कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कुकुरपालकले औंला टोकिदिए

जितेन्द्र साह

विराटनगर — दुई महिना अगाडि घर अघिल्तिर कुकुरलाई दिसापिसाब गराउँदा छिमेकीबीच झगडा भयो । विराटनगर–८, जयनेपाल चोकमा भएको झगडा जिल्ला प्रशासन कार्यालयसम्म पुग्यो । अहिलेसम्म यो मुद्दा उक्त कार्यालयमा विचाराधीन छ ।

कुकुरपालकले औंला टोकिदिए

अपमानजनक शब्द प्रयोग गर्दै कुकुर साहुले दाँतले टोक्दा एक स्थानीय महिलाको कान्छी औंलाको अग्रभाग चुँडिएको थियो । अर्को दिन मात्र भेटिएको औंलाको टुक्रा चिकित्सकले जोड्न सकेनन् ।

सौन्दर्य व्यवसायी ती महिला अहिले औंलाको उपचारका लागि अस्पताल धाइरहेकी छन् । घर वरपर सफा राख्न खोज्दा उनी पीडित बन्न पुगिन् । सार्वजनिक हाँसोको पात्र बनिने डरले दुवै पक्ष खुलेर बोल्न चाहँदैनन् तर पीडित पक्ष एवं छरछिमेक धेरैपटक न्यायका लागि स्थानीय प्रहरी प्रशासन कार्यालय धाए । ‘फैसला भएको छैन, आफ्नै खर्चमै उपचार गराइरहेकी छु,’ पीडितले भनिन् । घटना विवरण अनुसार विरोध गरेकोमा कुकुर धनीले ‘सडक तिम्रो बाबुको बिर्ता हो’ भन्दै हातमा बोकिरहेको लठ्ठीले ती छिमेकी महिलालाई कुट्न थाले । श्रीमतीलाई बचाउन नजिकै रहेका श्रीमान् दौडदै पुगे ।

दुई वर्षअघि मात्र ब्रेन हयामरेजबाट बचेर स्वास्थ्य लाभ गरिरहेका श्रीमानलाई समेत कुकुर साहुले लठ्ठीले आक्रमण गर्न थालेपछि पत्नीले जोगाउन खोजिन् । यो क्रममा उनको द्रेवे हातको दुई औंला ती कुकुर मालिकको मुखमा छिरेको थियो । ‘श्रीमतीको कान्छी औंलाको टुप्पा चुडाइदिए, अर्को औंला मुस्किलले जोगाइन्,’ पीडितका श्रीमानले भने ।

हुन त अंगभंग र गालीबेइज्जतीको मुद्दा आकर्षित हुने यो घटना कानुनी कारबाहीका क्रममा अघि बढिसकेको छ । यो नै अन्तिम घटना भने होइन । पैदल यात्रु हिँडने सडक छेउछाउ एवं हरेक पल आवागमन हुने घर अघिल्तिर दिसापिसाब गराउने क्रममा विराटनगर महानगरपालिकामा कुकुर साहुसाहुनी र स्थानीयबीच दिनहुँ बिहानबेलुका भनाभन भइरहेको हुन्छ ।

बाटोको दुवै किनार र फुटपाथमा यहाँ कुकुरको दिसापिसाब मात्र देखिने हुनाले बटुवालाई आउजाउमा कठिनाइ हुन्छ । जति नै सावधानीका साथ हिँडिए पनि दिसा कुल्चिने गरिएको स्थानीय ७० वर्षीय विश्वनाथ गिरीले बताए । ‘कहिलेकाहीँ कामको हतारोमा घरबाट निस्कँदा प्रवेशद्वार छेउछाउकै दिसापिसाबमा खुट्टा पर्छ,’ उनले भने, ‘मजाले खुट्टा नधोइ हिँडे पैताला चिलाएर हैरान हुन्छ ।’

कुकुर धनीले घरभित्रै दिसापिसाब गराएर पुर्ने वा प्लास्टिकमा गर्न लगाएर सुरक्षित थलोमा फाल्नु उचित हुने उनले सुझाव दिए । बिहानसाँझ घरको छत, झ्याल र बार्दलीबाट बाहिर हेर्दा कुकुर धनिको बाक्लो उपस्थितिले स्थानीय टोलगल्ली खुला चर्पीझैं देखिने गरेको विराटनगर–७ का समाजसेवी शशि श्रेष्ठले बताइन् । ‘खुला दिसापिसाब मुक्त क्षेत्र भनेको मान्छेसँगै कुकुरलाई पनि लागू हुन्छ नि,’ उनले भनिन्, ‘सडक, नाला र फुटपाथमा गराइएको दिसापिसाब टेकिएर अन्तत: हाम्रै घरआँगन र बारीसम्म पुग्ने हो ।’

नागरिक समाजबाट लगातारको गुनासोपछि सार्वजनिक थलोमा दिसापिसाब नगर्न र नगराउन माइकिङ गरिरहेको विराटनगर महानगरपालिकाकी वातावरण विभाग प्रमुख अनीता न्यौपाने कोइरालाले बताइन् ।

तुरुन्तै कारबाहीभन्दा पनि पहिलो चरणमा आफूहरूले महानगरवासीलाई सचेत एवं सावधान रहन घचघचाइरहेको उनले जनाइन् । ‘माइकिङबाट जनचेतना अभियानलाई अझैं तीव्रता दिन्छौं, त्यसपछि पनि नमान्नेहरूलाई ऐनअनुरूप हजारौं रुपैयांँ जरिवाना गर्छौं,’ उनले भनिन् । ‘महानगरमा घर र महल ठड्याउने सभ्य नागरिकलाई सडकमामा लगेर कुकुरलाई दिसापिसाब गराउन नहुने भनिराख्नु नपर्ने हो नि ?,’ कोइरालाले भनिन्, ‘तर, उनीहरूले नै यसो गरिरहेका हुन्छन् ।’

प्रकाशित : भाद्र १२, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?