको संख्या उल्लेख्य पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकले कम उमेरमा बच्चा पाउनेको संख्या अझै घट्न नसकेको देखाएको हो ।

गत आर्थिक वर्ष ०७४/०७५ मा जिल्लामा २० वर्ष तथा त्योभन्दा कम उमेरका ७ सय ५० जना महिलाले पहिलोपटक गर्भ जाँच गराएका थिए । त्यसमा ३ सय ३ जना महिलाले जिल्लाका स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएको जनस्वास्थ्य कार्यालयको तथ्याङंमा उल्लेख छ । बाँकी महिला प्रसूतिका लागि जिल्ला बाहिर गएका थिए ।

कम उमेरमा वच्चा जन्माउनु पर्दा जोखिम बढी हुने भएको बुझेपछि धरैले झापालगायत सुविधा सम्पन्न स्थानमा प्रसूतिका लागि लैजाने गरेको पाइएको छ । कार्यालयको तथ्यांकले जिल्लाकै अस्पतालमा २० वर्षमुनिका महिलाले बच्चा जन्माउने क्रम घटदै गएको देखाए पनि परीक्षण गराउन आउनेको संख्याको कारण समस्या उस्तै रहेको देखिएको छ ।

जिल्लाको उत्तरी सन्दकपुर गाउँपालिकाका स्वास्थ्य प्रमुख मनोज शाहले यस क्षेत्रमा कम समयमा विवाह गर्ने र बच्चा जन्माउने धेरै रहेको बताए । ‘केटाको उमेरभन्दा आधा कमकी युवती गर्भवती हुने चलन छ,’ उनले भने, ‘सामाजिक सञ्जाल या अन्य कारण छिटो विवाह गर्ने र गर्भवती हुने गरेको पाइएको छ ।’ कम उमेरमा बच्चा पाउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा प्रतिकूल असर पर्ने स्वास्थ्यकर्मीको भनाइ छ । जनस्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स अधिकृत सरीता सुब्बाले जिल्लाका गाउँगाउँ पुगेर गरेको अध्ययनले कम उमेरमा आमा बन्ने र गर्भपतन गराउनेको संख्या उच्च रहेको देखाएको छ ।

कम उमेरमा आमा हुने अधिकांशको शल्यक्रियाबाट प्रसूति गराएको पाइएको उनले बताइन् । इलाम अस्पताल सहित जिल्लाका स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने ८० प्रतिशत महिलामध्ये ५० प्रतिशतले जिल्ला बाहिरका अस्पतालबाट प्रसूति सेवा लिने गरेका छन् । बाँकी ३० प्रतिशत महिलाले मात्र जिल्लाका स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिने गरेका छन् ।

अघिल्लो आर्थिक वर्षमा २० वर्षभन्दा बढी उमेर समूहका २१ सय जना महिलाले पहिलो गर्भ जाँच गराएका थिए । जिल्लामा कम उमेरमा विवाह गर्नेको संख्या बढेसँगै कलिलो उमेरमा सन्तान जन्माउने पनि बढेका हुन् । इलाम अस्पताल बाहेक ग्रामीण क्षेत्रमा रहेका बर्थिङ सेन्टरबाट प्रसूति सेवा लिएका पनि २० वर्षभन्दा कम उमेरका महिलाको संख्या उल्लेख्य रहेको पाइएको छ । इलाम अस्पताल र ग्रामीण क्षेत्रमा गरी जिल्लामा २३ वटा सुरक्षित प्रसूतिका लागि प्रसूति गृह सञ्चालनमा रहेका छन् ।

बालविवाहलाई निरुत्साहित गर्न स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला बालकल्याण समिति लगायतका विभिन्न संस्थाले बाल विवाह र कम उमेरमा शिशु जन्माउने अवस्थालाई न्यूनीकरण गर्न विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आए पनि सुधार हुन सकेको छैन ।

कम उमेरमा गर्भवती हुँदा आमा र शिशु दुवैको ज्यान जाने उच्च जोखिम रहे पनि चेतनाको अभावसँगै गरिबीले कारणले पनि २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने र आमा बन्ने पाइएको सुब्बाको भनाइ छ । शारीरिक परिपक्वता नभई किशोरीले शिशु जन्माउँदा शिशुमा कुपोषण र आमाको पाठेघर खस्ने लगायतका समस्या देखिने स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?