‘जनतालाई निराश हुन दिदैनौँ’
मोरङ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको सरकारबाट जनताले गरेको आशालाई निराशामा परिणत हुन नदिने बताएका छन् ।
राजसति महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुढिगंगा १ टंकीसिनवारीको शनिबार आयोजित १८ औँ वार्षिक साधारण सभामा उनले लामो समयको अस्थिरतापछि प्राप्त राजनीतिक स्थायित्वलाई अवसरको रुपमा उपयोग गर्नुको विकल्प नभएको बताएका हुन् ।
उनले यहाँका महिलाहरुले मुलुक द्वन्द्व र अस्थिरताकोबीच संकटग्रस्त भएको अवस्थामा महिलाहरुले संगठित भएर स्थापना गरेको सहकारी यहाँको आर्थिक स्तम्भ भएको बताए ।
‘महिलाहरुले अधिकार प्राप्तीको अभियान चलाइरहेको बेला यहाँका महिलाहरुले चलाएको सफल सहकारी अभियानले आर्थिक रुपमै सशक्त बनाएको छ ,’ उनले भने, ‘यस महिला सहकारीले विभिन्न क्षेत्रमा गरेको लगानीले महिलाहरुले रोजगारी पाउनुका साथै आर्थिक रुपमा आत्मनिर्भर भएका छन् ।’
महिलाहरुको प्रयासले घरायसी र व्यवहारिक जीवनमा सहजता प्रदान गरेको उनको भनाइृ थियो । ‘यो सहकारी जुनसुकै क्षेत्रसँग साझेदारी र सहकार्य गरेर काम गर्न सक्षमता प्राप्त गरेको छ,’ उनले भने, ‘प्रदेश सरकारले पनि सहकारीलाई प्राथमिकतामा राखेको छ र यस सहकारीसँग साझेदारी गरेर काम गर्न चाहन्छ ।’
उनले एक अर्को प्रसंगमा सरकारले ५ वर्षभित्र सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने बताए । उनले आउँदो वर्षदेखि सरकारले सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्ने जनाए ।
प्रकाशित : भाद्र १६, २०७५ १६:३९