महानगरमै छैन ल्यान्डफिल साइट
विराटनगर — प्रदेश १ को एक मात्र महानगर र सबैजसो नगरको समस्या फोहोर व्यवस्थापन बनेको छ । व्यवस्थित रूपमा फोहोर विसर्जनको सुविधा नभएकाले नगर दुर्गन्धित बन्ने गरेको छ । केही नगरमा भने फोहोर उपयोग गरी मल बनाउन थालिएको छ । कतिपयमा फोहोर फाल्ने स्थान ‘ल्यान्डफिल साइट’ नै छैन ।
इलामबाट विप्लव भट्टराई, मोरङबाट देवनारायण साह र झापाबाट अर्जुन राजवंशीको रिपोर्ट :
फोहोरबाट मोहोर
बजार बढ्ने क्रमसँगै फोहोर व्यवस्थापनको समस्या चुलिँदै जाँदा इलाम नगरपालिकामा भने फोहोरबाट कम्पोस्ट मल बनाउन थालिएको छ । जसबाट नसड्ने फोहोर व्यवस्थापनमा सहज मात्र भएको छैन, आम्दानीको स्रोत बढ्नुका साथै कृषि उत्पादन बढाउन पनि सहज भएको छ ।
लामो प्रयासपछि नगरपालिकाले नसड्ने फोहोर प्रशोधन प्लान्ट बनाएर कार्यान्वयनमा ल्याएको हो । १ वर्षअघि सुरु भएको यो प्लान्टमा ४ जनाले रोजगारी पाएका छन् । नगरपालिकाले बजारक्षेत्रमा संकलन गर्ने फोहोर छुट्याएर जिरो किलोमिटर नजिक रहेको सेराको प्लान्टमा पुर्याउने गरेको छ ।
त्यही फोहोर प्रशोधन गरी मल उत्पादन गर्ने गरिएको शाखा अधिकृत राम शाहले बताए । ‘क्षमताअनुसार अझै फोहोर आउन सकेको छैन,’ उनले भने, ‘यहाँ हुने सबै फोहोरलाई प्रशोधन गर्न सक्ने गरी प्लान्ट निर्माण गरिएको छ ।’ दैनिक ७ सय ५० किलोसम्म फोहोरलाई प्रशोधन गर्ने क्षमता भए पनि हाल १ सय किलोको हाराहारीमा मात्र संकलन हुने गरेको छ ।
इलाम सदरमुकाममा रहेको कम्पोस्ट प्लान्टमा काम गर्दै कामदार ।तस्बिर : अर्जुन राजवंशी र विप्लव भट्टराई
काँचो फोहोर प्रशोधन गर्दा आधा मल उत्पादन हुन्छ । ४ वटा गाडीले दैनिक फोहोर संकलन गर्छन् तर सड्नेभन्दा नसड्ने फोहोर धेरै भएकाले नसड्ने फोहोर बोक्नमै ती गाडी व्यस्त देखिन्छन् । ‘क्षमताअनुसारै फोहोर संकलन हुने भए पनि सबै खर्च धान्न भने मुस्किल छ,’ फोहोरमैला व्यवस्थापन अधिकृत ललिता दाहालले भनिन्, ‘तर नर्सरी स्थापनासँगै पर्यटनस्थलका रूपमा विकास गर्ने काम सुरु भएकाले भने आम्दानी बढाउन सकिन्छ ।’
हरित शान्ति अभियानसँगको सहकार्यमा नगरपालिकाले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन खोजेको हो । यो प्लान्ट बनाउन नगरपालिकाले मात्रै ५२ लाख रुपैयाँ खर्च गरेको छ । यसबाहेक विनरक नामक संस्थाले सामग्रीमा सहयोग गरेको हो । ‘यस्तो प्लान्टलाई हरेक वडामा विस्तार गर्ने उद्देश्यले यसलाई पाइलोटिङका रूपमा लिएका छौं,’ इन्जिनियर दीपक गुरागाईंले भने । आदर्श माविको ६ रोपनी जमिन १० वर्षलाई लिजमा लिएर कम्पोस्ट प्लान्ट बनाइएको हो । मल उत्पादन राम्रो भए पनि ब्रान्डिङमा भने समस्या छ । यसका लागि ल्याबको आवश्यकता भए पनि नगरले बनाउन सकेको छैन ।
नगरपालिकाले खाल्डेमा रहेको पुरानो ल्यान्डफिल साइटलाई पनि व्यवस्थित गर्ने प्रयास गरेको छ । सिम नेपालको सहयोगमा ३२ लाख रूपैयाँ खर्च गरेर कम्पोस्ट प्लान्ट बनाए पनि सञ्चालनमा छैन । यो क्षेत्रमा फालिएको नसड्ने फोहोर व्यवस्थापन प्रयास भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिका क्षेत्रको फोहोरलाई व्यवस्थापन गर्न सीएमएन, विकरकजस्ता संस्थाले थुप्रै खर्च गरेका छन् तर पनि सफा सहरको सूचीमा पर्ने यो नगरमा फोहोर व्यवस्थापन अझै प्रभावकारी नभएको स्थानीयले गुनासो गर्छन् । जिल्लाका फिक्कल, मंगलबारे, पशुपतिनगर, राँके, शुक्रबारेलगायत प्रमुख बजारमा फोहोर व्यवस्थापनमा समस्या छ ।
फोहोर फाल्ने ठाउँ अभाव
प्रदेश १ को एक मात्र महानगर अनि प्रदेश अस्थायी राजधानी विराटनगरमा फोहोर व्यवस्थापनको भरपर्दो व्यवस्था छैन । जताततै सडक बाटो खनिएकाले दैनिक फोहोर संकलनसमेत भइरहेको छैन ।
उपमहानगर नै भएका बेला सार्वजनिक निजी साझेदारीमा २०७३ वैशाख १ देखि वेस्ट म्यानेजमेन्ट ग्रुप नेपाल र जेभी काठमाडौंलाई ०७८ वैशाख मसान्तसम्म फोहोर संकलनका लागि ठेक्का दिएको थियो । वेस्ट म्यानेजमेन्टले नै ल्यान्डफिल साइटको व्यवस्था गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।
फोहोर संकलन गरेबापत महानगरले वेस्ट म्यानेजमेन्टलाई वार्षिक २७ लाख ९० हजार रुपैयाँ नगद र १२ कर्मचारी दिने पत्रमा उल्लेख छ । वेस्ट म्यानेजमेन्टले घर, पसल, होटल, उद्योगलगायत निजी क्षेत्रको फोहोर संकलन गरेबापत घरधनीबाट मासिक रूपमा सेवा शुल्क उठाउने सम्झौता छ । सेवाग्राहीले मासिक सेवा शुल्क तिर्दै आए पनि नियमित फोहोर संंकलन गर्न नआउने गरेको स्थानीयको गुनासो छ ।
वेस्ट म्यानेजमेन्टले दैनिक सयदेखि एक १० टन फोहोर संकलन गर्दै आएको दाबी गरेको छ । नगरक्षेत्रमा दैनिक फोहोर संकलन नहुँदा दुर्गन्धित भएको स्थानीयको गुनासो छ । महानगर क्षेत्रमा दैनिक १ सय ९२ टन फोहोर उत्पादन हुने महानगरपालिकाका घनश्याम काफ्लेले बताए ।
वेस्ट म्यानेजमेन्टले केसलिया खोलाघेउमा निजी जग्गामा महानगरबाट संकलन गरेको फोहोर दैनिक फ्याँक्दै आएको छ । विराटनगर ४ का रामप्रसाद खडकाले महानगर प्रदेश राजधानीसमेत भइसकेकाले सफा, सुन्दर र चिटिक्क देखिनुपर्नेमा त्यसअनुसारको फोहोर संकलन र व्यवस्थापन हुन नसकेको गुनासो पोखे ।
महानगरले ल्यान्डफिल साइटका लागि बुढीगंगा गाउँपालिकाको डंग्राहामा ०६७ मा किनेको साढे २७ बिघा जग्गा उपयोग गर्न सकेको छैन । फिनल्यान्ड सरकारको ४४ करोड र नेपाल सरकारको १५ करोड रुपैयाँ लागतमा क्षेत्रीयस्तरको अत्याधुनिक ल्यान्डफिल साइट बनाइदिन सिमेन परियोजना आएपछि तत्कालीन उपमहानगरले जग्गा किनेको थियो ।
उक्त जग्गा विराटनगर बजारबाट १७ किलोमिटर उत्तरपूर्वमा छ । ल्यान्डफिल्डमा सुनसरीका इनरुवा, इटहरी, धरानका साथै मेची नगरपालिका, भद्रपुर र दमक नगरपालिकाको फोहोर संकलन गरेर ऊर्जा उत्पादन गर्ने लक्ष्य थियो । सिमेनले चार वर्षमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गरेर विद्युत् उत्पादन गर्न कार्यालय स्थापना गरेर काम अघि बढाए पनि डंग्राहावासीको विरोधले निर्माण काम हुन सकेन । त्यसपछि सिमेन परियोजना फिर्ता गएको थियो ।
विराटनगर महानगर प्रमुख भीम पराजुलीले डंग्राहाको जग्गामा क्षेत्रीयस्तरको अत्याधुनिक र व्यवस्थित फोहोर संकलन तथा प्रशोधन केन्द्र निर्माण गरी ऊर्जा उत्पादन गर्ने योजनामा रहेको बताए । ल्यान्डफिल साइट निर्माणका लागि एसियाली विकास बैंकले क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गत सहयोग गर्ने जनाएको छ ।
सहरको फोहोर खोलामा
झापाका स्थानीय तहले नगरको फोहोर संकलन गरेर खोला किनार र जंगलमा लगेर फाल्ने गरेका छन् । व्यवस्थित ल्यान्डफिल साइट नहुँदा फोहोर अव्यवस्थित रूपमा फाल्ने गरिएको छ । दमक नगरपालिकाले दैनिक १५ टनभन्दा बढी फोहोर वर्षांैदेखि रतुवा खोला किनारमा फाल्दै आएको छ । वडा १ स्थित रतुवा किनारमा फाल्दै आएको फोहोर दुई वर्ष यता वडा २ स्थित रतुवा किनारमै फाल्दै आएको छ ।
‘जथाभावी फोहोरमैला फाल्दा दुर्गन्ध फैलिएर बस्नै गाह्रो छ,’ स्थानीय जसबहादुर सुब्बाले भने । वातावरण नै दुर्गन्धित हुने गरी नगरपालिकाजस्तो जिम्मेवार निकायले खोलामा फोहोर फाल्न नहुने उनको भनाइ छ । नगरपालिकाले फोहोरमैला व्यवस्थापनको जिम्मा पाथ–वे नेपाललाई दिएको छ । नगरक्षेत्रको फोहोर उठाएबापत नगरवासीबाट मासिक ५० देखि १५ सय रुपैयाँसम्म लिइन्छ ।
फोहोर फाल्न नगरले एक करोड ५० लाख रुपैयाँभन्दा बढी लागतमा प्रशोधन केन्द्र निर्माण गरिसकेको छ । दमक २ मा हम्सेदुम्से सामुदायिक वन क्षेत्रको करिब ३ बिघा क्षेत्रफलमा केन्द्र बनाइएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको आर्थिक सहयोगमा उक्त केन्द्र निर्माण गरेको नगरपालिकाको वातावरण शाखाका प्रमुख द्रोण थापाले बताए । उनले भने, ‘फोहोर प्रशोधन केन्द्रको भौतिक संरचना निर्माण भइसकेको छ । प्रशोधन मेसिन पनि ल्याइसकेका छौं तर दक्ष प्राविधिकको अभावमा सञ्चालन गर्न सकेका छैनौं ।’
कमल गाउँपालिकाको केर्खा र पाँडाजँुगी क्षेत्रबाट उत्पादन हुने फोहोरमैला सडक किनार तथा जंगल क्षेत्रमा फाल्ने गरिएको छ । कमल ५ पाँडाजुँगी क्षेत्रबाट उत्पादन हुने फोहोर नजिकैको रतुवामाई जंगल क्षेत्रमा फाल्दै आएको छ । केर्खा बजारबाट निस्किने फोहोरमैला पूर्वपश्चिम राजमार्ग किनारमै अव्यवस्थित रूपमा फाल्ने गरिएको छ । शिवसताक्षी नगरपालिकाले नगरभित्रको फोहोरमैला पनि स्थानीय रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा फाल्दै आएको छ ।
नगरपालिकाको दुई वटा ट्याक्टरले दुधे, धरमपुर, डुडामारी, झिलझिले, शिवगन्ज, जनता बजार, बुलुचोक, माईधारलगायत क्षेत्रको फोहोरमैला संकलन गरेर झिलझिले उत्तर जंगलमा खाल्डो खनेर फाल्ने गरेको प्रशासन शाखा अधिकृत डिल्ली नेपालले बताए । खुला ठाउँमा फोहोर फाल्दा आसपासका स्थानीयले पटकपटक दमक नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । ‘खोला किनारमा खुला ठाउँमा फोहोर नफाल्न आग्रह गरेका छौं तर नगरपालिकाले बेवास्ता गरिरहेको छ,’ स्थानीय कृष्ण दाहालले भने, ‘दुर्गन्धले बसिनसक्नुहुन्छ । खोलामा बाढी आउँदा फोहोर बस्तीसम्मै आइपुग्छ ।’
खोला किनार र जंगल क्षेत्रमा फोहोर फालेर पुर्ने गरिएको छ । फोहोर पुर्न दमक नगरपालिकाले मासिक १ लाख ७३ हजार रुपैयाँमा ठेक्का दिएको छ । दिनभरि खोला किनारमा फालिएको फोहोर दैनिक बेलुका ५ बजे जेसीबी लगाएर पुर्ने गरेको ठेक्का लिएका दीपेन्द्र ढुंगेलले बताए । भद्रपुर नगरले मेची खोला किनारमा फोहोर फाल्ने आएको छ ।
प्रकाशित : भाद्र १४, २०७५ ०८:२८