खाडीबाट फर्केर उद्यमी

दुबईको कमाइले जग्गा किनेर चिया खेती
वार्षिक १५ हजार किलो चिया बनाउने लक्ष्य
निरन्तर मेहनतले बने उद्यमी

इलाम — जन्मथलो साबिक साँखेजुङ गाविसलाई चटक्कै छाडेर ०६२ सालमा मेघबहादुर विष्ट जितपुरको आम्बोटे बसाइँ सरे । कालोपत्रे मेची राजमार्गले छुने तुलनात्मक रूपमा सुविधायुक्त साँखेजुङबाट २० किलोमिटर भित्री गाउँ बसाइँ सर्दा धेरैले उनलाई राम्रो भनेनन् ।

खाडीबाट फर्केर उद्यमी

कम आयस्तर भएका मेघबहादुर धेरै सम्भावनाले भरिएको साँखेजुङमा बस्न नसक्नुको कारण थियो आर्थिक विपन्नता । आय आर्जनका लागि ९ महिने छोरालाई छाडेर मेघबहादुर दुबई हानिए । त्यतिबेला उनको पारिश्रमिक थियो ३ सय दिराम । रियलको मूल्य पनि कम भएका बेला उनको दुबई बसाइ आफूलाई पाल्न मात्र सीमित रहयो तर श्रीमती शान्ता र बालबच्चाको भविष्य सम्झेर उनले त्यही रकमबाट पनि केही जोहो गरे ।

५ वर्ष दुबई बस्दा पसिना बगाएर कष्टले जोहो गरेको रकम र श्रीमतीले दिनरात मेहनत गरेको पैसाले जितपुरमा जग्गा किनेका हुन् । उनले विकट भए पनि जितपुरमा जग्गा किन्नको एउटै उद्देश्य थियो चिया खेती । ४ लाख ५० हजार मूल्यमा उनले ३० रोपनी चियाबारीसहितको जग्गा खरिद गरे अनि सुरु भयो विष्ट दम्पतीको चियामा धपेडी । कडा मेहनतले चिया त राम्रै उत्पादन हुन थाल्यो तर बजारको समस्याले उनीहरूलाई सताएको थियो । उतिबेला राम्ररी मोटरसमेत नचल्ने यो क्षेत्रबाट चिया बिक्री गर्न कम धपेडी थिएन ।

मेघबहादुर र शान्ता दुवै जना लगनशील भएकाले अरूको भन्दा राम्रो गुणस्तर र धेरै मुना उनीहरूको बगानामा उत्पादन हुन्थ्यो । घरबाट १ किलोमिटर उत्तरमा चिया संकलनका लागि पूर्वका केही कारखानाबाट गाडी आउँथ्यो । चिया टिपेर माथि पुग्दा कतिपटक गाडी छुटेकाले निराश भएर फिर्नुपरेको मेघबहादुरको अनुभव छ ।

तर बजारको समस्याले दिनरात पिरोल्दा हाते चियापत्ती बनाएर कैयौं रात बितेको उनीहरूलाई अझै अहिलेझैं लाग्छ । ‘दिनभर बगानमा चियापत्ती टिप्यो अनि रातभर माडेर हातेपत्ती तयार गर्‍यो,’ शान्ता भन्छिन्, ‘ती दु:खका दिन सम्भँmदा अहिले पनि कहाली लाग्छ ।’

निरन्तर चियाको चिन्तामा रहने उनीहरूका लागि ०६७ मा स्थानीय नवमी बजारमा भएको चियाको तालिम ठूलो अवसर बन्यो । घरेलु तथा साना उद्योग समिति र चिया तथा कफी विकास बोर्डले दिएको तालिममा गएका मेघबहादुरले सानो चिया कारखाना चलाउनेसम्मको सीप हासिल गरे । १० दिनको तालिमपछि ५० प्रतिशत अनुदानमा उनले चिया सुकाउने ड्रायर पाए ।

लालीगुराँस हाते चिया उद्योग नामको उद्योग दर्ता गरेर सञ्चालन थालेका विष्ट परिवारले लघु वित्तबाट चर्को ब्याजमा ऋण लिएर भए पनि उनीहरूले कारखानामा चाहिने केही सामान थप्दै लगे । पूर्ण रूपमा अर्गानिक र गुणस्तरीय चिया भएकाले उनीहरूलाई बजारको खासै समस्या उबेला पनि थिएन । घरसम्म गाडी नपुग्ने भएपछि १ लाख २० हजारमा जमिन किनेर निजी बाटो खोले ।

करिब ३ सय मिटर लामो सडक खन्न उनले जमिन किनेर ३० हजार खर्चमा घरमा ट्रयाक्टर पुग्ने बनाएका हुन् । आधुनिक कारखाना सञ्चालन गर्ने सोच बनाएका विष्टलाई उन्नति समावेशी वृद्धि कार्यक्रमले सघायो । ५२ लाख बराबरको साझेदारी कार्यक्रममा उनलाई उन्नतिले आधा रकम दिएपछि आधुनिक कारखाना बनाएर चिया प्रशोधन थालेका छन् ।

‘अहिले नाफाघाटा भन्ने भन्दा पनि चाहेअनुसारका इकुपमेन्ट्स जोडेर आधुनिक घरमा प्रशोधन थालेको छु,’ मेघराज भन्छन्, ‘अब उत्पादन बढाउँदै गुणस्तरीय चिया बजारमा पुर्‍याउँदै केही वर्षमै लगानी उठाएर कमाइ हुन्छ भन्ने लागेको छ ।’ तर नयाँ ढंगले चिया कारखाना चलाएपछि बालबच्चा पढाउनदेखि अत्यावश्यक घरायसी समस्या पूरा गर्न सहज भएको छ ।

उन्नतिले प्रदान गर्नेबाहेकको रकम पनि उनले ऋण नै लिएका हुन् । तर यसअघि सामान्य ढंगले घरेलु कारखाना चलाउँदा पनि छोटो समयमा ऋण चुक्ता गर्न सफल भएकाले अब नयाँ ढंगले जाँदा थप सहज भएको उनको बुझाइ छ । नयाँ कारखाना बनेपछि वार्षिक १५ हजार किलो तयारी चिया बनाउने उनको लक्ष्य छ । पुरानो ढंगले कारखाना चलाउँदा वार्षिक ५ हजार किलो मात्र तयारी चिया उत्पादन हुँदै आएको थियो । औसतमा तयारी चिया प्रतिकिलो ५ सय ५० रुपैयाँसम्ममा बिक्री भइरहेको उनले बताए ।

उनको कारखानामा २ महिला र २ पुरुषले रोजगारी पाएका छन् । ‘१२ हजारसम्म कर्मचारीलाई तलब दिएर आफ्नो पनि राम्रै पारिश्रमिक बस्छ,’ मेघबहादुरले भने ।

प्रकाशित : भाद्र १४, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?