कुकुरपालकले औंला टोकिदिए

जितेन्द्र साह

विराटनगर — दुई महिना अगाडि घर अघिल्तिर कुकुरलाई दिसापिसाब गराउँदा छिमेकीबीच झगडा भयो । विराटनगर–८, जयनेपाल चोकमा भएको झगडा जिल्ला प्रशासन कार्यालयसम्म पुग्यो । अहिलेसम्म यो मुद्दा उक्त कार्यालयमा विचाराधीन छ ।

अपमानजनक शब्द प्रयोग गर्दै कुकुर साहुले दाँतले टोक्दा एक स्थानीय महिलाको कान्छी औंलाको अग्रभाग चुँडिएको थियो । अर्को दिन मात्र भेटिएको औंलाको टुक्रा चिकित्सकले जोड्न सकेनन् ।

सौन्दर्य व्यवसायी ती महिला अहिले औंलाको उपचारका लागि अस्पताल धाइरहेकी छन् । घर वरपर सफा राख्न खोज्दा उनी पीडित बन्न पुगिन् । सार्वजनिक हाँसोको पात्र बनिने डरले दुवै पक्ष खुलेर बोल्न चाहँदैनन् तर पीडित पक्ष एवं छरछिमेक धेरैपटक न्यायका लागि स्थानीय प्रहरी प्रशासन कार्यालय धाए । ‘फैसला भएको छैन, आफ्नै खर्चमै उपचार गराइरहेकी छु,’ पीडितले भनिन् । घटना विवरण अनुसार विरोध गरेकोमा कुकुर धनीले ‘सडक तिम्रो बाबुको बिर्ता हो’ भन्दै हातमा बोकिरहेको लठ्ठीले ती छिमेकी महिलालाई कुट्न थाले । श्रीमतीलाई बचाउन नजिकै रहेका श्रीमान् दौडदै पुगे ।

Yamaha

दुई वर्षअघि मात्र ब्रेन हयामरेजबाट बचेर स्वास्थ्य लाभ गरिरहेका श्रीमानलाई समेत कुकुर साहुले लठ्ठीले आक्रमण गर्न थालेपछि पत्नीले जोगाउन खोजिन् । यो क्रममा उनको द्रेवे हातको दुई औंला ती कुकुर मालिकको मुखमा छिरेको थियो । ‘श्रीमतीको कान्छी औंलाको टुप्पा चुडाइदिए, अर्को औंला मुस्किलले जोगाइन्,’ पीडितका श्रीमानले भने ।

हुन त अंगभंग र गालीबेइज्जतीको मुद्दा आकर्षित हुने यो घटना कानुनी कारबाहीका क्रममा अघि बढिसकेको छ । यो नै अन्तिम घटना भने होइन । पैदल यात्रु हिँडने सडक छेउछाउ एवं हरेक पल आवागमन हुने घर अघिल्तिर दिसापिसाब गराउने क्रममा विराटनगर महानगरपालिकामा कुकुर साहुसाहुनी र स्थानीयबीच दिनहुँ बिहानबेलुका भनाभन भइरहेको हुन्छ ।

बाटोको दुवै किनार र फुटपाथमा यहाँ कुकुरको दिसापिसाब मात्र देखिने हुनाले बटुवालाई आउजाउमा कठिनाइ हुन्छ । जति नै सावधानीका साथ हिँडिए पनि दिसा कुल्चिने गरिएको स्थानीय ७० वर्षीय विश्वनाथ गिरीले बताए । ‘कहिलेकाहीँ कामको हतारोमा घरबाट निस्कँदा प्रवेशद्वार छेउछाउकै दिसापिसाबमा खुट्टा पर्छ,’ उनले भने, ‘मजाले खुट्टा नधोइ हिँडे पैताला चिलाएर हैरान हुन्छ ।’

कुकुर धनीले घरभित्रै दिसापिसाब गराएर पुर्ने वा प्लास्टिकमा गर्न लगाएर सुरक्षित थलोमा फाल्नु उचित हुने उनले सुझाव दिए । बिहानसाँझ घरको छत, झ्याल र बार्दलीबाट बाहिर हेर्दा कुकुर धनिको बाक्लो उपस्थितिले स्थानीय टोलगल्ली खुला चर्पीझैं देखिने गरेको विराटनगर–७ का समाजसेवी शशि श्रेष्ठले बताइन् । ‘खुला दिसापिसाब मुक्त क्षेत्र भनेको मान्छेसँगै कुकुरलाई पनि लागू हुन्छ नि,’ उनले भनिन्, ‘सडक, नाला र फुटपाथमा गराइएको दिसापिसाब टेकिएर अन्तत: हाम्रै घरआँगन र बारीसम्म पुग्ने हो ।’

नागरिक समाजबाट लगातारको गुनासोपछि सार्वजनिक थलोमा दिसापिसाब नगर्न र नगराउन माइकिङ गरिरहेको विराटनगर महानगरपालिकाकी वातावरण विभाग प्रमुख अनीता न्यौपाने कोइरालाले बताइन् ।

तुरुन्तै कारबाहीभन्दा पनि पहिलो चरणमा आफूहरूले महानगरवासीलाई सचेत एवं सावधान रहन घचघचाइरहेको उनले जनाइन् । ‘माइकिङबाट जनचेतना अभियानलाई अझैं तीव्रता दिन्छौं, त्यसपछि पनि नमान्नेहरूलाई ऐनअनुरूप हजारौं रुपैयांँ जरिवाना गर्छौं,’ उनले भनिन् । ‘महानगरमा घर र महल ठड्याउने सभ्य नागरिकलाई सडकमामा लगेर कुकुरलाई दिसापिसाब गराउन नहुने भनिराख्नु नपर्ने हो नि ?,’ कोइरालाले भनिन्, ‘तर, उनीहरूले नै यसो गरिरहेका हुन्छन् ।’

Esewa Pasal

प्रकाशित : भाद्र १२, २०७५ ०९:१७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मियो बन्दै ग्रामीण महिला

जितेन्द्र साह

विराटनगर — एक वर्षअघिसम्म ४० वर्षीय नकुल सहनीको पारिवारिक जीवन सामान्य ढंगले अघि बढिरहेको थियो । उनी र श्रीमती पार्वतीले दिनरात श्रम गरेर दुई छोरीलाई पाल्दै प्रगति पथमा अग्रसर थिए ।

विराटनगरमा बिहान लाग्ने मजदुर हाटमा कामको पर्खाइमा बसेका निरक्षर एवं विपन्न ग्रामीण महिला । तस्बिर : जितेन्द्र

मोरङको धनपालथान–६, लोहन्द्रा खोला किनार बस्ने सहनी परिवारले चौध वर्षको मिहिनेतले ११ धुर निजी जग्गा पनि जोडे ।

एक वर्षअघि मोटरसाइकलको ठक्करले घाइते भएका नकुल आजीवन हिँडडुल गर्न नसक्ने भए । जीवनको सन्तुलन बिग्रियो । तर जुझारू स्वभावकी सहनीका पत्नी पार्वतीले हरेस खाइनन् । यो दुर्घटनाअघि श्रीमान् नकुल काठमाडौंमा जागिर गर्दा पनि उनी घर निर्माण श्रमिकको रूपमा दिनहुँ ज्याला मजदुरी गर्दै परिवारको आर्थिक सबलीकरणमा सघाइरहेकै थिइन् ।

घर र माइत पक्ष समेत सहयोग गर्ने स्थितिमा थिएनन् । उनीसँग हातखुट्टाकै भर थियो । थप श्रम गरेर श्रीमान् एवं दुई नाबालक छोरीको एक्लैले हेरचाह गर्ने उनले अठोट लिइन् । श्रीमानकै बरोबर उमेरकी उनले १४ वर्षदेखि निर्माण श्रमिकका रूपमा पहिचान बनाइ सकेकै थिइन् । शारीरिक रूपले श्रीमान् अक्षम भएपछि उनको भूमिका एवं जिम्मेवारी थपियो ।

एक वर्षदेखि उनी कमाउनलाई बाहिर जान्छिन् भने पति नकुलले घरमा नानीको हेरचाह गर्छन् । घरबाट पौने घण्टा हिँडेर उनी विराटनगरको मुख्य चोकहरू हाटखोला, बरगाछी, रोडसेस, तीनपैनी, कञ्चनबारी र गुद्रीमा लाग्ने मजदुर हाट पुग्छिन् । यो महानगरमा उहिलेदेखि दिनहुँ बिहान लाग्ने यीनै हाटबाट निर्माण ठेकेदार र साहुहरूले काम अनुकुलको श्रमिक छानेर लान्छन् । विराटनगरदेखि नजिकैको मोरंङो कटहरी–३, चोकमा घर निर्माण मिस्त्री र ठेकेदारको बेग्लै हाट लाग्छ ।

‘काम सिक्ने क्रममा केही दिन कठिन भयो, पछि त अभ्यस्त भइहालेँ,’ उनले भनिन्, ‘पुरुषसँग काम गर्न जाँदा सुरुमा परिवार र छिमेकले कुरा काट्थे तर अहिले सबैले इज्जत गर्छन् ।’ दुई कठ्ठा एलानी जग्गामा दुई कोठे घर बनाएर बस्दै आएका सहनी परिवारले श्रमको आयले नै आफ्नो जग्गा किने । उनी दुई स्वस्थ छोरीहरू ८ वर्षीय काजल र ४ वर्षीया मनिषाका आमा हुन् । ‘जग्गा किन्दा लिएको दुई लाख ऋण चुक्ता गरिसक्यौं,’पार्वतीले भनिन्, ‘अब सहरमै बसेर छोरीहरूको भविष्य बनाउन चाहन्छौं ।’

बूढाबूढी दुवैले काम गर्दा बचत हुने गरे पनि अहिले उनको जीवनको हिसाबकिताब बरोबरीमा छ । ‘मेरो मात्र कमाइ खाँदालाउँदा सकिन्छ,’उनले भनिन्, ‘छोरीहरू र पतिको हेरचाह गर्न खर्च पुग्ने गरी घरेलु कामदारसम्बन्धी राम्रो काम पाएमा ज्यालादारी मजदुरी छाड्छु ।’ पार्वतीको अन्तिम लक्ष्य भनेको छोरीहरूले राम्ररी खान, लाउन र पढ्न पाओस् भन्ने मात्र हो ।

विराटनगरको मजदुर हाटमा भेटिनेमा उनी एक्ली महिला होइनन् । स्वाभिमान एवं मिहिनेतकासाथ जस्तोसुकै काम गर्न पछि नहट्नेमा उनको छिमेकी एकल महिला २५ वर्षीया सुनीता सहनी पनि छन् । भारत विहारको फारविसगञ्जमा विहे भएकी उनी श्रीमान् बितेपछि माइतीमै बस्छिन् । उताको घर पट्टिका नीकै गरिब भएकाले माइतीमा बसेर नाबालक छोरालाई हुर्काउन उनी ८/९ वर्षदेखि हरेक दिन विराटनगर आएर मजदुरी गर्दैछिन् । छोरा र श्रीमान दिवंगत भइसकेका मोरंग कटहरी–२ आदर्शनगर वस्तीकी ७५ वर्षीय विना पण्डित पनि ६/७ वर्षदेखि निर्माण श्रमिकको काम गरेर जीवन निर्वाह गरिरहेकी छन् ।

मोरंगको जहदा–३, लक्ष्मीनियाँकी ४० वर्षीया सुनीता मुखियाको श्रीमान लक्ष्मण भ्यान चालक हुन् । एक दसकदेखि सवारी चालक उनी महिनामा ३०/३५ हजार कमाउँछन् ।

कक्षा–३, ४ र ५ मा पढ्ने तीन छोरी र भर्खरै तीन वर्षमा पाइला राखेका छोराको भविष्य सपार्ने भार श्रीमानमाथि मात्र थोपर्न नदिनलाई सुनीता पनि सधैं काम खोज्दै मजदुर हाट आउँछिन् । उनी पनि एक दसकदेखि निर्माण स्थलमा गिट्टी र बालुवा मिसाउने श्रमिकको काम गर्छिन् ।

दैनिक औषत ५ सय ज्यालाको हिसाबले सुनीताले पनि महिनामा १५ हजार कमाउँछिन् । उनले भनिन्, ‘श्रीमानले मात्र काम गर्दा खर्च टार्न निकै गाह्रो छ ।’ तर श्रीमान पनि बिहानै निस्कने हुनाले भान्छाको जिम्मेबारी पनि सुनीतामाथि नै छ । ‘चाँडो उठ्छु, बिहान खाना पकाएर नानीबाबुलाई सम्झाइबुझाइ निस्कन्छु, साँझ फर्केपछि पुन: पकाउँछु,’ उनले भनिन्, ‘बच्चाबुच्चीको हेरचाह पनि गर्नुपर्ने हुनाले काम गर्न विराटनगर बाहिर जान्न ।’ बिहान ५ बजेर उठी सबै काम सकी उनी साइकल हाँक्दै मजदुर हटियामा बिहान ८ बजेसम्म आइपुग्छिन् । पुरुषझैं अधिकांश महिला श्रमिकले निजी बाहनका रूपमा साइकल प्रयोग गर्छन् ।’

मोरङको कटहरी–२ का निर्माण मिस्त्री ४८ वर्षीय तीनताल राजवंशीका अनुसार इमानदार र परिश्रमी स्वभावका कारणले महिला मजदुरको माग र संख्या बढिरहेको बताए । १५ वर्षदेखि घर ढलाइको काम गर्दै आएका उनको अनुसार भान्छादेखि घर निर्माणसम्ममा सक्रिय महिलाको बरोबरी पुरुषले गर्न सक्दैनन् ।

उनले यही स्वभावका कारण केही वर्षअघिसम्म विराटनगरको दुई चोक हाटखोला र रोडशेषमा मात्र महिला श्रमिक देखिए पनि अहिले सर्वत्र भेटिन थालिएको बताए । सबै चोकमा भेला हुने ७ सय मजदुरमा सय जति मात्र महिला भए पनि उनीहरू कार्यकौशलको दृष्टिकोणले नीकै लोकप्रिय रहेको अर्का राजमिस्त्री रामविलास यादवले बताए ।

पुरुष मिस्त्रीले अग्लाअग्ला ठाउँमा जडान र ढलान गर्छन् । महिला मजदुरले इँटा र बालुवा बोक्छन् । मसला तयार गर्छन् । ‘पुरुष र महिला दुवैले गर्ने काम महत्वपूर्ण छन्,’ यादवले भने, ‘बालुवा र गिट्टि छान्ने, सहि अनुपातमा बालुवा, सिमेन्ट एवं अन्य रसायनको मिश्रण गरी इँटा तथ पिलर जोडाइका लागि मसला बनाउन ज्ञान एवं नीकै अभ्यास चाहिन्छ ।’ उनको अनुसार यो सीपमा पुरुषभन्दा महिला नै अगाडि छन् ।

प्रकाशित : भाद्र ८, २०७५ ०८:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT