कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गति लिँंदै विकास निर्माण

साकेला गाउँपालिका सबै वडामा सडक, गुणस्तरीय शिक्षा, पर्यटनको गुरुयोजना र चियाको पकेट क्षेत्रको विकासमा लागेको छ
डम्बरसिं राई

खोटाङ — साकेला गाउँपालिकामा विकास निर्माणका कामलाई तीव्रता दिइएको छ । सडक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रमा गाउँपालिकाले कार्यक्रम ल्याएसँगै धमाधम काम भइरहेको छ ।

गति लिँंदै विकास निर्माण

गाउँको सबै पाँचवटै वडामा सडक पुगेको छ । प्रदेश सरकारको समेत सहयोगबाट यो वर्ष सडकको स्तर बढाइने अध्यक्ष अर्जुनकुमार खडकाले बताए । उनका अनुसार मात्तिम कात्तिके–मानेभन्ज्याङ–पानधाने सडकका लागि ५८ लाख रुपैयाँ खर्च गरिने भएको छ । रतन्छा–मानेभन्ज्याङ–छितापोखरी सडकका लागि दुई करोड १५ लाख रुपैयाँ खर्च गरिने खड्काले सुनाए ।


‘एक वडा, एक सडक’ नारासाथ सबै वडामा ‘लिंक रोड’ यसै वर्ष स्तरोन्नति गर्ने योजना बनाइएको छ । यसका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको उनले जनाए । सबै विद्यालयमा गुणस्तरीय शिक्षा, बालमैत्री कक्षा, विभिन्न शैक्षिक सामग्री खरिदलगायतका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।


गाउँमा पाँच माध्यमिक विद्यालय, तीन आधारभूत विद्यालय र १८ प्राथमिक विद्यालय छन् । सबै विद्यालयमा गुणस्तरीय शिक्षाका लागि अभिभावक, शिक्षक, विद्यार्थी र पालिका बीचको समन्वय भइरहेको खडाले बताए । भविष्यको जनशक्ति उत्पादन गर्ने क्षेत्र भएकाले यसको गुणस्तरलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।


स्वास्थ्यमा सबैको पहुँच पुग्ने गरी स्वास्थ्य संस्था तथा दक्ष जनशक्तिका लागि जोड दिइएको खडकाले बताए । यसबाहेक स्वास्थ्यसम्बन्धी उपकरण खरिद, औषधि खरिद लगायतका लागि १७ लाख बजेट विनियोजन गरिएको छ । सबै नागरिकको स्वास्थ्यसम्बन्धी अधिकार भएकाले त्यसको अनुभूति हुने खालको स्वास्थ्य क्षेत्रको सुधार तथा विकासमा लागि परेको उनको भनाइ छ ।


यो गाउँपालिकाले पर्यटनलाई समृद्धितिर लैजाने मुख्य आधार मानेर यसको विकासका लागि गुरुयोजना बनाएको छ । यस अन्तरगत चखेवाभन्ज्याङबाट मपारुङभीर हुँदै मानेभन्ज्याङ–तावाभन्ज्याङसम्म पदमार्ग, तावाभन्ज्याङमा तावाताल निर्माण गरिने भएको छ । धोद्रेश्वरगुफा संरक्षण तथा प्रवद्र्धन, मपारुङभीरमा शाहसिक दृश्यावलोकन, साप्सुढाप प्रवद्र्धन, टेम्केभ्युटावर, सेल्मे लगायतका पर्यटन विकासमा जोड दिएर गुरुयोजना बनाइएको छ ।


स्थानीय कृषि व्यवसाय प्रवद्र्धनका लागि समिति गठन तथा परिचालन कार्यविधि पारित गरेर कृषिमा उल्लेख्य उपलब्धि हासिल गर्ने योजना बनाइएको खड्काको दाबी छ । यसका लागि पकेटक्षेत्र विकास कार्यक्रम तय गरेर काम थालनी गरिएको छ । लेकाली भेग, कछाड र बेंसी गरी तीन तहमा कृषि पकेट क्षेत्र बनाउने योजना बनाइएको उनले सुनाए ।


उनका अनुसार खिदीमा, रतन्छा र बाझेको लेक क्षेत्रमा किवी, रेन्बोट्राउट, चियालगायतको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ । बाझे र रतन्छाको कछाडमा अलैंची पकेट क्षेत्र र बाझे, मात्तिम तथा रतन्छाको बेंसीमा फलफूल तथा तरकारी पकेट क्षेत्र बनाउन सुरु गरिएको खडकाले बताए । पालिकाले अर्गानिक खेतीमा जोड दिएको छ । करेसाबारी सुधार, मुत्र संकलनलगायतका कार्यक्रम समेत समावेश गरिएको खड्काको भनाइ छ ।


प्रकाशित : भाद्र १३, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?