‘लेनदेन विवादमा हत्या’

मोरङ — विराटनगर २ स्थित बिक्की हार्डवेयर पसलका ५१ वर्षीय सेक्युरिटी गार्ड टंकप्रसाद भट्टराईको भदौ २ गते राति भएको हत्या पैसा लेनदेनको विवादमा भएको खुलेको छ ।

‘लेनदेन विवादमा हत्या’

उनको हत्या आरोपमा विराटनगर ४ जामुनगाछीका २६ वर्षीय संजय सहनीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

विराटनगर ४ घर भएका भट्टराई र बिक्की हार्डवेयर लगायतका पसलमा ठेलामा सामान ल्याउनेलग्ने सहनीको बीचमा पैसा लेनदेनको विषयमा विवाद हुँदा हत्या भएको जिल्ला प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीले पसलमा भएको सिसिटिभी फुटेजमा घटना भएको दिन सहनी ३/४ पटक ओहोरदोहोर गरेको देखिएको बताए ।

‘घटना भएपछि शंकास्पद व्यक्तिहरू ११ भन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै सिसिटिभी फुटेज अध्ययन गर्ने काम सँगसँगै अघि बढायौं,’ उनले भने, ‘सिसिटिभी फुटेजमा सहनी ३/४ पटक अस्वाभाविक मुद्रामा ओहोरदोहोर गरेको देखिएपछि शंका लागेर निगरानी गर्न थाल्यौं ।’ घटना उसैले गरेको अनुसन्धानले देखाएपछि आइतबार बिहान सहनीलाई विराटनगर १५ रानीबाट नियन्त्रणमा लिएको केसीले बताए ।

‘घटनाको प्रकृति र सहनीले दिएको बयान हुबहु मिल्यो,’ उनले भने, ‘सहनीले भनेकै ठाउँबाट हत्यामा प्रयोग भएको छड र फलामसमेत बरामद भएको छ ।’ उक्त छड र फलाममा लागेको रगत जाँचका लागि फरेन्सिक ल्याबमा पठाएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको केसीले बताए ।

पैसाको विषयमा विवाद भएपछि आवेशमा आएर सहनीले भट्टराईलाई हातले पछाडितिर धक्का दिँदा टाउको पर्खालमा ठोकिएको थियो । टाउको पर्खालमा ठोकिँदा हल्ला गर्न थालेपछि सहनीले छड र फलामले कुटेर हत्या गरेको प्रहरी उपरीक्षक केसीले बताए । सहनी र भट्टराईबीच लामो समयदेखिको चिनजान थियो ।

सहनीले भट्टराईसँग भएको पैसा र मोबाइल लिएर गएको अनुसन्धानबाट खुलेको छ । निरवकुमार अग्रवालले सञ्चालन गरेको हार्डवेयर पसलमा कार्यरत भट्टराईको शव भदौ ३ को बिहान वीभत्स अवस्थामा फेला परेको थियो ।

हार्डवेयरमा ५ कर्मचारी र ४ मजदुर कार्यरत थिए । उनीहरू सबै शनिबार छुट्टीमा बसेका र भट्टराई मात्र रात्रि सुरक्षाका लागि खटिएका थिए ।

प्रकाशित : भाद्र १२, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?