कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रदेश राजधानीमा जाम

जितेन्द्र साह

विराटनगर — नयाँ महानगर एवं प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा सवारी साधनको जाम बढेको छ । प्रदेशसभा सचिवालय वरिपरिका निर्माणाधीन सडकले गर्दा हस्पिटल चोक, रंगशाला एवं जिल्ला प्रशासन कार्यालयको सडकमा सवारीको चाप बढेको हो ।

प्रदेश राजधानीमा जाम

मुलुकभरिकै निजी एवं सरकारी सवारी गुड्ने धरान–विराटनगर बलभद्र मार्गमा पनि घुइँचो बढ्दो छ । महानगरकै जीवन रेखा मानिने यो मार्गमा मात्रै सबै खाले गरी दिनहुँ झन्डै १ हजार २ सय सवारी साधनको ओहोरदोहोर हुने गरेको पूर्वी नेपाल राष्ट्रिय यातायात व्यवसायी संघको कार्यालयले जनाएको छ ।

‘सवारीको बढिरहेको लाम हेर्दा विराटनगर बल्ल महानगर भए जस्तो अनुभूति हुन थाल्यो,’ हस्पिटल चोकका औषधि व्यवसायी आनन्द सारडा व्यंग्य गर्छन् । अस्थायी राजधानी बनेसँगै गति लिएको राजनीतिक एवं प्रशासनिक गतिविधिले उनकै अघिल्तिरको हस्पिटल मार्गमा दिउँसो १ बजेसम्म र बेलुकी ४ बजेपछि जाम हुन्छ ।

विशिष्ट व्यक्तिको सवारी हुँदा त झनै कडा सुरक्षा प्रबन्धका कारणले यो मार्गलगायत विराटनगरको जनजीवन ठप्प हुन्छ । हालै प्रधानमन्त्री केपी ओलीको सवारी हुँदा यो महानगरको विराटनगर–धरान सडक मुख्य मार्गमा निजी एवं सार्वजनिक वाहन चल्न नदिँदा स्थानीय तनावग्रस्त भए । मुलुकभरिका सवारी साधन यही मार्गबाट प्रवेश गर्ने हुनाले जाम खुलेपछि पनि आवागमन सहज हुन निकै समय लाग्छ ।

मुख्य मार्ग अवरुद्ध भएपछि बिक्री चौपट्ट हुने गरेको स्थानीय सहिद मार्गका मासु व्यवसायी किरण मरिकले बताए । उनी बुंगुरका ताजा मासु बेच्छन् । ‘ठूला मान्छेको भ्रमणका बेला ग्राहक आउन नपाएर ४ हजार ५ सय रुपैयाँ जतिको मासु बाँकी रहन्छ,’ उनले भने, ‘फ्रिजमा राखिदिन्छु, अर्को दिन बिहान बिक्री गर्छु ।’

यो महानगरमा हालै र त्यसअघि पनि विस्फोटका घटना भइसकेकाले सुरक्षा निकायले भीआईपीको भ्रमणमा आवश्यक सुरक्षा सतर्कता अपनाउँछ । गृहमन्त्रालयबाटै कडा निर्देशन आउने गरेको एक प्रहरी अधिकृतले बताए । ‘वरिपरिका सडक बनिनसकेकाले मुख्य मार्ग प्रयोग गर्नु परेको हो, अन्यत्र कहाँबाट लाने समस्या छ,’ ती अधिकृतले भने, ‘भीआईपीको कार्यक्रम पूर्वनिर्धारित हुन्छ, त्योअनुरूप गन्तव्यसम्म पुर्‍याउने प्रबन्ध मिलाउनुपर्छ ।’

प्रधानमन्त्री एवं राष्ट्र प्रमुखको सवारी हुँदा विराटनगर विमानस्थलदेखि नै मुख्य सडकको दुवैतिर र यस मार्गसँग जोडिने बाटाहरूको मुखैमा बिहानदेखि उल्लेखनीय संख्यामा सुरक्षाकर्मी तैनाथ हुन्छन् । जननिर्वाचित प्रधानमन्त्रीकै भ्रमणको बेला सडकको छेउछाउमा जनतालाई उभिन समेत नदिनु, घर निर्माण र पसलमा काम गरिरहेका श्रमिकलाई काम गर्नबाट रोक्नु अन्याय भएको स्थानीयको बुझाइ छ ।

हाल विमानस्थलदेखि सीमावर्ती विराटनगरको रानीसम्म सडक, नाला एवं पेटी निर्माण जारी छ । विकास र व्यापार विस्तारको सम्भावनासँगै उक्त मुख्य मार्ग छेउछाउमा सपिङ मल, घर र सटर निर्माणले गति लिएको छ ।

प्रकाशित : भाद्र १५, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?