कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

महानगर जलमग्न

देवनारायण साह

मोरङ — प्रदेश १ को अस्थायी राजधानी रहेको विराटनगर महानगरपालिकामा व्यवस्थित निकास नहुँदा बुधबार राति परेको पानीले जलमग्न भएको छ । पानीले महानगरका अधिकांश सडक, पसल, बजार, विद्यालय, क्याम्पस, उद्योग, कलकारखानालगायत टोलबस्ती डुबानमा परेका छन् ।

महानगर जलमग्न

सडकमा जमेको पानी स्थानीयको पसल र घरमासमेत पसेको छ । महानगरमा चौतर्फी एकसाथ भइरहेको सडक ढल निर्माणका कारण पानीको निकास बन्द हुँदा डुबान भएको हो । विराटनगर ३ का कुसुम रेग्मीले महानगरले वर्षाको पानीको निकास नभएर डुबानमा परेको गुनासो पोखिन् । ‘डुबानका कारण यहाँका अधिकांश विद्यालयको पठनपाठन डप्प भएको छ,’ उनले भनिन्, ‘महानगरले विकास निर्माणको नाममा जथाभावी सडक बाटो खनेर पानीको निकास बन्द गरेकाले डुबान भएको हो ।’ मोरङका प्रहरी प्रमुख मनोजकुमार केसीले वर्षाको पानीको निकास नभएर केही ठाउँमा पानी जमेको र त्यसलाई निकास दिने काम भइरहेको बताए । उनले सिंघिया खोला आएको बाढी विराटनगर ८ मधुमारास्थित सुकुम्बासी बस्तीमा पसेपछि २० घरपरिवार विस्थापित भएका छन् ।


मधुमारास्थित सिंघिया खोला क्षेत्रमा लामो समयदेखि सुकुम्बासी घरटहर बनाएर बस्दै आएका थिए । बस्तीमा खोलाको पानी पसेर डुवान भएपछि उनीहरूलाई सुरक्षित स्थानमा स्तान्तरण गरिएको छ । परिवर्तनका लागि हातेमालो संस्थाले डुबानमा परेका परिवारलाई तत्कालका लागि त्रिपालको अस्थायी टहरा निर्माण गरिदिएको छ ।


संस्थाका वरिष्ठ उपाध्यक्ष राम पोखरेलले खोलाको पानी बस्तीमा पसी डुबान भएपछि उनीहरूलाई सुरक्षित स्थानमा स्तान्तरण गरेको बताए । उनीहरूलाई बस्ती नजिकैको खुला चौरमा स्थानान्तरण गरिएको छ । सुकुम्बासी बस्तीमा बसोबास गरिरहेका ३० घर परिवारमध्ये २० घरमा बाढी पसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोज केसीले सिंघिया खोलाको बाढी बस्तीमा डुबान भएको जानकारी आएकाले डुबान क्षेत्रमा प्रहरी परिचालन गरेको र पानीको निकासको काम भइरहेको बताए ।


विराटनगर ४ स्थित कन्यामार्ग, रेग्मी टोलको सडकमा दुई फिटसम्म पानी जमेर सवारी साधन आवागमनमा स्थानीयले रोक लगाएको छ । उक्त मार्गमा सम्भावित दुर्घटनालाई मध्यनजर गरी सवारी आवागमनमा रोक लगाएको हो । पानीको निकास नहुँदा पुसेट कलेजसमेत जलमग्न भएको हो ।


महानगरमा मझौला सहर एकीकृत विकास, क्षेत्रीय सहरी विकास र सघन सहरी विकास परियोजनाअन्तर्गत सडक, नाला, ढललगायतको विकास निर्माणको काम एक साथ भइरहेकाले जताततै सडक बाटो खनिएको अवस्था छ । यस्तै, विराटनगरसँग जोडिएको बुढीगंगा गाउँपालिकास्थित आरती स्ट्रिप्सलगायतका उद्योग, विद्यालय, सर्वसाधारणको घर डुबानमा परेको छ ।

प्रकाशित : भाद्र १५, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?