विद्यार्थीमा मास हिस्टेरिया

मोरङ — उर्लाबारी नगरपालिका १ स्थित शारदा माध्यमिक विद्यालयका विद्यार्थी अचानक चिच्याउने, कराउने गर्दै बेहोस हुने समस्या देखिएको छ । 

विद्यार्थीमा मास हिस्टेरिया

विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद दाहालले कक्षा ९ का एक जना छात्रा बुधबार कक्षा कोठामा अचानक चिच्याउँदै, कराउँदै, हातखुट्टा फाल्दै बेहोस् भएको बताए ।


‘बेहोस् भएकी छात्रालाई समात्ने अन्य छात्राहरुमा पनि त्यही समस्या देखियो,’ उनले भने, ‘४/५ जनामा त्यही समस्या देखिएपछि हामीले तत्काल अभिभावकलाई बोलाएर मंगलबारे अस्पताल उर्लावारीमा उपचारका लागि पठायौँ तर अभिभावकहरुले अस्पतालमा भन्दा धार्मीझाँक्री कहाँ झारफुक गर्न लगे ।’


प्रधानाध्यापक दाहालले बिहीबार बिहान कोचिङ कक्षामा छात्राहरुमा उस्तै समस्या देखिन थालेको बताए । विद्यार्थीहरुमा समस्या देखापरेपछि बिहीबार र शुक्रबार विद्यालय बन्द गरेको तर घरमा बसेका अन्य विद्यार्थीहरुमा पनि त्यही समस्या देखिन थालेको उनले बताए ।


अहिलेसम्ममा २ जना छात्र र ९ जना छात्रामा उक्त समस्या देखापरेको उनले सुनाए ।


‘हामी आफैले स्थानीय अस्पतालमा विद्यार्थीहरुलाई उपचारको लागी लग्यौं,’ उनले भने, ‘तर चिकित्सकहरुले मास हिस्टेरिया भएकोले मनोचिकित्सक वा मनोपरामर्शदाता कहाँ लग्न सुझाव दिएका छन् ।’


प्रधानाध्यापक दाहालले मनोचिकित्सक र मनोपरामर्शदातालाई सम्पर्क गर्ने प्रयत्न गरिरहेको बताए ।

प्रकाशित : भाद्र १६, २०७५ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?