कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अस्तव्यस्त हाटबजार

ठूला सवारी साधनका कारण हिलाम्य
हाटको क्षेत्र व्यवस्थित गर्ने प्रयास भएन
दीपेन्द्र शाक्य

संखुवासभा — सदरमुकाममा साप्ताहिक रूपमा लाग्दै आएको हाट व्यवस्थित हुन सकेको छैन । हाट लाग्ने टुँडिखेल हिलाम्मे भएपछि किन्ने र बेच्नेलाई समस्या हुँदै आएको छ ।

अस्तव्यस्त हाटबजार

हाट लाग्ने स्थानमा जथाभावी ठूला र साना यातायातका साधन चलाउन थालेपछि टुँडिखेल हिलाम्मे बनेको हो । हिलाम्मे स्थानमा घाम नलागेपछि कृषक हिलोमाथि बसेर व्यापार गर्न बाध्य छन् । ०३७ सालदेखि लाग्दै आएको मुख्य बजार खाँदबारी हाट व्यवस्थित गर्न कसैले ध्यान नदिएको स्थानीयको भनाइ छ । यहाँ बुधबार र शनिबार दुईपटक बजार लाग्छ ।

कृषकले उत्पादन गरेर ल्याएको ताजा कृषिउपज यहीँ खरिद बिक्री गर्ने चलन छ । सिमसिम पानी पर्न वित्तिकै हाट लाग्ने टुँडिखेल हिलाम्मे भएर हिँड्न सकिँदैन । जसका कारण किन्ने र बेच्नेले समस्या भोग्नुपर्छ ।

करिब ५० रोपनी क्षेत्रफलमा रहेको खाँदबारी हाट भित्र टयाक्टर, ट्रक लगायतका ठूला मालवाहक सवारी साधनहरू प्रवेश गरेपछि माटो जोतिने र थोरै पानी पर्ने वित्तिकै हिलाम्य हुने स्थानीयले बताए । बजार लाग्ने क्षेत्रमा हिलो भएपछि खरिद बिक्री घट्ने गरेको खाँदबारी हाटमा आउने व्यापारीको गुनासो छ ।

हिलोको बीचमा थोरै ठाउँ निकालेर सामान राखे पनि किन्नेहरूको उपस्थिति न्यून हुँदा व्यापार खस्किएको संगीता श्रेष्ठले बताइन् । सामन खरिद गर्न आएकाहरू पनि हिलोको बीचबाट हिँड्नुपर्छ,’ उनले भनिन्, सबैलाई सास्ती छ, बर्षातभरि यस्तै दु:ख भोग्नुपर्छ ।

प्रत्येक पटक महँगो हाट कर तिर्दै आए पनि यसको व्यवस्थापनमा कसैले चासो नदिएको गुनासो साना व्यापारी गर्छन् । बजार क्षेत्रमा पानी नजम्ने व्यवस्था गरेर ठूला मालवाहक सामानहरू प्रवेश नगराए केही हदसम्म समस्या समाधान हुने खाँदबारीका आशा श्रेष्ठ बताउँछिन् ।

खाँदबारी हाट खाँदबारी नगरपालिकाको मातहतमा रहेकाले नगरले सम्पूर्ण व्यवस्था मिलाउनुपर्ने संखुवासभा उद्योग वाणीज्य संघका अध्यक्ष युवराज शाक्य बताउँछन् । व्यापारिक क्षेत्रमा काम गर्ने भएकाले हाटको अवस्थाका बारेमा नगरपालिकालाई ध्यानाकर्षण गरिसकेको उनले बताए ।

खाँदबारी नगरपालिकाको गहनाका रूपमा रहेको बजार व्यवस्थापनमा महत्त्वका साथ हेर्ने नगर प्रमुख मुरारीप्रसाद खतिवडाले बताए । वरिपरिका स्थानीयले घर बनाउने क्रममा हाट लाग्ने ठाउँमा माटो थुपारेपछि बढी हिलाम्य बनेको उनले बताए । ‘बजार व्यवस्थापनका लागि नगरको बजेटले मात्र सम्भावना छैन, उनले भने, ‘प्रदेश सरकारसँग अनुरोध गरिरहेका छौं, त्यहाँबाट बजेट प्राप्त हुने आश्वासन पाएका छौं ।’ अब बजेट प्राप्त भए सबै खालका व्यापार गर्ने गरी ट्रस्ट निर्माण गरेर ढल र पानीको उचित व्यवस्थापन गर्नेछांै ।

खुला रहेको हाट लाग्ने स्थानको नगरपालिकाले संरक्षण गर्नुपर्ने स्थानीयको माग छ । उनीहरूले हाट लाग्ने स्थानमा ढलान गरेर व्यवस्थित गर्नुपर्ने बताउँदै आएका छन् । खाँदबारी हाटमा यो जिल्लाका मात्र नभएर भोजपुर, धनकुटा र तेह्रथुमका व्यापारी समेत खरिद बिक्री गर्न आउँछन् । धनकुटा, भोजपुर र तेह्रथुमबाट कृषक तरकारी जन्य बस्तुहरू बिक्री गर्न आउने गर्छन् ।

भोजपुरबाट कृषि उपजका साथै रुद्राक्षको पनि खरिद बिक्री गर्न थलो खाँदबारी हाट हो । खाँदबारी हाटमा दैनिक उपभोग्य सामान, लत्ताकपडा, जडिबुटी लगायतका सामाग्रीको किनवेच हुन्छ ।

प्रकाशित : भाद्र १६, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?