अार्थिक अभावले ५ महिनादेखि फलामे साङ्लाेमा

– उपचारमा खर्च अभाव, धामीझाँक्रीकै भर
–  उपचारका लागि सहयोगको याचना

धनकुटा — दुवै हातखुट्टा फलामे सांग्लाले खम्बामा बाँधेर पशुलाई झैँ राखिएको छ । लाउँलाउँ खाउँखाउँ उमेरमा उनको कष्टकर दैनिकी देख्नेलाई पीडा बोध हुन्छ । आर्थिक अभावमा उपचारबाट वञ्चित २१ वर्षीय युवकको अवस्था विगत ५ महिनादेखि कष्टकर बन्दै गएको छ ।

अार्थिक अभावले ५ महिनादेखि फलामे साङ्लाेमा

धनकुटा नगरपालिका–१० मार्गाका मोहन श्रेष्ठ धामीझाँक्रीको भर पर्दा हाल उनी फलामे सांग्लाको बन्धनमा परेका छन् । सुरुमा मानसिक असन्तुलनको लक्षण देखा परेपछि उनलाई धामिझाँक्रीबाट झारफुक गरिएको उनका बाबु पहलमानले बताए ।

चैत महिनादेखि उनमा असामान्य अवस्था आएपछि परिवारजनले झारफुकमा एकपछि अर्को धामीको भर पर्दै गए । कतिपय धामीझाँक्रीले कुखुराको भाले र रकम माग गर्दै श्रेष्ठलाई निको पारिदिने आश्वासन पनि दिए ।

‘निको पारिदिने भन्दै धामीझाँक्रीले धेरै खर्च गरिदिए’, उनले भने, ‘तर बीसको उन्नाइस नभएपछि ढिलो गरेर अस्पताल पुर्‍याए पनि उपचार खर्च अभावमा घरैमा ल्याएर बाँधेर राखेको हो ।’ धामीझाँक्रीबाट झारफुक गराउँदा ऋण काढेर जुटाएको ९० हजार रुपैयाँ खर्च भएपछि अस्पतालमा उपचार गराउने रकम अभाव भएको उनले दु:खेसो पोखे ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगे पनि खर्च अभावका कारण घर फर्काएर ल्याइएको मोहनकी दिदी गीताले बताइन् । आफ्नै घरका बाख्रा, छिमेकीको सुँगुर र खरायोसमेत मार्न थालेपछि सुरुमा उपद्रो गरेको भन्दै प्रहरीमा उजुरी गरिएको काका चन्द्रले बताए तर प्रहरीले मानसिक असन्तुलन भएको भन्दै घरैमा फर्काएका थिए ।

त्यसपछि टेलिभिजन फुटाउने, घरको ढोकाझ्याल नै तोडफोड गर्ने, कपडा च्यात्नेलगायत गतिविधि गर्न थालेपछि अन्तिम विकल्पका रूपमा सांग्लाले बाँधिएको उनले जनाए । ‘उसको क्रियाकलाप नियन्त्रण गर्न हाम्रो केही लागेन,’ उनले थपे, ‘छाडा छोडा जनधनकै असुरक्षा ठानेर बाँध्नुपरेको हो ।’

सांग्लाले बाँधिएको ठाउँ हातखुट्टा तथा शरीरमा घाउखटिरा रहेको छ । छोराको अवस्थालाई आफूले हेर्नसमेत नसक्ने भन्दै आमा इन्दिराले आँसु झारिन् । उनले गरिबीको कारण छोरालाई उपचार गराउन नसकिएको बताइन् । सुरुवाती दिनमा निको होला ठानेर धामीझाँक्रीको भर परे पनि अस्पतालमा उपचार गराउन खर्च अभाव नै मुख्य कारण रहेको बताइन् । उनले छोराको उपचारका लागि मनकारी व्यक्तिबाट सहयोगको याचनासमेत गरेकी छन् ।

बेलाबेला बर्बराउने र अधिकांश समय मौन बस्ने मोहन परिचित व्यक्तिसँग दोहोरो कुरासमेत गर्छन् । परिवारको आर्थिक अभावका कारण ७ कक्षामा पढाइ टुंग्याएका उनी घरको काम सघाउँदै आएका थिए । पछिल्लो समय मादकपदार्थ सेवन गर्दै अस्वाभाविक कार्य गर्न थालेपछि मानसिक असन्तुलनको अवस्था आएको छिमेकी माधव श्रेष्ठले बताए ।

प्रकाशित : भाद्र १५, २०७५ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?