१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भालु आतंकले रातभर जाग्राम

खेतबारीको मकै लगायत अन्य कृषि उपज भालुले सखाप पारेपछि गाउँले एकै ठाउँ जम्मा भएर रात बिताउँदै
दीपेन्द्र शाक्य

संखुवासभा — भालुको आतंक बढेपछि मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रका स्थानीय रातभर जाग्राम बस्न थालेका छन् । कृषकले खेतबारीमा लगाएको मकै र अन्य कृषि उपज भालुले सखाप पारेपछि गाउँले एकै ठाउँ जम्मा भएर रात बिताउने गरेका हुन् ।

भालु आतंकले रातभर जाग्राम

भालु लखेट्न गाउँभरिका मान्छे कुकुरसहित होहल्ला गर्दै भेला हुने गरेका छन् । खेतबारीमा लगाएको मकै खान नपाएपछि भालुले मान्छेलाई आक्रमण गर्न थालेको स्थानीय बताउँछन् । गएको आइतबार सोलुसम्बुको महाकुलुङ गाउँपालिका ३ बोक्सुवारमा भालुको आक्रमणबाट पासाङदावा शेर्पा घाइते भए । खेतबारीमा लगाएको मकैको सुरक्षाका लागि बसेका उनी भालुको आक्रमणबाट घाइते भए ।

भालु मकै खानका लागि दिनको समयभन्दा रातको समयमा बढी आउने गरेको स्थानीयले बताएका छन् । केही समय अघिसम्म दिउँसो आउथ्यो, धेरै मान्छे देखेपछि राति आउन थालेको छ, उनले भने, ‘भालु लखेट्न होहल्ला गर्दै कराउँदा उल्टै घाइते बने, अरू गाउँलेहरू आएर बचाए । मकै खान ठूलो बथान आउन थालेको छ । मकैबारीमा दुई/चार जना मात्रै जान हुँदैन, धेरै ठूलो समूह भएमा मात्रै जानुपर्छ, उनले भने, ‘अब बाली हैन ज्यान जोगाउन गाह्रो भयो ।’

यसअघि पनि छेस्कामका धेरै जनालाई भालुले आक्रमण गरेर घाइते बनाइसकेको स्थानीयले बताए । भालुको आक्रमणबाट बर्सेनि धेरै घाइते हुने गरेको शेर्पाले टेलिफोनमा जानकारी दिए । भालुको आक्रमणबाट गम्भीर घाइते भएका शेर्पाको शरीरका विभिन्न भागहरूमा ठूल्ठूला चोट र घाउ भएको छ । उनको तत्कालै सुविधा सम्पन्न अस्पतालमा उपचार गराउनुपर्ने भए पनि गाउँले जडिबुटीको भरमा घरमा नै उपचार गराइरहेका छन् ।

उपचार गर्न जान गाउँदेखि ५/६ घण्टा टाढा रहेको स्वास्थ्य चौकी पुग्नुपर्छ । हिँडेर जान सकिँदैन, गाउँका साथीभाइलाई बोकाएर लैजान गोरेटो बाटो समेत राम्रो छैन । बोक्ने सक्ने बलियो मान्छे पाउन पनि मुस्किल छ । गाउँमाथिबाट मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रले ढाकेको छ । निकुञ्ज क्षेत्रमा वन्यजन्तुहरू प्रशस्त छन् । वन्यजन्तु मार्‍यो भने उल्टै कानुन लाग्छ भनेर वन्यजन्तुको हानिनोक्सानी सहन बाध्य भएको उनले बताए ।

मानवीय सुरक्षा पहिलो आवश्यता हो, उनले भने, ‘आत्मरक्षा र पशु तथा अन्नबालीको सुरक्षाका लागि मध्यवर्ती क्षेत्रको संवेदनशील क्षेत्रमा बसोबास गर्ने सबैलाई समस्या छ ।’ सरकारले वन्यजन्तुको संरक्षण गर्न आवश्यक छ, उनले भने, ‘स्थानीयको पीडा र पीरमार्कासमेत कसैले बुझेको छैन ।

मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा भालु मात्रै नभई बाँदर र चितुवा लगायत अन्य जंगली जनावरको समेत बिगबिगी बढेको छ । जसका कारण निकुञ्ज क्षेत्रभित्रका स्थानीयहरूले वार्षिक रूपमा ठूलो हानि नोक्सानी व्यर्होर्न बाध्य भइरहेका छन् । निकुञ्ज क्षेत्र संखुवासभा र सोलुखुम्बुमा फैलिएको छ ।

निर्देशिकामा पशुधन र अन्नबालीमा भालुले पुर्‍याएको नोक्सानीमा भने क्षतिपूर्तिको व्यवस्था छैन । भालुका कारण स्थानीयबासी सधैं आतंकित छन् । घाँसदाउरा र हिँडडुलका लागि वननजिक जानसमेत समस्या हुने स्थानीयको भनाइ छ ।

क्षतिपूर्ति दिनेमात्र नभएर भालुबाट मानिस र खेतीबालीलाई नै सुरक्षित गर्ने कार्यक्रम ल्याइनुपर्ने उनीहरूले माग गर्दै आएका छन् । मृग, दुम्सीलगायतका अन्नबाली खाइदिने अन्य वन्यजन्तुबाट पनि आफूहरू पीडित बन्दै आएको स्थानीयहरूको गुनासो छ । वन्यजन्तुका कारण आफूहरूको जीविका नै नराम्ररी प्रभावित बनिरहेको उनीहरूको भनाइ छ ।

यसले गर्दा कालोभालुको संरक्षणमा पनि चुनौती थपिने देखिएको छ । क्षति पुर्‍याउने भएपछि स्थानीयहरूले विष प्रयोग गरेर वा पासो थापेर भालु मार्ने गरेको समाचार बेला–बेला बाहिर आउने गरेको छ । अन्नबाली, घरपालुवा जनावर र मानिसमाथि हुने आक्रमणबाट जीविकोपार्जनमा समेत परेको असरका कारण भालुप्रति स्थानीयहरूको सोचमा नकारात्मक असर परिरहेको निकुञ्जले औंल्याएको छ ।

प्रकाशित : भाद्र १२, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?