‘पेटभरि पानी पाऊँ ’

खडेरीले अन्नबाली सुकेर भोकमरी लाग्ने अवस्था
खडेरीग्रस्त क्षेत्र पुगेका मन्त्रीसँग गाउँलेले मागे पानी

तेह्रथुम — खडेरीपीडित क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहितका प्रतिनिधिसमक्ष स्थानीय लाखबहादुर लिम्बुले माग राखे– ‘पेटभरि पानी दिनुस्, सडक, बिजुली, विद्यालय र अरू विकास बिस्तारै गरे हुन्छ ।’

‘पेटभरि पानी पाऊँ ’

स्थानीय युवा चीनकुमार लिम्बुको पनि माग उस्तै थियो । ‘खडेरीले अन्नपात सबै सुक्यो, गाउँले धमाधम बसाइँ हिंडिरहेका छन्,’ उनले भने, ‘पर्याप्त पानी पाए सबै ठीक हुन्थ्यो ।’ तेह्रथुमको छथर गाउँपालिकाको पञ्चकन्या र फाक्चामारा र पाँचथरको तुम्बेवा र कुम्मायक गाउँपालिकाका अधिकांश वडा मध्यवर्षादमा पनि खडेरीको चपेटमा छन् ।

लामो समयदेखि पानी नपर्दा गाउँमा अन्नबाली सुकेर परालजस्तै भएको छ । यिनै खडेरी क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका सांसद र मन्त्रीसमेतको टोलीलाई स्थानीयले पिउने र सिंचाइका लागि पानी मागिरहेका छन् । टोलीले दुई दिन लगाएर छथर गाउँपालिकाको सुक्खा क्षेत्रको स्थलगत निरीक्षण गरी स्थानीयसँग छलफल गरेको हो ।

खडेरीले अन्नबाली सुकेर भोकमरी लाग्ने अवस्था आएपछि प्रदेश सरकारपीडित किसानका खेतबारीमै आएर स्थलगत निरीक्षण गरेको मन्त्री आङ्बोले बताए । प्रदेश मन्त्रिपरिषद् बैठकले गत भदौ ७ गते मन्त्री आङ्बोको नेतृत्वमा तेह्रथुमका सांसद लक्ष्मण तिवारी, पाँचथरका सांसद प्रतापप्रकाश हाङ्गाम, आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपत् महाशाखा प्रमुख रवीन्द्र आचार्यसहितको समिति गठन गरेको थियो । समितिले १५ दिनभित्र स्थलगत अनुगमन निरीक्षण गरी विस्तृत अध्ययन प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ ।

खडेरीले खेतबारी र जंगलमा रहेको घाँससमेत सबै सुकेपछि पशु चौपायालाई खुवाउनसमेत समस्या भएको किसानको भनाइ छ । पानी अभावमा खाद्यान्न बाली सबै सुकेर दैनिक जीवन यापनमा समेत समस्या भएको पाएको मन्त्री आङ्बोले बताए ।

मध्य वर्षामा परेको खडेरीका कारण वडा ३, ४ र ५ का ८ सय ५४ घरधुुरी प्रभावित भएको गाउँपालिकाले निकालेको क्षति विवरणमा उल्लेख छ । खडेरीका कारण वडा ३ पञ्चकन्यामा ५ हजार ७ सय २५ मुरी मकै, वडा ४ फाक्चामारामा १२ हजार ९ सय ७० मुरी मकै र वडा ५ ओख्रेमा २ हजार ५ सय ८० मुरी मकै क्षति भएको गाउँपालिका अध्यक्ष लिम्बुले बताए ।

प्रकाशित : भाद्र १४, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?